३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

फिन एयर नेपाल आउने

सुरज कुँवर

काठमाडौँ — नेपाली हवाई कम्पनीलाई कालोसूचीमा राख्ने युरोपेली संघअन्तर्गतको प्रभावशाली मुलुक फिनल्यान्डले नेपालमा सिधा हवाई उडान गर्ने प्रस्ताव गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार उच्च आयदर भएको फिनल्यान्डस्थित मिनिस्ट्री अफ ट्रान्सपोर्ट एन्ड कम्युनिकेसन्सले अघिल्लो महिना परराष्ट्र मन्त्रालयमार्फत हवाई सेवा सम्झौताका लागि अनुरोध गर्दै पत्राचार गरेको हो ।


पर्यटन मन्त्रालयअन्तर्गत हवाई उद्योग व्यवस्थापन महाशाखाका एटीसी अधिकृत प्रमोद नेपालका अनुसार काठमाडौंस्थित फिनिस दूतावासमार्फत परराष्ट्र मन्त्रालय हुँदै पर्यटन मन्त्रालयमा आइपुगेको प्रस्तावमा राय दिन नागरिक उड्डयन प्राधिकरणमा पठाइएको छ । प्राधिकरणले मन्त्रालयलाई राय पठाइसकेको छैन । ‘सरकारले हवाई सेवा सम्झौता गरेमा सिधा उडानका लागि कुनै समस्या हुँदैन,’ प्राधिकरणका कार्यवाहक महानिर्देशक राजन पोखरेलले भने । उनले यसअघि आधा दर्जन हाराहारी युरोपियन एयरलाइन्सले युरोपदेखि नेपाल उडान गरिसकेकाले कुनै समस्या नहुने बताए ।


प्राधिकरणको राय मन्त्रालयमा पुगेलगत्तै दुई मुलुकबीच केही महिनाभित्रै हवाई सम्झौता हुने जानकारी मन्त्रालय स्रोतले दिएको छ । ‘प्राधिकरणको राय आएलगत्तै हामी इमेलमार्फत हवाई सम्झौताका लागि मिति र स्थान तय गर्ने छौं,’ हवाई सेवा सम्झौता शाखा प्रमुख नेपालले भने, ‘फिनल्यान्डसँग हवाई सम्झौता भएसँगै दुवै मुलुकका एयरलाइन्सलाई सिधा उडानको बाटो खुला हुनेछ ।’ नेपालले हालसम्म ३९ वटा मुलुकसँग हवाई सम्झौता गरिसकेको छ ।


फिनिस सरकारले पत्राचार गर्नुअघि त्यहाँको ध्वजावाहक फिन एयरका प्रतिनिधि र दूतावासका उच्च पदाधिकारीले पर्यटन मन्त्रालयमा पुगेर अनौपचारिक छलफल गरिसकेका छन् । अब आगामी जुलाईदेखि युरोपेली संघको नेतृत्व गर्ने जिम्मेवारी फिनल्यान्डको हुँदै छ ।


नेपाल सरकारले यही मौकामा हवाई सम्झौता गरी लागू गर्न सकेमा युरोपियन युनियनले नेपाली वायुसेवा कम्पनीलाई आफ्ना सदस्य राष्ट्रमा लगाएको निषेध (कालोसूची) बाट निकाल्न दबाब सिर्जना हुन सक्ने मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए ।

प्रकाशित : असार १३, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?