३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नउम्रिएको भारतीय बीउ सूचीकृत

ठाकुरसिंह थारु

बर्दिया — बाँकेको खजुरा गाउँपालिकाको उढरापुर गाउँका किसानले छरेको धानको बीउ कृषिमा सूचीकृत रहेको पाइएको छ । किसानले छरेको ६४४४ जातको भारतीय हाइब्रिड धानको बीउ नउम्रिएपछि त्यसबारे खोजी हुँदा नेपालमा सूचीकृत रहेको पाइएको हो । 

बीउ नउम्रिएपछि किसानको श्रम र पैसा दुवै खेर गएको छ । किसान रोपाइँका बेला नयाँ बीउ राख्दैछन् । ‘रोपाइँ गर्ने बेला भइसक्यो, बीउ नै छैन,’ किसान इस्लाम खाँले भने, ‘रोपाइँ गर्ने समयमा फेरि बीउ राख्दै छौं ।’


बीउको क्षतिपूर्ति नपाएपछि श्रम र पैसा खेर गएको किसानको गुनासो छ । उनीहरूले बीउ बिक्री गर्ने कम्पनीको खोजी गरी कारबाहीको माग गरेका छन् । कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले ६४४४ जातको धानको बीउ नेपाल सरकारले सूचीकृत गरेको बताए । उनले बीउ नउम्रिनुका अनेक कारण हुन सक्ने तर्क गरे । राम्रोसँग भण्डारण नगरिएको तथा पुरानो बीउ भएका कारणले उमार शक्ति कम हुने बताए ।


‘निकै पुरानो बीउ हुन सक्छ । भण्डारणमा पनि समस्या होला,’ उनले भने, ‘बीउ नम्रिएको गुनासो हामीसँग आइपुगेको छैन । आएमा अनुसन्धान गर्छौं ।’ उनले नउम्रिएको बीउको क्षतिपूर्ति पाउनुपर्ने बताए । त्यसका लागि प्रक्रियामा जानुपर्छ । पीडित किसान भने क्षतिपूर्ति माग गर्दै बिक्री गर्ने पसलमा जाने गरेका छन् ।


बिक्रेताले भने कम्पनीले क्षतिपूर्ति दिनुपर्ने दाबी गर्दै आएको किसानले बताए । ‘कम्पनीबाट भोलि नै निरीक्षण गर्न आउँछन् भन्ने जवाफ पाउन थालेको दुई साता भइसक्यो । अझै हेर्न आएनन्,’ खजुरा गाउँपालिका–७ उढरापुरचोकका किसान मलिक मोहम्मदले भने, ‘हामीलाई नराम्रो गरी ठगियो । ठगी गर्नेलाई कारबाही हुनुपर्‍यो ।’


उक्त धानको बीउ ४ सय ६० रुपैयाँ किलोमा किनिएको थियो । नेपालगन्जको धम्बोझीचोक नजिकैको एक एग्रोभेटबाट महँगोमा किनेको बीउ नउम्रिएको हो । भारतसँग जोडिएको सीमावर्ती गाउँका किसानले बढी उत्पादन हुने प्रलोभनमा भारतबाट बीउ किन्ने गरेका छन् । कतिपय बीउलाई सरकारले अनुमति दिएको छैन ।


कृषि अधिकारीले १ सय २० दिनमा तयार हुने नेपाली प्रजातिको धानका ब्याड राख्न सुझाव दिने गरेका छन् । सवसाँवा–१, सुर्वणसाँवा–१ र आईआर–६४ प्रजातिको धानको बीउ राख्न कृषिले सिफारिस गरेको छ । समयमा बीउ राख्न नसके धान उत्पादन कम हुने भएकाले किसान हतारिएका हुन् ।


बाँकेमा ५२ हजार २ सय ३८ हेक्टर जग्गामा खेती हुँदै आएको छ । तीमध्ये १५ हजार हेक्टर जग्गामा मात्रै सिँचाइ सुविधा छ । जिल्लामा आकाशे पानीको भरमा खेती हुन्छ । पानी अभावमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, खजुराले सुक्खा धान सिफारिस गर्दै आएको छ । सुक्खा धान १, २, राधा–४, सवसाँवालगायत धान किसानका लागि सिफारिस गरिएको छ । यहाँ राधा चार, जानकी, मन्सुली, सावित्री र मकवानपुर जातका धानको खेती हुने गरेको छ ।

प्रकाशित : असार १५, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?