भारतीय बीउ निर्धक्क बिक्री

मनोज पौडेल

कपिलवस्तु — सिफारिस र सूचीकृत नगरेका बीउको खुला बिक्री बढेको छ । राष्ट्रिय बीउबिजन कम्पनीले सिफारिस र सूचीकृत गरेको धानको बीउ मात्र बिक्री गर्न पाइन्छ । यहाँका गाउँदेखि सहरसम्म विभिन्न भारतीय कम्पनीको बीउ छ्याप्पछ्याप्ती छ ।

साप्ताहिक हाटदेखि तौलिहवा, कृष्णनगर, पकडी, बहादुरगन्ज र महराजगन्जलगायत बजारमा खुलेआम भारतीय बीउ बिक्री भइरहेको छ । सीमाबाट गैरकानुनी रूपमा भित्र्याइएको बीउ पान, कपडा र साइकल पसलेले पनि बेचिरहेका छन् ।


आकर्षक र चम्किलो प्याकिङ भएकाले किसान आकर्षित हुने गरेका छन् । बिक्री नियन्त्रणका लागि कसैले चासो दिएका छैनन् । गुणस्तर र मूल्यका विषयमा सरोकारवाला मौन छन् । बीउबिजन ऐन र नियमावलीविपरीत बिक्री भए पनि रोक्न पहल भएको छैन ।


ऐनमा गैरकानुनी कारोबार गर्नेबाट ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । कृषि ज्ञान केन्द्रले वास्ता गरेको छैन । जिल्लामा ४० पसलले मात्र बीउ बिक्रीका लागि अनुमति लिए पनि जिल्लाभरि एक सयभन्दा बढीले बेचिरहेका छन् ।


बीउ राख्न चटारो भएकाले भारतीय बीउ किनेर ल्याउने गरेका छन् । एग्रोभेट पसलमा बीउ किन्न भीड लाग्ने गरेको छ । ‘ब्याड राख्ने हतारोमा छन्,’ कपिलवस्तु नगरपालिकास्थित तिलौरीका राजु गुप्ताले भने, ‘राम्रो प्याकेट देखेपछि भारतीय धानको बीउ किनेँ ।’ कुन बीउ राम्रो हो भन्ने जानकारी नभएको उनले बताए ।


‘पसलेले जुन राम्रो भने त्यही किनेँ,’ उनले भने । शनिबार रातिदेखि पानी परिरहेकाले बीउ राख्ने चटारो छ । सरकारले चाहेजति बीउ उपलब्ध गराउन नसक्दा समस्या भएको कृषि ज्ञान केन्द्र प्रमुख सहसराम चौधरीले बताए । ‘भारतीय बीउ सस्तो पर्छ,’ उनले भने, ‘देख्दा आकर्षक पनि छ ।’ त्यही भएर कृषक बीउमा परनिर्भर रहेको उनले बताए । समस्या नहुँदासम्म कृषकले जुन पायो त्यही बीउ किनेर रोप्ने गरेको उनको भनाइ छ ।


कम्पनी मर्कामा

भारतीय बीउले बजार लिएपछि जिल्लाका ४ वटा बीउ कम्पनी मर्कामा परेका छन् । जिल्लामा विकास, मुस्कान, इन्टरनेसनल र सिद्धार्थ सिड कम्पनीले बीउ उत्पादन गर्ने गरेका छन् । ‘सूचीकृत नभएका बीउ बेच्न पाइँदैन,’ विकास सिडका सञ्चालक जयन्त्रीलाल श्रीवास्तवले भने, ‘बजारमा खुलेआम उन्नत जातका बीउ बिक्री भइरहेको छ ।’


भारतीय बीउका कारण आफ्नो लगानी डुब्ने खतरा रहेको उनले बताए । उनले ३ करोड लगानीमा ३ वर्षअघि कम्पनी सञ्चालन गरेका थिए । महुवास्थित मुस्कान सिडका सञ्चालक बृजबिहारी चौधरीले भारतीय बीउले कम्पनीलाई नोक्सान गरिरहेको गुनासो गरे ।


‘कृषकलाई सिफारिस गरिएका धानका बीउका बारेमा जानकारी छैन,’ उनले भने, ‘त्यसैले समस्या छ ।’ बजार अगनुगन कडा बनाउँदै कृषकलाई नेपाली बीउबारे सचेतना जगाउनु जरुरी रहेको उनले बताए । बीउ बिजन बिक्री गर्न कृषि कार्यालयबाट अनुमति लिनुपर्ने प्रावधान छ ।


यहाँका बीउबिजन बिक्री गर्ने अधिकांश पसलेले दर्ता नगराई सञ्चालन गरेका छन् । धानको बीउ छर्ने सिजन भएकाले यहाँ अत्यधिक माग हुँदा व्यापारीले धमाधम भारतबाट अवैधानिक रूपले भित्र्याइरहेका छन् ।

प्रकाशित : असार १७, २०७६ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?