कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

पेट्रोलियम अन्वेषणमा चिनियाँ टोली

ज्योति कटुवाल

दैलेख — चीन सरकारको चाइना जियोलोजिकल सर्भे र खानी तथा भूगर्भ विभागको टोलीले सोमबारदेखि पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरेको छ । चाइना जिओलोजिकल सर्भेका वरिष्ठ भूगर्भविद् ट्यान फुएन नेतृत्वको टोलीले काम सुरु गरेको हो ।

पेट्रोलियम अन्वेषणमा चिनियाँ टोली

टोलीले श्रीस्थान, नाविस्थान, धुलेश्वर, पादुका र कोटिलाको अवलोकन गर्‍यो । भूगर्भविद् फुएनले श्रीस्थानमा पेट्रोलियम पदार्थ हुन सक्ने सम्भावनाबारे अन्वेषण निकै अघि गरिए पनि अरू सम्भाव्य स्थानमा यस पटक अध्ययन गरिने बताए ।


परियोजना प्रमुख सुधीर रजौरेका अनुसार जमिनको ५ देखि २० किमि सतहमुनिको बनावटको अध्ययन गरेपछि पेट्रोलियम पदार्थ जम्मा भएर बस्ने संरचना पत्ता लगाउन सकिनेछ । विभागले गरेको अन्वेषणले दैलेखमा पेट्रोलियम पदार्थ रहेको प्रमाणित भइसकेको छ ।


विभागका अनुसार दोस्रो चरणमा स्यास्ट्रिक सर्भे गरिनेछ । उक्त सर्भेमा जमिनमुनि कम्पनको तरंग पठाएर ड्रिलिङ गरिन्छ । ‘यो सर्भेबाट जमिनमुनि पेट्रोलियम पदार्थको भण्डारण कहाँ छ भनेर पत्ता लाग्छ,’ प्रमुख रजौरेले भने, ‘यसपछि मात्र पेट्रोलियम पदार्थ कति मात्रामा छ र आर्थिक रूपमा उत्खनन्योग्य हुन्छ कि हुँदैन भनेर थाहा हुनेछ ।’


ग्यास प्रमाणित भइसकेको १३ वर्षपछि उत्खनन तथा अन्वेषण गर्न लागिएको हो । यसअघि २०७२ चैतमा चिनियाँ विशेषज्ञ टोलीले प्रारम्भिक अनुसन्धान गरेको थियो । २०१८ फेब्रअरी २८ मा नेपाल र चीन सरकारबीच पेट्रोलियम पदार्थको अन्वेषण गर्ने सम्झौता भएको थियो ।


'अन्वेषणलगत्तै उत्खनन’

आइबार दैलेख पुगेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले अन्वेषणलगत्तै उखननको काम सुरु गरिने बताए । उनले चिनियाँ टोली केही साता दैलेखमै बसेर अन्वेषणको काम सक्नेबित्तिकै उनीहरूले दिएको परिणामका आधारमा उत्खननको काम अघि बढाउने बताए ।


‘दैलेखमा पेट्रोलियम पदार्थ छ भन्ने पुर्खाहरूको पालामा थाहा भइसकेको कुरा हो, तत्काल अन्वेषण गरेर वैज्ञानिक रूप दिन खोजेको हौं,’ उनले भने, ‘पुर्खाहरूले विज्ञानलाई समात्ने र अध्यात्मवादलाई विश्वास गर्ने भएकाले यो काम

हामीले गर्न पाएको छौं ।’ उनले उत्खनन सुरु भएपछि स्थानीयले रोजगारी पाउने जनाए ।


कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लामो चर्चापछि अध्ययनले एकरूपता पाएको बताए । ‘पेट्रोलीयम पदार्थको उत्खनन हुनु नै राष्ट्रिय अर्थतन्त्रको सम्भावना भित्र्याउनु हो,’ उनले भने, ‘उत्खननले कर्णाली प्रदेशलाई समृद्ध बढाउन भूमिका खेल्नेछ ।’


पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले आफूले देखेको सपना अहिलेको सरकार र चीन सरकारले पूरा गर्न लागेको बताए । प्रतिनिधिसभा सदस्य रवीन्द्र शर्माले पेट्रोलियम पदार्थको उत्खनन हुनु कर्णालीको भाग्य खुल्नुजस्तै भएको बताए । दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारीले पेट्रोलियम पदार्थको उत्खननसँगै पञ्चकोसी क्षेत्रको धार्मिक महत्त्वलाई ध्यान दिन जरुरी रहेको औल्याए ।


धार्मिक क्षेत्र मासिने चिन्ता

पञ्चकोसी क्षेत्रका पुजारी तथा महन्तले पेट्रोलियम पदार्थको उत्खननसँगै धार्मिक क्षेत्र मासिने चिन्ता व्यक्त गरेका छन् । परापूर्वकालदेखि बल्दै आएको ज्वाला उत्खननका क्रममा मासिएर जाने उनीहरूको चिन्ता छ ।


श्रीस्थानका मुख्य महन्त गोकर्णनाथ योगीले उत्खननका क्रममा निरन्तर बलेको ज्वाला निभ्यो भने अस्तित्व नै धरापमा पर्ने बताए । ‘दैलेखको इतिहास ज्वालाले बनाएकाले सरकारले विकल्पमा अन्य स्थानमा उत्खनन गर्न आवश्यक छ,’ उनले भने, ‘मन्दिरदेखि ५ किलोमिटर टाढा उत्खनन र अन्वेषण हुनुपर्ने माग गरिए पनि मन्दिरकै आसपासमा अन्वेषण गर्दा चिन्ता लागेको हो ।’ अन्वेषणका क्रममा महन्त र पुजारीको आग्रहलाई बेवास्ता गरिएको उनको भनाइ छ ।

प्रकाशित : असार १७, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?