१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

घरबाटै सञ्चालन हुन्छन् आधा व्यवसाय

व्यापारिक मलमा भन्दा सडक सञ्चालित व्यवसाय बढी
विजय तिमल्सिना

काठमाडौँ — नेपालमा सञ्चालनमा रहेका करिब आधा व्यवसायहरू आफू बसोबास गर्ने घरबाट सञ्चालन हुने गरेको सरकारी अध्ययनले देखाएको छ । सञ्चालनमा रहेका करिब ९ लाख २३ हजार व्यवसायमध्ये करिब ४२ प्रतिशत व्यवसाय यसरी सञ्चालन भइरहेका छन् ।

घरबाटै सञ्चालन हुन्छन् आधा व्यवसाय

केन्द्रीय तथ्यांक विभागले सोमबार सार्वजनिक गरेको राष्ट्रिय आर्थिक गणनाको नतिजाअनुसार नेपालका ३ लाख ८६ हजार ३ सय २३ प्रतिष्ठानहरू आफू बसोबास गरेको घरबाट नै सञ्चालन भइरहेको छ । आफ्नो बासस्थानभन्दा फरक स्थानमा सञ्चालित प्रतिष्ठानको संख्या ३ लाख २३ हजार छन् । कुल व्यवसायमध्ये आफ्नो बासस्थानभन्दा फरक स्थानमा सञ्चालित प्रतिष्ठानको प्रतिशत ३५ छ ।

करिब ४ प्रतिशत व्यवसाय भने बाटो र सडकमा सञ्चालित रहेको अध्ययनले देखाएको छ । आधुनिक व्यापार मलमा २ प्रतिशत व्यवसाय मात्रै सञ्चालित छन् । अध्ययनको नतिजाअनुसार नेपालका अधिकांश व्यवसाय निकै सानो स्थानमा सञ्चालित छन् । ७६ प्रतिशतभन्दा बढी व्यवसाय ५ सय वर्गफिटभन्दा कम क्षेत्रफलमा सञ्चालित रहेको सर्वेक्षणको निष्कर्ष छ ।

कुल सञ्चालतिमध्ये २ प्रतिशत प्रतिष्ठानहरूको मात्रै शाखा कार्यालय छन् । नगण्य व्यवसाय मात्रै संगठित रूपमा सञ्चालनमा रहेको अध्ययनले देखाएको छ । विभागले वैशाख १ गतेदेखि जेठ ३१ गतेसम्म राष्ट्रिय आर्थिक जनगणना सञ्चालन गरेको थियो । आर्थिक तथ्यांकको आधारमा उद्योग, व्यवसाय, संघसंस्थाजस्ता प्रतिष्ठानहरूको विवरण संकलनका लागि गणना गरिएको विभागले जनाएको छ । नेपालमा पहिलो पटक आर्थिक एकाइहरूको विवरण संकलन गरिएको हो । अध्ययनबाट प्राप्त नतिजाले नीति निर्माणमा सघाउने विभागको अनुमान छ ।

जापानी सहयोग नियोग जाइकाको सहयोगमा गरिएको गणनाले प्रतिष्ठानहरूलाई १८ वटा क्षेत्रमा विभाजन गरिएको छ । गणनामा नेपालमा सक्रिय रहेका कृषि, वन तथा माछापालन व्यवसाय, खानी तथा उत्खनन, औद्योगिक उत्पादन, विद्युत्, पानी आपूर्ति, ढल व्यवस्थापन, यातायात तथा गोदाम, सूचना तथा सञ्चार, शिक्षा, घरजग्गा कारोबारजस्ता क्षेत्रका आर्थिक एकाइको विवरण संकलन गरिएको छ ।

यो गणनाले नेपालमा सञ्चालित व्यवसायहरूबारे रोचक तथ्यांक पनि प्रदान गरेको छ । गणनाको नतिजाअनुसार नेपालमा सञ्चालित ५२ प्रतिशतभन्दा बढी प्रतिष्ठानहरूले आफ्नो कारोबारको हिसाबकिताब राख्दैनन् । ४ लाख २७ हजार व्यवसाय अर्थात् ४७ प्रतिशत व्यवसायले मात्रै कारोबारको स्रेस्ता राख्ने गरेको गणनाले देखाएको छ । ३५ प्रतिशत प्रतिष्ठानहरूले मात्रै व्यावसायिक उद्देश्यका लाग ऋण लिएका छन् । तीमध्ये १८ प्रतिशत मात्रै बैंकबाट र बाँकीले सहकारी, व्यक्ति वा अन्य संस्थाबाट ऋण लिएको अध्ययनले देखाएको छ ।

आधा व्यवसाय मात्रै सरकारी निकायमा दर्ता भएको अध्ययनको निचोड छ । सञ्चालित ९ लाख २३ हजारमध्ये ४ लाख ६० हजार प्रतिष्ठान दर्ता नभई सञ्चालनमा रहेको अध्ययनले देखाएको छ । ‘सरकारी निकायमा दर्ता भएका प्रतिष्ठानले बढी व्यक्तिलाई रोजगारी सिर्जना गरेका छन्,’ अध्ययनको नतिजा सार्वजनिक गर्दै विभागका उपमहानिर्देशक हेमराज रेग्मीले भने, ‘दर्ता नभएका व्यवसायले कम रोजगारी सिर्जना गरेका छन् ।’

आधा प्रतिष्ठान मात्रै सरकारी निकायमा दर्ता भए पनि रोजगारी सिर्जनामा भने उनीहरूको तीन चौथाइ योगदान छ । प्रतिष्ठानहरूले सिर्जना गरेको ३२ लाख २८ हजार रोजगारीमध्ये ७५ प्रतिशत अवसर सरकारी निकायमा दर्ता भएका प्रतिष्ठानले सिर्जना गरेका छन् ।

सबैभन्दा बढी रोजगारी थोक तथा खुद्रा व्यापार, मोटर, गाडी तथा मोटरसाइकल मर्मतको क्षेत्रले सिर्जना गरेका छन् । यो क्षेत्रले निजी क्षेत्रले सिर्जना गरेको कुल रोजगारीको साढे ११ प्रतिशत रोजगारी सिर्जना गरेका छन् । रोजगारी सिर्जनामा औद्योगिक उत्पादनको योगदान ४ प्रतिशत मात्रै छ ।

होटल तथा रेस्टुरेन्टले पनि करिब ५ प्रतिशत रोजगारी सिर्जना गरेका छन् । शिक्षा क्षेत्रले भने करिब ७ प्रतिशत रोजगारी सिर्जना गरेको छ । पुरुष व्यवस्थापकले ७० र महिला व्यवस्थापकले ७१ प्रतिशत व्यवसाथ सञ्चालन गरिरहेको अध्ययनले देखाएको छ ।

प्रकाशित : असार १७, २०७६ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?