कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

किन घट्यो कार–भ्यान आयात ?

‘बजारमा तरलताको अभाव वा बैंकबाट सहजै अटो लोन नपाउँदाको अवस्थामा पनि आयात प्रभावित भएको हुन सक्छ’
शंकर आचार्य

पर्सा — वीरगन्ज आईसीपी भन्सार नाकाबाट चालु आर्थिक वर्ष (आव) मा सवारी साधनको आयात घटेको छ । मुलुककै सर्वाधिक सवारी साधन भित्रिने यो नाकाबाट चालु आवको जेठसम्ममा गत आवको यसै अवधिको तुलनामा आयात उल्लेख्य घटेको देखिन्छ । 

किन घट्यो कार–भ्यान आयात ?

भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आवको जेठसम्म यो नाका हुँदै ८ अर्ब ६३ करोड रुपैयाँ बराबरका ८ हजार ५ सय ८८ थान जिप, कार, भ्यान आयात भएका छन् । जसबाट १८ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत आवको यसै अवधिमा ९ अर्ब ७६ करोड रुपैयाँ बराबरका ११ हजार ५४ थान यस्ता सवारी साधन आयात भएका थिए । यसबाट १९ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।


तुलनात्मक रूपमा हेर्दा गत वर्षको भन्दा २ हजार ४ सय ६६ थान यस्ता सवारी कम आयात भएको देखिन्छ । आयात घटदा यसबाट संकलन हुने राजस्वमा पनि गिरावट आएको छ । गत आवको भन्दा चालु आवमा १ अर्ब ९१ लाख ३ हजार रुपैयाँ कम राजस्व संकलन भएको छ ।


मध्यम वर्गीय उपभोक्ताको पहिलो रोजाइ बनेको मोटरसाइलकको आयात पनि हवात्तै घटेको छ । चालु आवको जेठ महिनासम्ममा यो नाका हुँदै ८ अर्ब ३२ करोड रुपैयाँ बराबरका ९७ हजार ९ सय ५६ थान मोटरसाइकल आयात भएका छन् । यसबाट ९ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत आवको यसै अवधिमा १० अर्ब ५४ करोड रुपैयाँ बराबरका १ लाख २२ हजार ३ सय ३५ थान मोटरसाइकल भित्रिएका थिए । तुलनात्मक रूपमा यस वर्ष २४ हजार ३ सय ७९ थान कम मोटरसाइकल भित्रिएका छन् । मोटरसाइकलको आयातबाट गत आवको भन्दा चालु आवमा १ अर्ब ९१ लाख रुपैयाँ राजस्व पनि कम संकलन भएको छ ।


वीरगन्ज भन्सारले संकलन गर्ने राजस्वमा सवारी साधनबाट आउने राजस्वले महत्त्वपूर्ण भूमिका छ । सवारी साधनको आयात घटदा यो भन्सारले लक्षित राजस्व संकलन गर्न सक्दैन । त्यसको परिणामस्वरूप चालु आवको अधिकांश महिनामा यो भन्सारले मासिक राजस्व असुली लक्ष्य भेट्टाउन सकेको छैन ।


वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत मनीष महतोले जिप, कार, भ्यानमा सीसीअनुसार भन्सार महसुल लाग्ने बताए । औसतमा सबैखाले शुल्क गरी मूल्यको १ सय ५० देखि २५० प्रतिशतसम्म भन्सार महसुल लाग्छ । मोटरसाइकलको पनि सीसीअनुसार नै भन्सार महसुल लाग्छ । यसमा औसत मूल्यको ८५ देखि १५० प्रतिशतसम्म भन्सार महसुल लाग्छ ।


पछिल्ला केही महिनामा जिप, कार, भ्यान र मोटरसाइकलको आयात क्रमशः घटदै गएको पनि महतोले बताए । ‘नाका परिवर्तन भएको अनुमान गर्दा अन्य नाकाबाट पनि यी सवारीको आयात बढेको देखिँदैन । गत आवको जेठ महिनामा उत्साहजनक रूपमा नयाँ सवारी साधन आयात भएका थिए तर यस वर्ष जेठ महिनामा पनि त्यस्तो उत्साह देखिएन,’ उनले भने, ‘बजारमा तरलताको अभाव पनि भएको हुन सक्छ । बैंकबाट सहजै अटो लोन नपाउँदाको अवस्थामा पनि यसो भएको हुन सक्छ ।’


समुद्री मार्गबाट भारतको कोलकाता बन्दरगाहसम्म ल्याइने तेस्रो मुलुकबाट आयातित सवारी साधन भौगोलिक निकटता र राजधानी लग्न छोटो दूरी पर्ने भएकाले वीरगन्ज नाका रोजाइमा पर्ने गरेको छ ।

प्रकाशित : असार १७, २०७६ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?