किन घट्यो कार–भ्यान आयात ?

‘बजारमा तरलताको अभाव वा बैंकबाट सहजै अटो लोन नपाउँदाको अवस्थामा पनि आयात प्रभावित भएको हुन सक्छ’
शंकर आचार्य

पर्सा — वीरगन्ज आईसीपी भन्सार नाकाबाट चालु आर्थिक वर्ष (आव) मा सवारी साधनको आयात घटेको छ । मुलुककै सर्वाधिक सवारी साधन भित्रिने यो नाकाबाट चालु आवको जेठसम्ममा गत आवको यसै अवधिको तुलनामा आयात उल्लेख्य घटेको देखिन्छ । 

भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आवको जेठसम्म यो नाका हुँदै ८ अर्ब ६३ करोड रुपैयाँ बराबरका ८ हजार ५ सय ८८ थान जिप, कार, भ्यान आयात भएका छन् । जसबाट १८ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत आवको यसै अवधिमा ९ अर्ब ७६ करोड रुपैयाँ बराबरका ११ हजार ५४ थान यस्ता सवारी साधन आयात भएका थिए । यसबाट १९ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

तुलनात्मक रूपमा हेर्दा गत वर्षको भन्दा २ हजार ४ सय ६६ थान यस्ता सवारी कम आयात भएको देखिन्छ । आयात घटदा यसबाट संकलन हुने राजस्वमा पनि गिरावट आएको छ । गत आवको भन्दा चालु आवमा १ अर्ब ९१ लाख ३ हजार रुपैयाँ कम राजस्व संकलन भएको छ ।

मध्यम वर्गीय उपभोक्ताको पहिलो रोजाइ बनेको मोटरसाइलकको आयात पनि हवात्तै घटेको छ । चालु आवको जेठ महिनासम्ममा यो नाका हुँदै ८ अर्ब ३२ करोड रुपैयाँ बराबरका ९७ हजार ९ सय ५६ थान मोटरसाइकल आयात भएका छन् । यसबाट ९ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत आवको यसै अवधिमा १० अर्ब ५४ करोड रुपैयाँ बराबरका १ लाख २२ हजार ३ सय ३५ थान मोटरसाइकल भित्रिएका थिए । तुलनात्मक रूपमा यस वर्ष २४ हजार ३ सय ७९ थान कम मोटरसाइकल भित्रिएका छन् । मोटरसाइकलको आयातबाट गत आवको भन्दा चालु आवमा १ अर्ब ९१ लाख रुपैयाँ राजस्व पनि कम संकलन भएको छ ।

वीरगन्ज भन्सारले संकलन गर्ने राजस्वमा सवारी साधनबाट आउने राजस्वले महत्त्वपूर्ण भूमिका छ । सवारी साधनको आयात घटदा यो भन्सारले लक्षित राजस्व संकलन गर्न सक्दैन । त्यसको परिणामस्वरूप चालु आवको अधिकांश महिनामा यो भन्सारले मासिक राजस्व असुली लक्ष्य भेट्टाउन सकेको छैन ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत मनीष महतोले जिप, कार, भ्यानमा सीसीअनुसार भन्सार महसुल लाग्ने बताए । औसतमा सबैखाले शुल्क गरी मूल्यको १ सय ५० देखि २५० प्रतिशतसम्म भन्सार महसुल लाग्छ । मोटरसाइकलको पनि सीसीअनुसार नै भन्सार महसुल लाग्छ । यसमा औसत मूल्यको ८५ देखि १५० प्रतिशतसम्म भन्सार महसुल लाग्छ ।

पछिल्ला केही महिनामा जिप, कार, भ्यान र मोटरसाइकलको आयात क्रमशः घटदै गएको पनि महतोले बताए । ‘नाका परिवर्तन भएको अनुमान गर्दा अन्य नाकाबाट पनि यी सवारीको आयात बढेको देखिँदैन । गत आवको जेठ महिनामा उत्साहजनक रूपमा नयाँ सवारी साधन आयात भएका थिए तर यस वर्ष जेठ महिनामा पनि त्यस्तो उत्साह देखिएन,’ उनले भने, ‘बजारमा तरलताको अभाव पनि भएको हुन सक्छ । बैंकबाट सहजै अटो लोन नपाउँदाको अवस्थामा पनि यसो भएको हुन सक्छ ।’

समुद्री मार्गबाट भारतको कोलकाता बन्दरगाहसम्म ल्याइने तेस्रो मुलुकबाट आयातित सवारी साधन भौगोलिक निकटता र राजधानी लग्न छोटो दूरी पर्ने भएकाले वीरगन्ज नाका रोजाइमा पर्ने गरेको छ ।

प्रकाशित : असार १७, २०७६ २०:१६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मेसिनबाट नमुना रोपाइँ

शंकर आचार्य

पर्सा — बारा त्रिवेणीका किसान पारश ठाकुर आइतबार कृषि औजार अनुसन्धान केन्द्र रानिघाट वीरगन्जमा १६ औं राष्ट्रिय धान दिवस मनाउन आए  । केन्द्र परिसरमा राइस ट्रान्सप्लान्टर मेसिनबाट धान रोपेको देख्दा उनलाई पनि यो मेसिन किनौं किनौं लाग्यो  ।

‘के गर्नु मजदुर अभावले खेतीपाती गर्नै गाह्रो भइसक्यो,’ उनले भने, ‘रोपाहार नै नचाहिने भएपछि हामी जस्ता किसानलाई त यो मेसिन बरदान नै हुन्छ ।’


बारा खेस्रौलका अर्का अगुवा किसान परमानन्द चौधरीलाई पनि राइस ट्रान्सप्लान्टर मेसिन मन पर्‍यो । ‘यो उपकरण खरिद गर्न पाए मेरो पनि दुःख अन्त्य हुने थियो,’ उनले भने, ‘खेती किसानी झन सहज बन्थ्यो ।’ केन्द्रले हालै भित्र्याएको उक्त उपकरणले धान रोपेर किसानलाई यान्त्रीकीकरण तर्फ आकर्षित गर्ने योजना बनाएको थियो ।


केन्द्रका प्रमुख एवं इन्जिनियर सचिन मिश्राले यस वर्षको धान दिवशको नारा नै ‘धान खेतीमा प्रविधि र यान्त्रीकीकरण चामल आयातमा न्यूनीकरण’ रहेकाले किसानलाई यान्त्रीकीकरण तर्फ आकर्षित गर्न उपकरणले धान रोपिएको बताए । केन्द्रले ४ लाख रुपैयाँ लागतको गुडाउन सक्ने र ८ लाख रुपैयाँ लागतको बसेर चलाउन सकिने राइस ट्रान्सप्लान्टर मेसिन भित्र्याएको उनले बताए ।


‘किसानले अब यान्त्रीकीकरणमा जानुको विकल्प छैन,’ उनले भने, ‘मजदुर अभावको पूर्ति गर्न होस् वा खेतीको लागत कम गर्न होस् किसानले यान्त्रीकीकरणलाई अंगाल्नै पर्छ ।’


राइस ट्रान्सप्लान्टर मेसिनले किसान एक्लैले १ घण्टामा ६ कठ्ठा खेतमा रोपाइँ गर्न सक्ने मिश्राले दाबी गरे । यसका लागि केवल १ लिटर पेट्रोल खर्च हुन्छ । ‘यसरी सानो उपकरणले एक हेक्टर जग्गामा ५४ मजदुरले गर्ने र ठूलो उपकरणले ८० मजदुरले गर्ने काम एक्लैले गर्छ,’ उनले भने, ‘सानो उपकरणले ४ लाइनमा र ठूलो उपकरणले ८ लाइनमा धान रोप्छ, यो उपरकणबाट बेर्ना संख्या, बेर्ना बेर्ना बीचको दुरी र गहिराई बढाउन सकिन्छ, ।’ यसरी कम समय, कम खर्च र कम परिश्रमबाट किसानले यो उपकरणले प्रतिकठ्ठा २० देखि ३० हजार रुपैयाँसम्म बचत गर्न सक्ने उनले दाबी गरे ।


उक्त अवसरमा किसानलाई राइस ट्रान्सप्लान्टर मेसिनमा राखिने धानको बेर्ना उत्पादन गर्ने तरिका बारे पनि जानकारी दिइएको थियो । रोपाइँपछि किसान, कृषि वैज्ञानिक, पत्रकार समेतले एक साथ दही च्युरा खाएर असार १५ को रमाइलो पनि गरेका थिए ।

प्रकाशित : असार १६, २०७६ १०:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT