१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बुद्ध जन्मस्थल लुम्बिनीमा भारतीय उद्योगले बढी प्रदूषण

लुम्बिनीबाट ८ किलोमिटर दूरीमा रहेको भारतको सिद्धार्थनगरका इँटा, मदिरा, औषधि र ठूला राइस मिलबाट निस्कने धूलोधूवाँ लुम्बिनी क्षेत्रसम्म आउँछ ।
घनश्याम गौतम

(रूपन्देही) — बुद्ध जन्मस्थल लुम्बिनीमा स्वदेशी उद्योगले गर्ने उत्सर्जनले मात्र असर गरेको छैन, लुम्बिनीनजिकै रहेका भारतीय उद्योगले पनि प्रदूषण बढाएको स्थानीयले बताएका छन् । ती उद्योग लुम्बिनीबाट १५ किलोमिटर दूरीमै पर्छन् । त्यहाँबाट प्रदूषित हावा सीधै लुम्बिनीमा रहेका पुरातात्त्विक सम्पदासम्म आउने गरेको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा भारतीय उद्योगले बढी प्रदूषण

लुम्बिनीबाट ८ किलोमिटर दूरीमा भारतको सिद्धार्थनगर जिल्ला छ । त्यहाँका कक्रहवा, महले, फरिनियालगायत बजार र बस्ती नजिकका इँटा, मदिरा, औषधि र ठूला राइस मिलबाट निस्कने धूवाँ, धूलो र रासायनिक कण पनि लुम्बिनी क्षेत्रसम्म आउँछन् । त्यो प्रदूषण लुम्बिनी, भैरहवा हुँदै बुटवल र पहाडी जिल्लासम्म नै पुग्ने गरेको अध्ययनले देखाएको हो । वातावरण विभागले भौतिक शास्त्र विभागअन्तर्गतको नेसनल एटमोस्फेरिक रिसोर्स एन्ड इन्भाइरोनमेन्टल रिसर्च ल्याबोरेटोरीको सहयोगमा त्रिभुवन विश्वविद्यालयका भौतिक शास्त्रका केन्द्रीय विभागका प्राध्यापक रामप्रसाद रेग्मीको नेतृत्वमा लुम्बिनीको वातावरणीय अध्ययन गरेको थियो ।


उक्त अध्ययनले लुम्बिनीमा बढ्दै गरेको प्रदूषणको अवस्था र त्यसले पार्दै गएको दीर्घकालीन असरको विश्लेषण गरेको छ । त्यसमा पहिलो कारक उद्योग, दोस्रोमा दाउरा, गुइँठा, खेतको बालीका जरामा लगाउने आगोबाट निस्कने धूवाँ र सवारीसाधनबाट निस्कने धूवाँले प्रदूषण बढाएको देखाएको छ । उद्योगमा कच्चापदार्थ पुर्‍याउने सवारीसाधनबाट झर्ने धूलो पनि हावाका कणमा देखिएको थियो । लुम्बिनी क्षेत्रमा पाइने हावामा धूवाँ र धूलोको हिस्सा ४८ प्रतिशतसम्म देखिएको अनुसन्धाता एवं प्राध्यापक रेग्मीले बताए ।


लुम्बिनी क्षेत्रको सिमानामा पर्ने भारततर्फ सयौं बिघा खेतीयोग्य जमिन छ । उद्योग पनि छन् । खेतीयोग्य जमिनमा किसानले प्रयोग गर्ने विषादीदेखि धान, गहुँ काटिसकेपछि किसानले मलका रूपमा प्रयोग गर्न जरा, ठेटना र परालमा आगो लगाउँछन् । त्यो धूवाँको मुस्लो नै निकाल्दै लुम्बिनी क्षेत्रको नेपाली आकाशतर्फ आइपुग्ने र त्यसको असर लुम्बिनी, भैरहवा हुँदै बुटवलतर्फ पुग्ने मर्चवार क्षेत्रका अगुवा ओमप्रकाश यादवको भनाइ छ । ‘त्यहाँ इँटासहित डिस्टिलरी र अन्य उद्योग पनि छन्,’ उनले भने, ‘त्यसको धूवाँ र धूलो पनि दैनिक लुम्बिनीमै आउँछ ।’ भारतीय जमिनमा रहेका १० वटाभन्दा बढी इँटा उद्योगबाट निस्कने मुस्लोसहितको धूवाँले पूरै आकाश ढाक्ने गरेको उनले बताए ।

त्यस्तै भारतको फरिनिया बजार र आसपासको क्षेत्र तरकारी उत्पादनका लागि पकेट क्षेत्र हो । त्यहाँबाट दैनिक सयौं क्विन्टल तरकारी उत्पादन हुन्छ । व्यावसायिक किसानले तरकारीमा दैनिक प्रयोग गर्ने विषादीका कणसमेत हावासँगै नेपाल प्रवेश गरिरहेका हुन्छन् । वातावरणीय अनुसन्धाता एवं कालिका मानवज्ञान माविका शिक्षक युवराज कँडेलले भारतको फरिनिया बजार आसपासमा रहेको तरकारी पकेट क्षेत्रमा बिनामाक्स कोही पनि १० मिनेट हिँडडुल गर्न नसक्ने प्रदूषण रहेको बताए । ‘फरिनिया क्षेत्रमा हामी गएर १० मिनेट सहजै उभिन सक्दैनौं,’ उनले भने, ‘तत्काल हाच्छिउँ आउन थाल्छ र सास फेर्नै अप्ठ्यारो हुन्छ ।’ त्यहाँको त्यो प्रदूषणले पनि लुम्बिनी क्षेत्रमा हानि पुर्‍याइरहेको उनको भनाइ छ ।


वातावरण विभागको अध्ययनले पनि लुम्बिनी क्षेत्र बिहानदेखि साँझसम्म चारैतर्फबाट प्रदूषणले घेरिने गरेको देखाएको छ । उद्योगबाट निस्कने धूलोधूवाँ रातिमा तापक्रम कम हुने भएकाले लुम्बिनी/भैरहवा आसपासमै रहने र बिहानदेखि तापक्रम बढदै गएपछि कण हल्का हुँदै गएर उत्तर र पूर्वतर्फ सर्दै बुटवलसम्म पनि आइपुग्ने गरेको प्राध्यापक रेग्मीले बताए । ‘हामीले यस क्षेत्रबाट निस्कने धूलोधूवाँ कसरी वायुमण्डलमा फैलिँदै गएको छ, कहाँ गएर थुप्रिने गरेको छ र कुनकुन क्षेत्रमा असर गरेको छ भन्ने पनि अध्ययन गरेका थियौं,’ उनले भने, ‘अध्ययनले त्यसरी फैलिँदै गएको प्रदूषण हावाबाटै तानसेन हुँदै पहाडी जिल्लामा समेत पुग्ने गरेको देखिएको छ ।’ तर पहाडी जिल्लामा पुग्दा हावामा विषाक्तको मात्रा कम हुँदै गएको उनले बताए । त्यो प्रदूषणले मानव स्वास्थ्यदेखि अन्नबाली, तरकारी, फलफूल, जडिबुटी, वन पैदावारमा समेत असर पार्दै गएको र पुरातात्त्विक सम्पदा पनि खिइँदै गएको उनको भनाइ छ ।

लुम्बिनी करिडोरमा १५ किलोमिटरको हवाई दूरीमा उद्योग रहे पनि लुम्बिनीको नजिक सीमापारि भारतमा त्यसभन्दा कम दूरीमा ठूला उद्योग रहेको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले बताए । ‘सरकारले नेपाल क्षेत्रका उद्योगलाई मात्र देखेको छ,’ उनले भने, ‘लुम्बिनीबाट अझै नजिकैको दूरीमा भारततर्फ झन् ठूला इँटाभट्टा, ठूला राइस मिल र अन्य उद्योग छन् ।’ सीमा क्षेत्रमा रहेका त्यस्ता उद्योगका विषयमा पनि सरकारले बेलैमा विचार पुर्‍याउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : असार १८, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?