महरेडाँडामा थपिँदै पर्यटकीय पूर्वाधार

घनश्याम खडका

(म्याग्दी) — सरकारले घोषणा गरेको सय नयाँ गन्तव्यमा परेको महरेडाँडामा पर्यटकीय पूर्वाधार थपिएका छन् । ४० बेड क्षमताको गेस्ट हाउस खुलेको छ । पुनहिलबाट महरे जोड्न पदमार्ग चौडा बनाएर सिँढी राख्ने, झाडी फाँड्ने, बिसौनी, खानेपानीसमेतका पूर्वाधार पनि थपिएका छन् ।

पुनहिल–महरे–नागी पदमार्गमा विनियोजित ५० लाख बजेटबाट ३ हजार ३ सय १३ मिटर अग्लो महरेडाँडामा गेस्टहाउस, गाइड/पोटर हाउस तथा पदमार्ग निर्माण गरिएको हो ।

‘महरेमा २० लाखको लागतमा २०/२० बेड क्षमताका दुई गेस्टहाउस निर्माण गरिएको छ,’ महरे सामुदायिक गेस्टहाउस निर्माण समिति सदस्य पोकमायाँ पुर्जाले भनिन्, ‘बस्तीमाथिको जंगल क्षेत्र भएकाले निर्माण सामग्री जुटाउन कठिनाइ भयो ।’ सामुदायिक लगानी र व्यवस्थापनमा सुरु अन्नपूर्ण–धौलागिरि पर्यापदमार्गमा पर्ने महरे, खोप्रालगायत गन्तव्यमा पर्यटकहरूको चाप बढेपछि गोठमा समेत बास बस्नुपर्ने अवस्था थियो ।


पर्यटन मन्त्रालयको बाँकी ३० लाख रुपैयाँमा घोडेपानी–महरे एक दिनको पैदलमार्गमा सिँढीसहितको पदमार्ग बनाउने, बिसौनी थप्नेलगायत काम भइरहेका छन् । ‘सरकारले सय नयाँ गन्तव्य थपे पनि पर्यटन पूर्वाधार नहुँदा समस्या भएकाले काम गरिएको हो । अहिले भइरहेको कामबाट सन्तुष्ट छु,’ योजना अनुगमनबाट फर्केका प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले भने, ‘बेनी–नागी–महरे–घोडेपानी–खोप्रा पदमार्ग नयाँ गन्तव्य मात्र होइन, समुदायले व्यवस्थापन गरेको देशको नमुना पदमार्ग पनि हो ।’


पर्यटनको लाभ समुदायमा पुर्‍याउन सुरु पर्यावरणीय गाउँ र सामुदायिक पदमार्गमा पर्यटकको भीड बढेपछि उपलब्ध होटल बाससमेतको पूर्वाधार अपुग भएको छ । पदमार्गमा पर्ने बस्तीका होमस्टेसहित बेनी–नागी–महरे–पुनहिल–खोप्रा सामुदायिक पर्यापदमार्गका प्राय: सबै लज–होटलको क्षमताले थेग्न छोडेको हो । महरेस्थित सामुदायिक लज–होटलको ४० बेड, खोप्रामा ४० बेड, डाँडाखर्कमा १६ बेड, सिस्तीबाङ सामुदायिक लजमा ३० बेड क्षमता छ । पदमार्गका बस्तीमा भने होमस्टे सञ्चालन गरिएको छ । पदमार्ग क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण गर्दा विभिन्न समस्या छन् । खोप्रासमेतका गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मा पर्ने भएकाले पूर्वाधार थप्न समस्या भएको छ ।


नयाँ पदमार्गमा छोटो समयमै पर्यटकको आकर्षण बढेपछि गाउँपालिकाले पर्यटन पूर्वाधार थप्न कानुनी तथा भौतिक सहयोग थालेको छ । ‘पदमार्गका महरे, खोप्राजस्ता गन्तव्यमा पर्यटकको घुइँचो लागे पनि गाँसबासको समस्या भएको गुनासोपछि होटल पूर्वाधार थप्न एक्यापसँग कानुनी प्रक्रिया सुरु गरेका छौं,’ अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुनले भने, ‘गाउँपालिकाले वन तथा वातावरण ऐन बनाएर राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्यटन पूर्वाधार थप्न र वातावरण संरक्षण गर्न अध्ययन गरिरहेको छ । पदमार्ग सुधारमा बजेट विनियोजित छ ।’ पदमार्गका बस्तीमा घरबास र नभएका वन तथा हिमाली क्षेत्रमा सामुदायिक लज, रेस्टुरेन्ट तथा क्याम्पिङ साइट निर्माण गरिए पनि ती अपुग छन् ।


पदयात्रीको भीडभाड नभएको शान्त, जंगलको पदयात्रा, हरेक गन्तव्यबाट सूर्योदय र सूर्यास्तको दृश्यवलोकन गर्न सकिने, ग्रामीण जनजीवनमा रमाउँदै चौरी गोठसम्म यात्रा गर्न सकिने यस पदमार्गको मुख्य आकर्षण हुन् । फ्री वाइफाई सुविधा पनि उपलब्ध छ । पर्यटनबाट निश्चित व्यक्तिबाहेक समुदायले कुनै लाभ लिन नसकेपछि सामुदायिक पर्यापदमार्ग सुरु भएको हो । ‘मगर बहुल बस्ती छिचोल्दै घना जंगल र हिमाल फेदीमा यात्रा गर्न सकिने पदमार्ग सौन्दर्यको खानी रहेछ,’ हालै पदयात्रा गरी फर्किएका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भने, ‘बेनी–नागी,–महरे–घोडेपानी पदमार्ग सजिलो र रोमाञ्चक छ ।’


प्रकाशित : असार १८, २०७६ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?