रसुवागढी हुँदै १३ हजार पर्यटक नेपाल भित्रिए

बलराम घिमिरे

रसुवा — रसुवागढी नाका हुँदै छ महिनाको अवधिमा १३ हजार पर्यटक नेपाल भित्रिएका छन् । सन् २०१९ जनवरीदेखि जुन मसान्तसम्ममा सो नाका हुँदै १३ हजार ७० पर्यटक नेपाल भित्रिएको अध्यागमन कार्यालय रसुवागढीका प्रमुख विष्णु घर्तीले बताए । 

रसुवागढी हुँदै १३ हजार पर्यटक नेपाल भित्रिए

जनवरीमा ८ सय ४२, फेब्रुअरीमा ३ सय ४०, मार्चमा ६ सय ८५, अप्रिलमा १ हजार ४ सय ९१, मेमा ३ हजार ५ सय ३७ र जुनमा ६ हजार ७५ पर्यटक आएको तथ्यांक छ । चीन सरकारले २०७४ भदौ १४ गते रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि तेस्रो मुलुकका नागरिक पनि यो नाका हुँदै नेपाल आउन थालेका छन् । ५५ भन्दा बढी देशका पर्यटक आएका छन् । नाकाबाट करिब ७० प्रतिशत चिनियाँ पर्यटक नेपाल आउने गरेका छन् ।


नेपालतर्फ भौतिक पूर्वाधार र प्रविधि प्रयोग हुन नसक्दा समस्या भएको घर्तीले बताए । पर्यटकलाई मध्यनजर गर्दै कार्यालयले डिजिटल डिस्प्ले बोर्ड सञ्चालनमा ल्याएको छ । भिसाका लागि अनलाइन फारम (पर्यटक भिसा) भर्ने व्यवस्था मिलाइएको उनले बताए ।


अध्यागमन कार्यालयमा पर्यटकका लागि तातो तथा चिसो पानी र फ्री वाइफाईको समेत व्यवस्था गरिएको छ । नेपाल घुम्नका लागि चिनियाँ पर्यटकले एक वर्षमा १५० दिनसम्मको फ्री भिसा पाउँदै आएका छन् । चिनियाँ पर्यटकले करिब ३० दिनको भिसा लिने गरेका छन् । अधिकांश चिनियाँ पर्यटकहरूले ल्हासा, गोन्जाउबाटै भिसा लगाएर आउने गरेका छन् । करिब १० प्रतिशत पर्यटकले मात्र रसुवागढी अध्यागमनबाट भिसा लिने गरेका छन् ।


नेपाल आउने अधिकांश चिनियाँ पर्यटक काठमाडौं, पोखरा तथा लुम्बिनी जाने गरेका छन् । रसुवागढी नाकालाई चीन सरकारले अन्तर्राष्ट्रिय नाका घोषणा गरे पनि नेपालतर्फ अझै पनि भौतिक पूर्वाधारको विकास हुन सकेको छैन ।

प्रकाशित : असार १८, २०७६ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?