फुर्सदमा सिमकोटका व्यवसायी

केरुङ र तातोपानी नाका खुलेपछि हिल्सा हुँदै मानसरोवर जाने पर्यटकको संख्या घटेको हो
छपाल लामा

(हुम्ला) — गत वर्षको तुलनामा यस वर्ष मानसरोवर–कैलाश तीर्थयात्रा गर्नेको संख्या घटेको छ । हुम्ला हुँदै मानसरोवार यात्रा गर्ने पर्यटक घटेपछि जिल्लाका अधिकांश होटल रित्ता छन् । 

फुर्सदमा सिमकोटका व्यवसायी

भूकम्पका कारण केरुङ र तातोपानी नाका बन्द भएपछि केही वर्षयता भारतीय पर्यटकले सिमकोटबाट मानरोवर कैलाश तीर्थयात्रा गर्दै आएका थिए । गत वर्ष यही समयमा सिमकोट बजारमा भारतीय तीर्थयात्रीको घुँइचो लाग्थ्यो । भारतीय तीर्थयात्रीका कारण नेपालगन्जबाट हुम्लाका लागि स्थानीयलाई टिकट पाउनै समस्या हुने गरेको थियो । अहिले तीर्थयात्री घटेपछि जहाज कम्पनीले उडान संख्या घटाएका छन् । आउजाउका लागि पनि टिकट पाउन गाह्रो नभएको खार्पुनाथ गाउँपालिका ५ का धनसिं भण्डारीले वताए ।


भारतीय तीर्थयात्रीको संख्या बढेपछि गत वर्षसम्म सिमकोटमा ठूला लगानीका होटल खुलेका थिए । होटल पोतलाका सञ्चालक मिम लामाका अनुसार गत वर्ष यो सिजनमा १ हजार २ सय तीर्थयात्रीले होटल बुकिङ गरेका थिए । ‘यो वर्ष अहिलेसम्म ६ सय तीर्थयात्रीले मात्र होटल बुकिङ गरेका छन्,’ उनले भने, ‘भारतीयको संख्या आधाभन्दा बढीले घटेपछि अधिकांश कोठा खाली छन् ।’


मानसरोवर होटलका सञ्चालक टेके रावतले यस वर्ष भारतीय पर्यटकको संख्या घटेपछि आम्दानीमा असर परेको बताए । ‘गत वर्ष यो समयमा होटलका कर्मचारीलाई भ्याइनभ्याई हुन्थ्यो,’ उनले भने, ‘पर्यटक नआएपछि सबै फुर्सदिला बनेका छौं ।’ उनले गत वर्ष १ हजार ६ सय पर्यटकले बुकिङ गरेको होटलमा यस वर्ष सात सय तीर्थयात्रु मात्र आएको जानकारी दिए ।


उनले सिजन भर्खरै सुरु भएकाले यस वर्ष बढीमा १ हजार १ सयजति पर्यटक आफ्नो होटलमा बास बस्ने अनुमान गरेका छन् । गत वर्ष चापका कारण तीर्थयात्रीलाई व्यवस्थापन गर्न गाह्रो भएपछि होटलका कोठा थपिएको उनले जानकारी दिए । पर्यटन व्यवसायी अविनाश लामाका अनुसार केरुङ र तातोपानी नाका खुलेका कारण हिल्सा हुँदै मानसरोवर जाने पर्यटकको संख्या घटेको हो । नेपालगन्ज–सिमकोट हवाई र सिमकोट–हिल्सा हेलिकप्टर उडान कम हुन थालेका छन् । सिजन सुरु भएयता गत असार १४ गतेसम्म ४ हजार ९ सय ३४ भारतीय तीर्थयात्री सिमकोट भित्रिएको उनको भनाइ छ । ‘गत वर्ष यति बेला करिब सात हजार पर्यटक सिमकोट भित्रिसकेका थिए,’ उनले भने, ‘यो वर्ष सोचेजति पर्यटक यो नाकाबाट भित्रिएका छैनन् ।’


प्रकाशित : असार १९, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?