कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठेकेदारको लापरबाहीले रोपाइँ घर्कियो

निर्माणाधीन पथलैया–वीरगन्ज व्यापारिक मार्गका ठेकेदारले बहाव नै रोकिने गरी माटो थुपारेर बक्स कल्भर्ट निर्माण गर्दा किसानले पानी पाएनन्
शंकर आचार्य

(पर्सा) — ठेकेदारको ढिलासुस्तीले गण्डक नहर थुनिँदा ६ नम्बर ब्लक पूर्वका किसान रोपाइँ गर्न वञ्चित छन् । नहरमा पानी आए पनि निर्माणाधीन पथलैया–वीरगन्ज व्यापारिक मार्गका ठेकेदारले बहाव नै रोकिने गरी माटो थुपारेर बक्स कल्भर्ट निर्माण गर्दा किसानले पानी नपाएका हुन् । 

ठेकेदारको लापरबाहीले रोपाइँ घर्कियो

वीरगन्जको जगरनाथपुरस्थित नहरको ६ नम्बर ब्लकसम्म पानी आएको छ । त्यसपूर्व वीरगन्जकै जगरनाथपुर, मनियारी, हरपतगन्ज क्षेत्रमा पानी पुग्न सकेको छैन । पानीको प्रतीक्षामा बसेका किसान अलमलमा छन् । हरपतगन्जका किसान दामोदर यादवले सडक निर्माण गर्ने ठेकेदारको ढिलासुस्तीले किसानले रोपाइँ गर्न नपाएको बताए ।


‘नहरमा पानी आउँदै छ भन्ने कुरा ठेकेदार कम्पनीलाई पक्कै थाहा हुनुपर्छ, समयमै निर्माण कार्य सक्न दबाब दिनुपर्नेमा नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालयले आफ्नो जिम्मेवारी बुझिदिएन,’ उनले भने, ‘जसको कमजोरी भए पनि घाटा किसानलाई नै भएको छ, रोपाइँ एक साता ढिलो भइसक्यो ।’


नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालयका प्रमुख डिभिजनल इन्जिनियिर राजेन्द्रप्रसाद साहले प्रमुख जिल्ला अधिकारीको रोहवरमा ठेकेदार कम्पनीका प्रतिनिधि तथा व्यापारिक मार्ग आयोजना कार्यालयका प्रतिनिधिसमेतको उपस्थितिमा बक्स कल्भर्टको निर्माण कार्य शुक्रबारसम्म सम्पन्न गर्ने र नहरमा पानी सुचारु गर्ने सहमति भएको बताए ।


सहमतिअनुसार काम भइरहेको उनको दाबी छ । काम नगरिए आफूले सक्दो दबाब दिएर नहर सुचारु गर्न कुनै कसर बाँकी नराख्ने पनि साहले बताए । हाल ब्लक नम्बर ६ सम्म करिब १८ हजार हेक्टर जग्गामा नहरको पानीले सिञ्चित हुने उनले बताए । नहरमा हाल ४५० क्युसेक हाराहारीमा पानी छ ।


व्यापारिक मार्ग आयोजना कार्यालयका सूचना अधिकारी अशोक यादवले सहमतिअनुसार ठेकेदार कम्पनीले शुक्रबार काम सम्पन्न गर्नुपर्ने र शनिबार बिहानबाट नहरमा पानी प्रवाह हुनुपर्ने बताए । भारतले असार ११ गते नहरमा छाडेको थियो । गत शनिबार दिउँसो १ बजे पर्साको जानकीटोलास्थित शून्य आरडी हुँदै नेपाल प्रवेश गरेको हो । त्यो दिन नहरमा ४२१ क्युसेक पानी थियो ।


नवलपरासीको भैंसालोटनस्थित नेपाल–भारत सीमामा निर्मित ब्यारेजबाट भारतीय पक्षले पानी छाड्ने गर्छ । भारतसँगको सम्झौताअनुसार बर्सेनि धान सिजनका लागि असार १५ र गहुँ सिजनका लागि पुस १० देखि नहरमा पानी आइसक्नुपर्छ । सन् १९७५ र ०७६ मा दुई चरणमा भारत सरकारले नेपाल सरकारलाई गण्डक नहर हस्तान्तरण गरेको थियो ।


पर्साको जानकीटोलाबाट नेपाल प्रवेश गर्ने र रौतहटको वाग्मतीमा गएर मिसिने नहरलाई पूर्वी नहर भनिन्छ । नेपाल र भारतबीच भएको गण्डक सम्झौताअनुसार नहरमा भारत सरकारले नेपालतर्फ ८५० क्युसेक पानी छाड्नुपर्छ । तर कहिले पनि यो सहमतिमा भएअनुसारको पानी नेपालले पाएको छैन ।

प्रकाशित : असार २०, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?