१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

बैंकको सेयरमा लगानीकर्ता झुम्मिए 

काठमाडौँ — मर्जर तथा एक्विजिसनको हल्ला बढेसँगै बैंकिङ समूहको सेयरमा लगानीकर्ताको आकर्षण बढेको छ । गत साता राष्ट्र बैंकले बैंकलाई मर्जर तथा एक्विजिसनको प्रतिबद्धता मागेपछि बजार तातेको छ । उक्त निर्देशनपछि केही बैंकहरुले मर्जरको सहमति गरिसकेका छन् भने केहीले छलफल तीव्र पारेका छन् ।

बैंकको सेयरमा लगानीकर्ता झुम्मिए 

मर्जरपछि बैंकहरु ठूलो बन्ने अनुमानका आधारमा लगानीकर्ताले वाणिज्य बैंकको सेयरमा लगानी बढाएका हुन् । यो साताको कुल सेयर कारोबारमा बैकिङ समूहको हिस्सा करिब ५४ प्रतिशत पुग्नुले यो पुष्टी हुन्छ ।


यो साता बजारमा कुल २ अर्ब ६६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । गत साताको तुलनामा कारोबार रकम करिब ६ प्रतिशतले बढेको हो । जसमध्ये बैंकिङ समूहको मात्र १ अर्ब ४३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो कुल साप्ताहिक सेयर कारोबारको करिब ५४ प्रतिशत हो ।


अघिल्ला साताहरुमा बैकिङ समूहको सेयरमा लगानीकर्ताको आकर्षण कम देखिएको थियो । यही कारण ती साताहरुमा साप्ताहिक सेयर कारोबारमा बैकिङ समूहको हिस्सा करिब ४० प्रतिशत हाराहारीमा रहेको थियो ।

यो साता भने परिस्थिति बदलिएको छ । बैंकिङ समूहको सेयरको कारोबार हिस्सा फेरी ५० प्रतिशत भन्दा माथि पुगेको छ । गत साता बैकिङ समूहको कारोबार हिस्सा ४१ प्रतिशत थियो । सामान्य अवस्थामा कुल कारोबारको ५० देखि ५२ प्रतिशत हिस्सा ओगट्दै आएको छ ।


बैंकिङ समूहको कारोबार घटेसँगै बिमा, उत्पादन तथा प्रशोधन समूहको कारोबार हिस्सा केही घटेको छ । गत साताहरुमा हिमालयन डिष्ट्रिलरी र शिवम सिमेन्टको ठूलो परिणाममा सेयर कारोबार भएकाले कुल कारोबारमा ती समूहको हिस्सा पनि बढेको थियो ।


साप्ताहिक सेयर कारोबारमा बिमा समूहको हिस्सा ८.७९, उत्पादन तथा प्रशोधनको ६.७७, जलविद्युतको ४.१६ र विकास बैंकको ४.९२ प्रतिशत छ । यो साता पाँच दिनको सेयर कारोबारमा दुई दिन नेप्से बढ्यो भने तीन दिन घट्यो । दुई दिनमा नेप्से करिब साढे २६ अंकले बढ्यो, बाँकी तीन दिनमा नेप्से करिब साढे २३ अंकल् ेघट्यो । यसकारण बढने भन्दा घटने परिसूचक कम हुदाँ साप्ताहिक कारोबारमा नेप्से करिब ३ अंकले सकारात्मक देखियो । साताको पहिलो दिन आइतबारको तुलनामा भने करिब साढे १५ अंकले बढेको देखिन्छ । आइतबार १ हजार २ सय ४४.८९ मा रहेको नेप्से बिहीबार १ हजार २ सय ६०.४७ विन्दुसमा बन्द भएको छ ।


यो साता सेयर बजारमा ६ लाख ३८ हजार ६ सय ७० कित्ता सेयर सूचीकृत भए । सो अवधिमा माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था र नेरुडे लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएका हुन । गत साता नेपाल इन्स्योरेन्स कम्पनीको ४० लाख १४ हजार कित्ता हकप्रद सेयर मात्र सूचीकृत भएको थियो ।


यो साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो। विगतमा जस्तै यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कारोबार भएन।

प्रकाशित : असार २१, २०७६ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?