२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

पर्याप्त वर्षा भएन, धान रोपाइँमा ढिलाइ

कृष्ण थापा

(नुवाकोट) — पर्याप्त वर्षा नहुँदा जिल्लाका अधिकांश किसानले धान रोपाइँ गर्न सकेका छैनन् । ‘धानलाई चाहिने पानी परेको भए छिट्टै रोपिन्थ्यो,’ दुप्चेश्वर गाउँपालिका ३ रावतबेंसीका गोविन्द केसीले भने, ‘वर्षा भएको भए कुलो चल्थ्यो र धान रोपिन्थ्यो ।’ 

पर्याप्त वर्षा भएन, धान रोपाइँमा ढिलाइ

सिँचाइ पुगेका कतिपय फाँटमा चैते धान पाकेको छ । किसानलाई धान भित्र्याउन भ्याइनभ्याई छ । सिँचाइ कम हुने खेतमा मकै पाक्दै छ । कतिपय किसान मकै भित्र्याएर कान्ला ताछ्ने, आली लगाउने काममा व्यस्त छन् । ‘असारे धानलाई चाहिने जति पानी र मल पुगेन,’ सूर्यगढी गाउँपालिका ५ गणेशस्थानका माधव बजगाईले भने, ‘त्यसैले असारको आधा हुँदा पनि रोपाइँ सकिएको छैन ।’


जिल्लामा धान रोपाइँ ढिलो हुनुमा मलखाद समयमै नपाइनु पनि हो । ‘धानका लागि रासायनिक मल चाहियो,’ रावतबेंसीका केसीले भने, ‘मल खोज्न जानुपर्‍यो । अझै पुगेको छैन । अर्कोतिर भनेजति पानी परेको छैन ।’ धानबालीलाई आवश्यक वर्षा नभएपछि रोपाइँ ढिलो भएको किसानले बताए । ‘बेलामा पानी परेर मल पाइएको भए असारभित्र रोपाइँ हुन्थ्यो,’ बजगाईले भने । धानलाई आवश्यक पर्ने मलखादको अभाव र वर्षाले गर्दा रोपाइँ ढिलो भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ‘अहिलेसम्ममा २७ प्रतिशत धान रोपाइँ भएको छ,’ ज्ञान केन्द्रकी बाली संरक्षण अधिकृत रुक्मेणी अधिकारीले भनिन् ।


धानको पकेट क्षेत्र मानिएको बेलकोट, मदानपुर, थानपती, चतुराले, कविलास, गणेशस्थान, तुप्चे, थानसिङ, रालुका, शिखरबेंसी, रावतबेसी, रामोती, बुढीसेरा, ढाँडे, मिश्रफाँट, नौबिसे, भद्रुटार, खानीगाउँ, चतुराले, चौघडा, समुद्रटार, थप्रेकलगायत फाँटमा रोपाइँ भइरहेको छ ।


जिल्लामा १४ हजार ५ सय ५० हेक्टर क्षेत्रफलमा धान लगाइन्छ । आर्थिक वर्ष ०७५/७६ मा ६३ हजार ४ सय ७० टन धान उत्पादन भएको थियो । रैथाने धानको बीउभन्दा किसान हाइब्रिड बीउतर्फ आकर्षित भएको देखिन्छ । ७ हजार हेक्टरमा हाइब्रिड धानको जात लगाउने गरिएको छ ।


यस्तै कृषि ज्ञान केन्द्रलाई आएको १० करोडमध्ये ४ करोड रुपैयाँ फ्रिज भएको छ । कार्यक्रम ढिलो आएको र खर्च गर्ने कार्यविधिको अस्पष्टताले रकम फ्रिज भएको केन्द्रका प्रमुख केशव खनालले बताए ।

प्रकाशित : असार २२, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?