१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

किसान ठग्ने बीउ कम्पनीलाई कारबाही माग

ठाकुरसिंह थारु

(बर्दिया) — बाँकेको खजुरा गाउँपालिका उढरापुरका किसानले छरेको धानको बीउ नउम्रिएको घटनाप्रति अधिकारवादीहरूले चासो दिएका छन् । उनीहरूले घटनाको छानबिन गरी किसानलाई तत्काल क्षतिपूर्ति दिन माग गरेका हुन् ।

खाद्य अधिकार र उपभोक्ता अधिकारका क्षेत्रमा कार्यरत अधिकारवादीहरूले किसानलाई ठगी गर्ने बीउ कम्पनीलाई तत्काल कारबाहीको माग उठाए । फियान नेपाल नेपालगन्जका प्रमुख सुरेशकुमार गौतमले बीउ नम्रिएको घटनाको स्थलगत अनुगमन गरेको बताए । ‘२ दर्जन बढी किसानले छरेको बीउ उम्रिएको छैन । बीउ नम्रिएको घटनाप्रति हाम्रो ध्यानार्षण भएको छ । कृषि अधिकारीहरूलाई त्यसबारे जानकारी गराएका छौं,’ उनले भने, ‘बीउ बिक्री गर्ने एग्रोभेट र बीउ कम्पनीलाई कारबाहीको दायरामा ल्याउन आवश्यक छ ।’


नउम्रिएको धानको बीउ ६४४४ जातको भारतीय हो । हाइब्रिड धानको बीउ नेपालमा सूचीकृत रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । बीउ नउम्रिएपछि किसानको श्रम र पैसा खेर गएपछि अधिकारीवादीहरूले आपत्ति जनाएका हुन् । रोपाइँ गर्ने समयमा नयाँ बीउ राख्न पर्दा निकै समस्या भएको किसानको गुनासो छ । किसानले करिब एक महिनाअगावै बीउ राखेका थिए । किसान इस्लाम खाँले बीउ नउम्रिएपछि रोपाइँ गर्न ढिलाई भएको बताए । उनले बीउ बिक्री गर्ने कम्पनीको खोजी गरी कारबाहीको माग राखे ।


कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले ६४४४ जातको धानको बीउ नेपाल सरकारले सूचीकृत गरेको र घटनाबारे जानकारी नभएको बताए । उनका अनुसार राम्रोसँग भण्डारण नगरिएको तथा पुरानो बीउ भएका कारणले उमार शक्ति कम हुन्छ । बिक्रेताले भने कम्पनीले क्षतिपूर्ति दिनुपर्ने बताउँदै आएका छन् ।


उक्त धानको बीउ ४ सय ६० रुपैयाँ प्रतिकिलोमा किसानले खरिद गरेका थिए । नेपालगन्जको धम्बोझीचोक नजिकैको एक एग्रोभेटबाट किनेको बीउ नउम्रिएको हो । बीउ नउम्रिएर मरेको छ । भारतसँग जोडिएको सीमावर्ती गाउँका किसानले बढी उत्पादन हुने प्रलोभनमा भारतबाट बीउ किन्ने गरेका छन् । कतिपय बीउलाई सरकारले अनुमति दिएको छैन ।

प्रकाशित : असार २२, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?