कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सवारी जाम हटाउन राजमार्ग स्तरोन्नति

धादिङको धुनीबेंसी नगरपालिकाले राजधानी प्रवेशद्वार मानिने राजमार्गको सवारी जाम हटाउन स्तरोन्नति र वैकल्पिक सडक अवधारणा ल्याएको छ
हरिहरसिंह राठौर

(धादिङ) — राजधानीको मुख्य प्रवेशद्वार मानिने राजमार्गमा नियमितजसो भैरहने सवारी जाम हटाउन धुनीबेंसी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि उल्लेख्य बजेट विनियोजन गरेको छ । धार्के खानीखोलादेखि नागढुंगासम्मको करिब ३० किमि सडकमा एउटै सवारी साधन बिग्रेमा घण्टौं सडक जाम हुन्छ । नगरपालिकाले राजमार्ग स्तरोन्नति र वैकल्पिक सडक अवधारणाअनुसार बजेट विनियोजन गरेको हो ।

सवारी जाम हटाउन राजमार्ग स्तरोन्नति

सीसीटीभीमा सडक जाम नियाल्दै प्रमुख बालकृष्ण आचार्य । तस्बिर : हरिहरसिंह/कान्तिपुर

सीतापाइला–धार्के सडकलाई केन्द्र वा प्रदेश कुन सरकार मातहत राख्ने अलमलले काममा ढिलाइ भएको नगरप्रमुख बालकृष्ण आचार्यले बताए । त्रिभुवन राजपथको विकल्प तत्काल खोजी गर्नुपर्ने उनको भनाइ छ ।

नियमित भइरहने सवारी जामको विकल्प धार्के–भीमढुंगा–सीतापाइला २६ किमि कच्ची सडकलाई स्तरोन्नति गरी कालोपत्रे गरिने योजना नगरपालिकाले अगाडि सारेको छ ।


सडकतर्फ धुनीबेंसी नगरपालिकाको ७ करोड २४ लाख २० हजार रकमबाट ५५ वटा सडक र संघ एवं प्रदेशमार्फत ७ करोड ५० लाख रकमबाट ७ सडक गरी ६२ वटा सडकमा १४ करोड ७४ लाख २० हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।


संघीय राजधानी काठमाडौंलाई देशका अन्य भागसँग जोड्ने मुख्य राजमार्ग यही नगरपालिका हुँदै जाने र प्राथमिकता प्राप्त काठमाडौं–नौबिसे सुरुङमार्गको मुख्य प्रवेशविन्दुसमेत यही नगरपालिकामा रहेकाले यस नगरलाई गेटवे सिटी–धुनीबेंसीको रूपमा विकास गर्ने लक्ष्यका साथ सडक पूर्वाधार विस्तारलाई उच्च प्राथमिकता दिइएको छ ।


नगरप्रमुख आचार्यले भूकम्पपछि राजधानीका अधिकांश इँटा, ग्यास, औषधि र सिमेन्ट उद्योगहरू धुनिबेंसीमा थपिँदै गएर खेतीयोग्य जमिन मासिँदै गएको बताए । ‘खेतीयोग्य जमिनमा उद्योग स्थापना गर्न कडाइ गरिनेछ,’ नगरप्रमुख आचार्यले भने ।


नगरपालिका उपप्रमुख निरु खरेलले आगामी आर्थिक वर्षका नीति, कार्यक्रम र योजना कार्यान्वयन गर्न ७१ करोड ८७ लाख रुपैयाँ विनियोजन गरिएको बताइन् । कुल विनियोजनमध्ये चालु खर्चतर्फ ३३ करोड ३३ लाख ६१ हजार रुपैयाँ र पुँजीगततर्फ ३८ करोड ५३ लाख ३९ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

प्रकाशित : असार २२, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?