कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

‘बगरमै फल्दो रै’छ सुन’

सम्झना रसाइली

(तनहुँ) — व्यास नगरपालिका –५ पाटनका ४० वर्षीय चित्रबहादुर बोटे अहिले दंग छन् । मादी नदी किनारको बगर खेतीले राम्रो आम्दानी दिएपछि बोटे खुसी भएका हुन । उनीजस्ता धेरै बोटे दाजुभाइ मादी बगरमा तरकारी खेती गरिरहेका छन् ।

‘बगरमै फल्दो रै’छ सुन’

कुनैबेला अल्पसंख्यक बोटे समुदाय जाल र फुर्लङ लिएर माछा मारी घर खर्च चलाउथे । माछा मार्ने, बालुवा चालेर सुन निकाल्ने, ज्याला मजदुरी गर्नेजस्ता परम्परागत पेसाले जीविका धान्न सहज नभएपछि उनीहरू तरकारी खेतीमा लागेका छन् । ‘खोलामा माछा र नदी किनारका क्रसर उद्योगले सुन नपाइनेजस्ता कारणले परम्परागत पुर्ख्यौली पेसाबाट गुजारा चलाउन निकै कठिन हुन थाल्यो,’ चित्रबहादुर भन्छन्, ‘त्यसैले विकल्पमा तरकारी खेतीमा लागेका हौं ।’ करिब दशकसम्म वैदेशिक रोजगारीमा बिताएका चित्रबहादुर शिक्षा, सीप केही पनि नहुँदा राम्रो कमाइ गर्न नसकेपछि फर्किएका थिए ।


विदेशमा जाँदा पनि आर्थिक अवस्था नसुध्रिएपछि गाउँमै फर्किएर तरकारी खेती गर्न थाले उनले । ‘आफ्नै घर अगाडिको बगरमा सुन फल्दो रहेछ, थाहा नहुँदा त्यत्रो समय विदेशमा भौंतारिएँ,’ चित्रबहादुरले भने । वैदेशिक रोजगारीमा मुस्किलले मासिक २५/३० हजार कमाएको बताउने चित्रबहादुरले अहिले तरकारीबाट दैनिक २/३ हजार रुपैयाँ आम्दानी गर्छन् ।


वैदेशिक रोजगारीबाट फर्किएर उनीसँगै आधा दर्जन बोटे युवाले पनि बगरमा तरकारी खेती गर्न थालेका छन् । ‘तरकारी खेतीले हाम्रो दैनिकीमै परिवर्तन ल्याएको छ । मिहिनेतअनुसारको आम्दानी गर्न सकिँदो रहेछ,’ एक अर्का युवाले भने । बगरलाई संरक्षण गरी मौसमी तथा बेमौसमी तरकारी खेती गर्दा भएको आम्दनी देख्दा युवा दंग छन् । बगरमा उपयुक्त हुने तरकारी, फलफूल खेतीको उन्नत बिउबिजन, आवश्यक प्राविधिक ज्ञान पाउनसके अझै अगाडि बढ्ने इच्छा उनीहरूको छ ।


मत्स्यकन्या कृषक समूह गठन गरी उनीहरूले मादी नदी किनारको करिब २५ रोपनी बगरमा तरबुजालगायत मौसमी, बेमौसमी तरकारी खेती गर्दै आएका छन् । यातायातको सहज पहुँच नहुँदा कहिलेकाहीँ समस्या आएको समूहकी अध्यक्ष रमिला बोटे बताउँछिन् । समूहलाई कृषि ज्ञान केन्द्रले ३ लाख ९० हजार रुपैयाँ अनुदान र प्राविधिक सहयोग दिएको छ । यसबाट किसानले बीउबिजन किन्ने र टनेल बनाएका छन् । अध्यक्ष रमिलाका अनुसार समूहमा आबद्ध १७ महिला दिदीबहिनीको पनि जीवनस्तरमा परिवर्तन आएको छ । दुईचार पैसाका लागि अरूको भर पर्नुपर्ने अवस्थाको अन्त्य मात्र भएको छैन आम्दानी पनि गर्न थालेको उनको भनाइ छ ।

प्रकाशित : असार २२, २०७६ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?