कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

पेट्रोलियम पाइप लाइन : अगस्तबाट तेल भित्र्याउने तयारी

नेपाल भित्र्याइने तेलको रिसिभिङ डिपो अमलेखगन्ज र पम्पिङ डिपो भारतको मोतीहारीमा रहनेछ । मोतीहारीको पम्पिङ हाउस सञ्चालनमा नआउन्जेलसम्म सिधैं पटना–सिवान–अमलेगन्जसम्म पाइप जडान गरी तेल भित्र्याउने तयारी 
पवन यादव

सिमरा — मोतीहारी–अमलेखगन्ज पाइप लाइनबाट अगस्तदेखि तेल भित्र्याउने गरी तयारी थालिएको छ । पाइप लाइनको पहिलो चरणअन्तर्गत पाइप गाड्ने, मुख्य लाइन टेस्टिङ, पाइप क्लिनिङलगायत काम सकिएको छ । अहिले तेल ल्याउन टेस्टिङको तयारी भइरहेको नेपाल आयल निगमका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिए । ‘अटोमेटिक उपकरण सञ्चालन गर्न गाडिएको केबल टेस्टिङको काम भइरहेको छ,’ उनले भने ।

पेट्रोलियम पाइप लाइन : अगस्तबाट तेल भित्र्याउने तयारी

भारतको मोतीहारीमा पम्पिङ हाउस निर्माण नहुँदासम्मका लागि भारतको पटना–सिवान–मोतीहारी हुँदै सिधा अमलेखगन्ज तेल भित्र्याउने काम अघि बढेको गोइतले बताए । भारतले अत्यधुनिक पम्पिङ हाउस मोतीहारीमा निर्माण गरिरहेको छ ।


नेपाल भित्र्याइने तेलको रिसिभिङ डिपो अमलेखगन्ज र पम्पिङ डिपो भारतको मोतीहारीमा रहनेछ । मोतीहारीको पंपिङ हाउस सञ्चालनमा नआउन्जेलसम्मका लागि सिधैं पटना–सिवान–अमलेगन्जसम्म पाइप जडान गरी तेल भित्र्याउने तयारी गरिएको आयल निगम अमलेखगन्ज डिपोका प्रमुख प्रदीप यादवले जानकारी दिए ।


‘पाइप लाइनबाट तेल भित्र्याउन अटोमेटिक कन्ट्रोल रुम निर्माण गरिन्छ,’ उनले भने, ‘कम्युटरको माध्यमले स्वचालित उपकरणलाई थोरै जनशक्तिमा कन्ट्रोल गर्न सकिन्छ ।’ यो उपकरण नयाँ हो । नेपालमा पहिलोपटक अभ्यास गरिँदै छ । भारतमा यसको प्रयोग भइरहेकाले आफूहरू पनि यसको सफल परीक्षणमा विश्वस्त रहेको यादवको भनाइ छ ।


अमलेखगन्जमा पाइप लाइनको तेल भण्डारण गर्न तयारी अवस्थामा राखिएको ४१ सय किलोलिटरका दुईवटा ट्यांकी र ३९ सय किलोलिटरका दुई गरी चारवटा ट्यांकीमा पाइप लाइनको भल्भ जडान गर्ने काम चलिरहेको मोतीहारी–अमलेखगन्ज पाइप लाइन परियोजना कार्यालयका इन्जिनियर शरद पौडेलले जानकारी दिए ।


पाइप लाइनबाट भित्रिने तेलको प्रेसर अत्यधिक हुने भएकाले त्यसलाई कम गर्न स्वचालित घुमाउरा भल्भसमेत राखिसकिएको उनले बताए । यसलाई कम्प्युटरले आफैं चलाउनेछ । ‘पाइप लाइनबाट प्रतिघण्टा १९० देखि २ सय किलोलिटर तेल भित्रिन्छ,’ पौडेलले भने, ‘यसका लागि १६ हजार किलोलिटर क्षमता थेग्ने ट्यांक तयारी गरिसकिएको छ ।’


संसदीय समितिको अनुगमन

पेट्रोलियम पाइप लाइनको पहिलो चरणको कामको संसदीय समितिले स्थलगत अनुगमन गरेको छ । उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिका संयोजक विमल श्रीवास्तव नेतृत्वको १२ सदस्यीय टोलीले पाइप लाइनको अनुगमन निरीक्षण गरेको हो ।


कमी, कमजोरी, सुधार गर्नुपर्ने विषय, टेन्डर प्रक्रिया र अनुगमनको क्रममा देखिएका अन्य विषयमा छलफल गरी निष्कर्ष निकालिने र त्यसैका आधारमा सरकार र आयल निगमलाई निर्देशन दिइने समिति संयोजक श्रीवास्तवले जानकारी दिए । ‘अहिले नै अनुगमनमा देखिएका विषयमा बोल्न मिल्दैन,’ श्रीवास्तवले भने, ‘टोलीका सम्पूर्ण सदस्यको सुझावपछि मात्र निष्कर्षमा पुगेर बोल्नु राम्रो हुनेछ ।’ टोलीले अनुगमन निरीक्षणसहितको प्रतिवेदनसमेत तयार गर्ने उनले जानकारी दिए ।


पाइप लाइन रुटभित्र परेको पर्सा राष्ट्रिय निकुञ्जभित्रका रुख काटने प्रक्रिया पूरा गर्न ढिलाइ हुँदा पाइप गाड्ने काम निर्धारित समयभन्दा पर धकेलिएको थियो । मोतीहारी–अमलेखगन्ज पाइप लाइनको दूरी ६९ किलोमिटर छ । ३२ दशमलव २० किलोमिटर पाइप लाइन भारतीय क्षेत्रमा र ३६ दशमलव २० किलोमिटर नेपालमा पर्छ ।

प्रकाशित : असार २२, २०७६ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?