१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अन्नभण्डारमै कम रोपाइँ

प्रदेश २ का ८ जिल्लामा २ लाख ९४ हजार ८ सय ४० हेक्टरमा धान खेती हुने भए पनि यो वर्ष पर्याप्त वर्षा नहुँदा १५ प्रतिशतमा मात्र रोपाइँ भएको छ । सुक्खाले मकै र उखु खेतमै सुकिसके, किसान पानी पर्छ कि भन्दै आकाश ताकिरहेका छन् । 
प्रदेश २ ब्युरो

जनकपुर — प्रदेश २ लाई देशकै अन्नभण्डार मानिन्छ । प्रदेश सरकारले नारा दिएको छ, ‘हरेक खेतमा पानी, हरेक हातमा काम ।’ किसानको अवस्था भने फरक छ । पर्याप्त वर्षा नहुँदा यो प्रदेशका ८ जिल्लामा असार तेस्रो सातासम्म १५ प्रतिशत मात्रै रोपाइँ भएको छ । ८ जिल्लाको २ लाख ९४ हजार ८ सय ४० हेक्टरमा धान खेती गरिए पनि सिँचाइको अभावमा १५ प्रतिशतमा मात्र रोपाइँ भएको हो । 

अन्नभण्डारमै कम रोपाइँ

त्यो पनि किसानले आफैंले सिँचाइको बन्दोबस्त मिलाएर रोपाइँ गरेका हुन् । प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार पर्याप्त पानी नपरेकाले रोपाइँमा ढिलाइ भएको छ ।


मन्त्रालयका अधिकृत रजनिश मिश्रले रोपाइँको गति सिँचाइ अभावले सुस्त रहेको बताए । ‘पम्पसेट, ट्युबवेलबाट सिँचाइ गरेर कतैकतै धान रोपिएको छ,’ मिश्रले भने, ‘वर्षाको आसमा किसान आकाश ताकिरहेका छन् । प्रदेश २ मा २५ प्रतिशत जग्गामा मात्र सिँचाइ सुविधा उपलब्ध छ । ८ जिल्लामध्ये धनुषामा सबैभन्दा कम रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।


धनुषाको ३५ हजार २ सय हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । यहा अहिलेसम्म ५ प्रतिशतमा मात्र रोपाइँ भएको छ । वर्षा नहुँदा साना सिँचाइको सहयोगमा धान खेती भए पनि ठूलो क्षेत्रफलमा धान रोप्न बाँकी रहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अधिकृत मिश्रले बताए । मन्त्रालयका अनुसार पर्सामा १५, रौतहटमा २२, सर्लाहीमा १०, महोत्तरीमा १०, बारामा ३२, सिरहामा १० र सप्तरीमा १० प्रतिशत मात्र रोपाइँ भएको छ ।


‘रोपाइँ ढिलो हुँदा उत्पादनमा कमी आउँछ,’ मिश्रले भने, ‘गत वर्ष समयमै वर्षा हुँदा साउनको दोस्रो सातासम्म ७८ प्रतिशत रोपाइँ भएको थियो । ढिलो रोपाइँले धानको दाना नलाग्ने खतरा हुन्छ ।’ प्रदेश सरकारले सिँचाइका लागि सानो ट्युबवेल, सोलारपम्प र बोरिङ वितरण गरे पनि सिँचाइका लागि यति नै पर्याप्त नभएको मन्त्रालयका सचिव विजयचन्द्र झाले बताए ।


रोपाइँकै बेला खेत सुक्खा

रौतहटमा वाग्मती सिँचाइ पुगेको क्षेत्रमा मात्र रोपाइँ भइरहेको छ । अन्य क्षेत्रका किसान अझै आकाशेपानीको भरोसामा छन् । मनसुन भित्रिए पनि पर्याप्त पानी नपर्दा किसान निराश छन् । रौतहटमा २२ प्रतिशत क्षेत्रमा धान रोपाइँ भइसकेको छ । यही समयमा गत वर्ष ५० प्रतिशत रोपाइँ भएको थियो । गौरस्थित कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष पानी नपरेकाले किसानलाई रोपाइँ गर्न समस्या छ । नहरको पानी र बोरिङबाट खेतमा पानी पटाएर रोपाइँ पनि भएको छ । चर्को घामका कारण धानका बेर्ना खेतमै सुक्न थालेका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्र झाले समयमा वर्षा नहुँदा किसानले धान रोप्न नपाएको बताए । ‘यो समयमा धमाधम रोपाइँ हुनुपर्ने हो,’ उनले भने, ‘एक थोपा पानी परेको छैन । किसान कसरी रोपाइँ गरून् ?’


यहाँका किसानले आकाशेपानी, नहर, बोरिङ, पम्पसेटको मद्दतले रोपाइँ गर्छन् । वाग्मती सिँचाइले छोडेको पानीको भरमा अलिअलि रोपाइँ भएको हो । ज्ञान केन्द्रका अनुसार रौतहटको कुल ३४ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । किसानले पछिल्लो समय मनसुली, कतर्नी, सावित्रीलगायत धानको बीउ रोप्ने गरेका छन् ।


केन्द्रका अनुसार गत वर्ष धानको उत्पादनमा गिरावट आएको थियो । बाढीले खेतीयोग्य जमिनको क्षेत्रफलसमेत घटेको छ । ३९ हजार हेक्टर क्षेत्रफलमध्ये ३४ हजारमा मात्र धान लगाउने गरिएको छ । प्रतिहेक्टर ३.३ टन धान उत्पादन हुने गरेकामा गत वर्ष बाढीका कारण २.९ मा झरेको थियो । समयमा धान रोपाइँ सकियो र मौसमले साथ दियो भने उत्पादन बढ्ने कृषि प्रचार अधिकृत हरिशंकर जयसवालले बताए । ‘समयमा पानी पर्‍यो र डुबान भएन भने उत्पादन बढ्छ,’ उनले भने, ‘यहाँको मुख्य समस्या भनेको खेतीयोग्य जमिन डुबानमा पर्नु नै हो ।’


रौतहटका किसान किशोर थापाका अनुसार पानीकै कारण खेतमा धानको बीउ सुकेको छ । ‘पानी पर्छ र रोपाइँ गरौंला भनेर कुरेको पनि दुई साता भयो,’ उनले भने, ‘पानीकै समस्याले रोपाइँ हुन सकेको छैन ।’


निराश किसान

लामो समयदेखि पानी नपर्दा सर्लाहीका किसान खडेरीको चपेटामा परेका छन् । उखु र मकै डढेर सखाप हुन थालेको छ भने धान रोप्न लगाइएको बीउ पनि सुक्न थालेको छ । दिनभरको चर्को घाम र उच्च तापक्रमका कारण किसानले लगाएको उखु तथा मकै बाली भने सुक्दै गएको हो ।


धान रोप्न राखिएको ब्याड पनि सुक्न थालेको किसानले बताए । कामदार लगाएर भर्खरै गोडमेल गरेका उखु तथा मकै खडेरीका कारण धमाधम सुक्न थालेपछि उनीहरू निराश छन् ।


बीउ हुर्कने बेलामा पानी नपरेर सुक्न थालेको पिपरियाका किसान रामजी साहले बताए । ‘लामो समयदेखि पानी पर्न सकेको छैन, वाग्मती सिँचाइ आयोजनाको पानी पनि समयमा आएन, खेतमा लगाएको उखु र मकै सुक्न थालेको छ,’ उनले भने, ‘धानको ब्याड पनि पानीकै कारण राम्रोसँग जम्न सकेन, जमेको बीउ पनि सुक्दै छ ।’


असार १५ गते किसानहरूले धान दिवस मनाएका थिए । साता बितिसक्दा पनि रोपाइँमा जुट्न सकेका छैनन् । ‘हामी पानीको बाटो कुरिरहेका छौं, पानी नपर्दा यो वर्ष विजोग हुनेभो,’ स्थानीय किसान रवीन्द्र रायले भने, ‘यो वर्ष खडेरीकै सामना गर्नुपर्छ कि जस्तो लागेको छ ।’ जिल्लामा १० प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ । ‘अन्नको भण्डार मानिएको सर्लाहीमा पानी अभावका कारण रोपाइँ गर्न समस्या भएको छ, आकाशेपानी र वाग्मती सिँचाइ आयोजनाले समयमा पानी छोडेको छैन,’ ज्ञान केन्द्रका प्रमुख राजीव यादवले भने । सर्लाहीमा कुल ६४ हजार ८ सय हेक्टर खेतीयोग्य जग्गामध्ये २३ हजार २ सय हेक्टरमा मात्र सिँचाइ सुविधा पुगेको छ ।


(सन्तोष सिंह/धनुषा, शिव पुरी/रौतहट र ओमप्रकाश ठाकुर/सर्लाही)

प्रकाशित : असार २४, २०७६ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?