फोजी विस्तारमा ढिलाइले बजार गुमाउँदै टेलिकम

विजय तिमल्सिना

काठमाडौँ — दूरसञ्चार प्रदायकमध्ये कुल बजार हिस्सामा नेपाल टेलिकम अघि देखिए पनि पछिल्लो प्रविधि फोजी सेवामा भने एनसेलले पकड जमाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार फोजी बजारमा एनसेलले तीन थौचाइ हिस्सा ओगटेको छ ।

फोजी विस्तारमा ढिलाइले बजार गुमाउँदै टेलिकम

फोजी सेवाका कुल ३६ लाख उपभोक्तामध्ये एनसेलको मात्रै २६ लाखभन्दा बढी प्रयोगकर्ता छन् ।प्राधिकरणले सार्वजनिक गरेको वैशाखसम्मको तथ्यांकअनुसार नेपाल टेलिकमका फोजी सेवाका ग्राहक ७ लाख ६२ हजार मात्रै छन् । यो कुल बजारको करिब २१ प्रतिशत हो ।

एनसेलले सक्रिय प्रयोगकर्ता हुने मुख्य सहरहरूमा फोजी सेवा विस्तार गरेको छ । नेपाल टेलिकमको सेवा भने काठमाडौं उपत्यका र पोखरामा मात्रै सीमित छ । टेलिकमले देशैभर फोजी विस्तार गर्ने काम अघि बढाइसकेको भए पनि नयाँ ठाउँमा सेवा विस्तार भइसकेको छैन । एक महिनाको अवधिमा एनसेलले फोजी सेवामा २ लाख ३२ हजारभन्दा बढी ग्राहक थपेको छ । यो अवधिमा टेलिकमले भने जम्मा १८ हजार ५ सय ग्राहक मात्रै थपेको छ । अर्को सेवा प्रदायक स्मार्ट टेलिकमका फोजी सेवा लिनेको संख्या १ लाख ७४ हजार ८ सय छ ।

एक वर्षको अवधिमा एनसेलले आफ्नो फोजी उपभोक्ताको संख्या साढे दुई गुणाले बढाएको छ । गत वैशाखसम्म एनसेलका फोजी प्रयोगकर्ता १० लाख ३८ हजार मात्रै थिए । अहिले यो बढेर २६ लाख नाघेको हो । टेलिकमले भने फोजी सेवामा एक वर्षको अवधिमा जम्मा १ लाख ८८ हजार ग्राहक मात्रै थपेको छ । गत वैशाखसम्म टेलिकमका फोजी ग्राहकको संख्या ५ लाख ७४ हजार थियो ।टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार देशैभर फोजी विस्तारका लागि सामानहरू आपूर्ति भइसकेको छ । टेलिकमले एक वर्षभित्र देशैभर फोजी विस्तारको लागि गत माघ २० गते सम्झौता गरेको थियो ।

फोजी विस्तारका लागि चिनियाँ कम्पनी जेडटीई कोर नेटवर्क र अर्को कम्पनी सीसीएसआई हङकङले रेडियो एक्सेस नेटवर्क विस्तारको काम गर्ने जिम्मेवारी पाएका छन् । प्रवक्ता वैद्यका अनुसार कोर नेटवर्कको काम लगभग सकिएको छ भने रेडियो एक्सेस नेटवर्कका लागि सामानहरू आपूर्तिको काम सकिएको छ । टेलिकमले देशभर ६५ लाख क्षमताको फोरजी एलटीई नेटवर्क विस्तार गर्न लागेको हो ।नेपालमा पहिलोपटक टेलिकमले नै २०७३ पुस १७ गते काठमाडौं र पोखरामा फोजी सञ्चालन गरेको थियो । एनसेलले भने २०७४ जेठबाट फोजी सेवा सुरु गरेको हो ।

फोजी सेवामा एनसेलभन्दा पछि भए पनि टेलिकमल थ्रीजी सेवातर्फ भने ग्राहक आधार हिसाबले अघि छ । एनसेलको थ्रीजी सेवाका उपभोक्ता ४० लाख ६६ हजारमा सीमित हुँदा टेलिकमका थ्रीजी उपभोक्ताको संख्या ६८ लाख ३९ हजार पुगेको छ । इन्टरनेट सेवातर्फ कुल उपभोक्ता आधार पनि टेलिकमको बढी छ ।

टेलिकमका कुल इन्टरनेट उपभोक्ता ८८ लाख ७८ हजार बढी छन् भने एनसेलका कुल इन्टरनेट उपभोक्ता ६७ लाख ४१ हजार छ । एनसेलले इन्टरनेटतर्फ थ्रीजी र फोजी प्रविधिमा आधारित डाटा मात्रै उपलब्ध गराउँछ भने टेलिकमले थ्रीजी र फोजीसहित वाइम्याक्स, इन्टरनेट लिज लाइन, एडीएसएल, फाइबर टु दि होमजस्ता सेवामा पनि ग्राहक बनाएको छ ।

कुल ग्राहक आधारमा पछिल्लो एक वर्षमा टेलिकमले एनसेललाई उछिनेको हो । अघिल्लो वर्ष वैशाखको तथ्यांकअनुसार टेलिकमका कुल इन्टरनेट उपभोक्ता ६० लाख २७ हजारमा सीमित थियो । २०७५ वैशाखको तथ्यांकअनुसार एनसेलका इन्टरनेट सेवाका कुल उपभोक्ता ६१ लख २० हजार बढी थिए ।

कुल इन्टरनेट उपभोक्ताको संख्यामा एनसेललाई उछिने पनि टेलिकमको आम्दानी भने घटदै गएको छ । एनसेल र टेलिकमले पछिल्लोपटक उस्तै अवधिमा सार्वजनिक गरेको त्रैमासिक प्रतिवेदनअनुसार आम्दानीमा टेलिकम पछि परेको छ ।

प्रकाशित : असार २५, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?