पानी दिन कन्जुस्याइँ

गण्डकमा भारतले ४५० क्युसेक मात्र पानी दियो
शंकर आचार्य

पर्सा — भारतले गण्डक नहरमा ४५० क्यूसेक मात्र पानी छाडेको छ । नेपाल र भारतबीचको गण्डक सम्झौताअनुसार ८ सय ५० क्युसेक पानी दिनुपर्नेमा त्यसको झन्डै आधा कम दिएको हो ।

बहुअरीस्थित नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालयका इन्जिनियर सुरेश साहका अनुसार मंगलबारसम्म नहरमा ४५० क्युसेक मात्र पानी आएको छ । पानीका लागि भारतीय पक्षसँग आफूले दैनिक टेलिफोन सम्पर्क गरिरहेको उनले बताए ।


‘भारतमा १०६ आरडीमा नहरको साइफनमा चुहावटको समस्या देखिएको र त्यसको मर्मतसम्भार गरिरहेकाले पानी कम दिएको जवाफ आएको छ,’ सूचना अधिकारीसमेत रहेका साहले भने ।


नहरमा कम पानी आएर आश्रित किसानलाई अपुग भएमा त्यसको जिम्मेवार भारतीय पक्ष नै हुने साहले बताए । डिभिजन कार्यालयले भारतले कम पानी दिएको विषयमा सोमबार सिँचाइ विभागलाई पत्राचार गरेको छ । नहरमा यस वर्ष धान सिजनका लागि असार १४ मै पानी आएको थियो । सोमबारसम्म बाराको पसाहा खोला क्षेत्रसम्म पुगेको छ । यो नहरको शून्य आरडीबाट करिब ३१ किमिको दूरी हो । नहरमा कम पानी आए बाराको पूर्वी भेगसम्म पनि पानी पुर्‍याउन गाह्रो हुने साहले बताए ।


नवलपरासीको भैंसालोटनस्थित नेपाल–भारत सीमामा निर्मित ब्यारेजबाट भारतीय पक्षले पानी छोड्ने गर्छ । भारतसँगको सम्झौताअनुसार बर्सेनि धान सिजनका लागि असार १५ र गहुँ सिजनका लागि पुस १० देखि नहरमा पानी आइसक्नुपर्छ । सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले नेपाललाई गण्डक नहर हस्तान्तरण गरेको थियो । पर्साको जानकीटोलाबाट नेपाल प्रवेश गर्ने र रौतहटको वाग्मतीमा गएर मिसिने नहरलाई पूर्वी नहर भनिन्छ ।


८१ किमि लामो यो नहरले पर्सा, बारा र रौतहटको ३१ हजार ४ सय हेक्टर जग्गा सिञ्चित गर्ने लक्ष्य थियो । तर, भारतबाटै पर्याप्त पानी नछाडिने भएकाले पर्सा र बाराका पूर्वी भेगसम्म मात्र पानी पुग्छ । रौतहटमा पानी पुग्दैन । रौतहटसम्म पानी लग्न हाल बारामा जमुनी सिँचाइ आयोजना निर्माणाधीन छ । जसबाट गण्डक नहरमा पानी झारिनेछ ।

प्रकाशित : असार २५, २०७६ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?