कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

विदेशी केराउ नेपालबाट भारत तस्करी

रवीन्द्र उप्रेती

महोत्तरी — तेस्रो मुलुकबाट आयात गरिएको पहेंलो केराउ (मटर) भन्सार छलेर भारत तस्करी हुने क्रम बढेको छ । यसअघि मरिच, सुपारी र पेट्रोलियम पदार्थ भारत पुर्‍याउने गिरोह नै पछिल्लो समय केराउ तस्करीमा लागेको हो । मरिच, सुपारी र पेट्रोलियम पदार्थको तस्करी भने पछिल्ला दिनमा घटेको छ ।

जलेश्वर भन्सारका अनुसार वैशाख दोस्रो सातादेखि महोत्तरीमा केराउ तस्करी भइरहेको खुलेको छ । असार १५ गतेसम्म भन्सार, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायतले भारत लगिँदै गरेको ९३ बोरा (साढे ४६ क्विन्टल) केराउ नियन्त्रणमा लिएको छ । बरामद केराउको नेपाली बजारमा २ लाख ५५ हजार ७ सय ५० रुपैयाँ मूल्य पर्छ । यो परिमाणको केराउ भारतीय बजारमा पुग्दा मूल्य बढेर ३ लाख ३४ हजार ८ सय रुपैयाँसम्म पुग्छ ।


भारतीय बजारमा केराउको माग र मूल्य उच्च छ । सीमावर्ती भारतीय बजार भिट्ठामोडका किराना व्यापारी रोहित कुमारका अनुसार अहिले भारतीय बजारमा पहेलो केराउ प्रतिकिलो ४५ रुपैयाँ भारु (नेरु ७२ रुपैयाँ) पर्छ । सीमावारिको नेपाली बजारमा यही केराउ प्रतिकिलो ५५ रुपैयाँमा बिक्री भइरहेको नेपाली व्यापारी विमल साहले जानकारी दिए । ‘किलोमा १७ रुपैयाँ अन्तर परेपछि ‘यताको माल उता’ हुने नै भयो,’ उनले भने । स्रोतका अनुसार तेस्रो मुलुक युक्रेन र क्यानाडाबाट आयात गरिएका केराउको तस्करी विराटनगरलगायतका पूर्वी नाकाबाट हुँदै आएको थियो । उता कडाइ हुन थालेपछि सुरक्षित नाका पहिल्याउँदै तस्कर महोत्तरीसम्म पुगेका छन् ।


अहिलेसम्म नैनही, खयरा र मरुवाही नाकाबाट मात्र केराउ तस्करी भएको पाइएको छ । दुवै नाका जलेश्वर नगरपालिकाकाभित्र पर्छन् । जलेश्वर भन्सार प्रमुख केशव भण्डारीका अनुसार अहिलेसम्म सशस्त्र प्रहरीको भन्सार तथा राजस्व गुल्मले सातपटक, भन्सार गस्तीले छपटक, नेपाल प्रहरीले दुई र सशस्त्र गस्तीले एक गरी १६ पटक केराउ बरामद गरेको छ । ती सबै केराउ नैनही र मरुवाही नाकाबाट साइकल र मोटरसाइकलबाट भारत लगिँदै गरेको अवस्थामा बरामद भएको भण्डारीले बताए ।

प्रकाशित : असार २५, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?