केराको औसत उत्पादन दोब्बर

गणेश चौधरी

(कैलाली) — टीकापुरमा केराको औसत उत्पादन दोब्बर पुगेको छ । राष्टिय औसत उत्पादन प्रतिहेक्टर १५ टन भए पनि टीकापुरमा भने प्रतिहेक्टर ३५ टन पुगेको छ ।

केराको राम्रो बीउ र जात, थोपा सिँचाइ प्रविधि र किसानको राम्रो अभ्यासका कारण टीकापुरमा केराको उत्पादन बढेको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको कृषि तर्फको कार्यालयका प्रमुख भरत कँडेलले बताए । ‘बगैंचा तथा मलखादको व्यवस्थापन राम्रो बनाउन सके यहाँ प्रतिहेक्टर ५० टन केरा उत्पादन गर्न सकिन्छ,’ उनले भने ।

पछिल्लो समय टीकापुरका केरा किसान सबैले थोपा सिँचाइ प्रविधि अपनाएका छन् । नेपालमा झोल मल उपलब्ध छैन । दाना मल पानीमा राम्रोसित नघोलिँदा सिफारिसअनुसार सबै बोटले मल पानी नपाएकाले उत्पादन केही कम हुन गएको प्रमुख कँडेलले बताए ।

उनका अनुसार सरकारले झोल मल आयात गरेको छैन । केरा खेतीमा थोपा सिँचाइ प्रविधि प्रयोगमा ल्याएका किसानले झोल मल नभएर दानालाई पानीमा घोलेर प्रयोग गर्ने गरेका छन् ।

दाना मल पानीमा राम्रोसित नघोलिँदा पानी र मल दुवैको मात्रा केराको बोटलाई कम हुन जाने गरेको छ । केरा खेतीका लागि झोल मल नभई नहुने भएकाले औपचारिक तथा अनौपचारिक रूपमा झोल मल आयातका लागि कुरा गरिरहेको कँडेलले बताए ।

केरा खेतीमा आएको नवीनतम प्रविधिसँगै केरा खेतीतर्फ यहाँका किसान आकर्षित भएका छन् । केरा खेती विस्तार हुँदै गएपछि टीकापुर केराको हब बन्न थालेको छ । रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको कमान्ड एरियामा करिब ६ सय बढी हेक्टर क्षेत्रफलमा केरा खेती भएको आयोजनाले जनाएको छ ।

रानी–जमरा–कुलरिया कुलो सिँचाइ आयोजनाको सहयोगमा केरा खेती विस्तार हुँदै गएपछि केरा किसान टेकेन्द्र धामीले टिस्यु कल्चर प्रविधिबाट विलियम हाइब्रिड र जी ९ जातको केराको बेर्ना उत्पादन गरिरहेका छन् । उनले भने, ‘यो ठाउँका लागि यही केराको बेर्ना माग बढी छ ।’

टिस्यु कल्चरबाट उत्पादित बेर्नाबाट लगाइएको केरामा रोग कम लाग्ने र ठूला परिमाणमा खेती गर्नका लागि ढुवानी पनि सजिलो हुने र प्रत्येक बोटले उत्पादन पनि सँगै दिने किसानहरू बताउँछन् । यो प्रविधिबाट उत्पादित केरा बेच्न पनि सजिलो हुने कोओर्डिनेटर कँडेलले बताए । ‘टिस्यु कल्चरबाट उत्पादित बेर्नाको माग बढदै गएको छ,’ उनले भने ।

अरू खेतीभन्दा सजिलो पनि भएको र फाइदा पनि बढी हुने भएकाले अन्नबालीभन्दा केरा खेतीमा लागेको केरा किसानहरू बताउँछन् । केरा फलका रूपमा मात्र नभई यसबाट विभिन्न खाले परिकार पनि बन्ने र यसबाट बनेका परिकारले आन्तरिक तथा बाह्य पर्यटक तान्दै गएपछि बजार समस्या नहुँदा किसानहरू यो खेतीमा आकर्षित हुँदै गएका हुन् । केरा खेतीबाट राम्रो आम्दानी हुने भएपछि अधिकांश व्यावसायिक किसानले जग्गा भाडामा लिएर केरा खेती गरेका छन् ।

यहाँको केरा छिमेकी जिल्लाहरू बर्दिया, बाँके, दाङ र बुटवललगायतका ठाउँमा जाने गरेको छ । नेपालमा करिब ५० प्रतिशत केरा भारतबाटै आउने भएकाले आयात रोकी केरामा आत्मनिर्भर बनाउन सहयोग होस् भनेर टीकापुरलाई केराको हबका रूपमा विकास गरिँदै छ ।

प्रकाशित : असार २६, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्

अलैंचीको व्यवसायीकरण हुन सकेन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा अलैंचीको उत्पादन राम्रो भए पनि व्यावसायीकरण हुन नसकेको विज्ञले बताएका छन् । बुधार राजधानीमा आयोजित आयोजित एक कार्यक्रममा विज्ञले उत्पादनमा जस्तै बजार प्रवर्द्धनमा जोड दिनुपर्ने बताएका हुन् ।

‘नेपाल अलैंची उत्पादनको क्षेत्रमा विश्वमै अग्रणी स्थानमा छ । उत्पादनको अनुपातमा यसको व्यवसायीकरण हुन सकेको छैन,’ राष्ट्र संघीय खाद्य तथा कृषि संगठनका कार्यक्रम अधिकृत अर्जुन थापाले भने । हाल परम्परागत शैलीमै उत्पादन भइरहेको, कुन जातको कस्तो माटोमा रोप्ने, कति रोप्ने भनी अध्ययन हुन नसकेको उनले बताए ।

‘प्रविधिको प्रयोग गरेर आधुनिक ढंगबाट यसको उत्पादनमा लाग्ने हो भने नेपालले यस क्षेत्रबाट प्रशस्त लाभ लिन सक्छ,’ उनले भने, ‘अलैंचीमा रोग लाग्ने समस्याले पनि यसको उत्पादनमा प्रभाव पारेको छ, उत्पादनका सम्बन्धमा अनुसन्धान हुनु पनि आवश्यक देखिएको छ ।’

नेपाल, भुटान र भारतमा उत्पादित अलैंचीले विश्व बजारमा राम्रो मूल्य पाइरहेका र यी मुलुकहरूले आपसी समन्वय गरेर उत्पादनमा लागे किसानहरू थप लाभान्वित हुने पनि छलफलमा बताइएको थियो । दक्षिण एसियाली मुलुकमा अलैंची खेतीको विकास र सम्भाव्यताबारे विश्व बैंकको आयोजनामा छलफल भएको हो ।

कार्यक्रममा दक्षिण एसियाली मुलुकका लगानीकर्ताले अलैंचीको बजारीकरणमा विशेष गरी महिला उद्यमीको भूमिकाबारे छलफल गरेका थिए । अलैंची खेतीबाट नेपालको ताप्लेजुङ जिल्लाका महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर बन्दै गएको प्रस्तुति कार्यक्रममा गरिएको थियो ।

प्रकाशित : असार २६, २०७६ ०९:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्