विद्युत् अभावमा गौतम बुद्ध विमानस्थलको निर्माण कार्य प्रभावित

माधव ढुंगाना

(भैरहवा) — चौबीसै घन्टा विद्युत् उपलब्ध नहुँदा आगामी डिसेम्बरसम्म सञ्चालनको तयारी भइरहेको यहाँस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना समस्यामा पर्न थालेको छ । डेडिकेटेड विद्युत् लाइन अभावमा आयोजनाको निर्माण कार्य प्रभावित हुन थालेको हो ।

आयोजनास्थलमा त्यस्तो विद्युत् कहिलेसम्म उपलब्ध हुने भन्ने यकिन छैन ।

आयोजनास्थलमा डेडिकेटेड विद्युत् लाइन पुर्‍याउन आवश्यक पोललगायतका संरचना निर्माण गरिएको छैन । विद्युत् प्राधिकरण र भैरहवा–लुम्बिनी–तौलिहवा सडक आयोजनाले यसबारे चासो देखाएका छैनन् ।

‘आयोजनास्थलमा डेडिकेटेड विद्युत् लाइन समयमा उपलब्ध गराइदिन बारम्बार अनुरोध गर्दासमेत कार्यान्वयनका लागि ध्यान पुग्न सकेको छैन,’ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले भने, ‘लाइन अभावले आयोजनाको काम प्रभावित हुन थालेको छ । समस्या आउन थालेको छ ।’ आयोजनाका बाँकी काम उपकरण जडानसँग सम्बन्धित रहेकाले विद्युत् अपरिहार्य भएको उनले बताए ।

डेडिकेटेड विद्युत् लाइन जडानका लागि विमानस्थल आयोजनाले ०७३ पुस २५ गते विद्युत् प्राधिकरणको बैंक खातामा ४ करोड १४ लाख २१ हजार रुपैयाँ जम्मा गरिसकेको छ । रकम जम्मा गरेको यतिका समय बित्दा पनि लाइन जडानका लागि चासो नदेखाएको उनले बताए ।

त्यसपछि पटक–पटक पत्राचार र टेलिफोन सम्पर्क गरेर जडानका लागि अनुरोध गर्दै आएको अधिकारीले जनाए । प्राधिकरणले सडक किनारामा पोल गाड्ने जिम्मा भैरहवा–लुम्बिनी–तौलिहवा सडक योजनाको भएको दाबी गर्दै आएको छ । पोल गाडेपछि मात्र विद्युत् जडान गरिदिने जवाफ दिँदै आएको छ । सडक विस्तारका क्रममा पोल हटाइएको थियो । पोल गाड्ने जिम्मेवारी सडक योजनाको हो ।

विद्युत् प्राधिकरण भैरहवा वितरण शाखाका प्रमुख उमेश झाले आयोजनास्थलसम्म पोल गाड्ने र पोलभन्दा माथिको हाइटेन्सन लाइन तान्ने काम सडक योजनाको भएको बताए । त्यो काम पूरा हुनासाथ डेडिकेटेड फिडर तानिने उनले बताए । ‘पटक–पटक सडक योजनालाई ताकेता गर्दा पनि पोल गाड्ने र तार तान्ने काम भएको छैन,’ प्रमुख झाले भने, ‘ताकेता गरेपछि साता–१५ दिनमा गर्ने भन्छन् । महिनौं बित्दा पनि प्रगति हुन सकेको छैन ।’ सडक योजनाले आफ्नो जिम्मेवारीको काम पूरा गरेको तीन साताभित्र डेडिकेटेड लाइन जडानको काम सकिने उनले बताए ।

प्राधिकरणको खातामा रकम जम्मा गरेपछि पनि काम अगाडि नबढेपछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सरोकारवाला निकायको बैठक बसेर काम छिटो गर्ने सहमति भएको थियो । ११ केभी क्षमताको डेडिकेटेड लाइन जडानका लागि विमानस्थलमा ट्रान्सफर्मर आइसकेको छ । विद्युत् जडान नहुँदा विगतमा विमानस्थल आयोजनाका ठेकेदारले २० लाख रुपैयाँको डिजेल खरिद गरी निर्माण कार्य गर्नुपरेको थियो ।

आयोजना प्रमुख अधिकारीले डेडिकेटेड लाइन अभावले विमानस्थल परिसरभित्र दोस्रो ठेक्काअन्तर्गत पावर सप्लाईको काम र कनेक्सन गर्न नसकिएको बताए । जसका कारण उपकरण जडान गर्न समस्या भइरहेको छ । पावर स्टेसनको निर्माण, वायरिङ, परीक्षणका काम रोकिएका छन् । दोस्रो ठेक्का विभिन्न मेसिनरी उपकरण जडानसँग सम्बन्धित छ ।

जसले भीओआर/डीएमई उपकरण, कन्ट्रोल टावरमाथि राख्ने उपकरण, मौसम पूर्वानुमान उपकरण, वारुणयन्त्रमा आवश्यक पर्ने लगायतका उपकरण जडान गर्नुपर्ने हुन्छ । सडक योजनाका प्रमुख प्रदीपराज शाक्यले भैरहवास्थित लुम्बिनी गेट आसपास केही स्थानीयले घरअगाडि पर्ने भन्दै पोल गाडन नदिएकाले कामलाई निरन्तरता दिन नसकिएको बताए ।


प्रकाशित : असार २६, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्

केराको औसत उत्पादन दोब्बर

गणेश चौधरी

(कैलाली) — टीकापुरमा केराको औसत उत्पादन दोब्बर पुगेको छ । राष्टिय औसत उत्पादन प्रतिहेक्टर १५ टन भए पनि टीकापुरमा भने प्रतिहेक्टर ३५ टन पुगेको छ ।

केराको राम्रो बीउ र जात, थोपा सिँचाइ प्रविधि र किसानको राम्रो अभ्यासका कारण टीकापुरमा केराको उत्पादन बढेको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको कृषि तर्फको कार्यालयका प्रमुख भरत कँडेलले बताए । ‘बगैंचा तथा मलखादको व्यवस्थापन राम्रो बनाउन सके यहाँ प्रतिहेक्टर ५० टन केरा उत्पादन गर्न सकिन्छ,’ उनले भने ।

पछिल्लो समय टीकापुरका केरा किसान सबैले थोपा सिँचाइ प्रविधि अपनाएका छन् । नेपालमा झोल मल उपलब्ध छैन । दाना मल पानीमा राम्रोसित नघोलिँदा सिफारिसअनुसार सबै बोटले मल पानी नपाएकाले उत्पादन केही कम हुन गएको प्रमुख कँडेलले बताए ।

उनका अनुसार सरकारले झोल मल आयात गरेको छैन । केरा खेतीमा थोपा सिँचाइ प्रविधि प्रयोगमा ल्याएका किसानले झोल मल नभएर दानालाई पानीमा घोलेर प्रयोग गर्ने गरेका छन् ।

दाना मल पानीमा राम्रोसित नघोलिँदा पानी र मल दुवैको मात्रा केराको बोटलाई कम हुन जाने गरेको छ । केरा खेतीका लागि झोल मल नभई नहुने भएकाले औपचारिक तथा अनौपचारिक रूपमा झोल मल आयातका लागि कुरा गरिरहेको कँडेलले बताए ।

केरा खेतीमा आएको नवीनतम प्रविधिसँगै केरा खेतीतर्फ यहाँका किसान आकर्षित भएका छन् । केरा खेती विस्तार हुँदै गएपछि टीकापुर केराको हब बन्न थालेको छ । रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको कमान्ड एरियामा करिब ६ सय बढी हेक्टर क्षेत्रफलमा केरा खेती भएको आयोजनाले जनाएको छ ।

रानी–जमरा–कुलरिया कुलो सिँचाइ आयोजनाको सहयोगमा केरा खेती विस्तार हुँदै गएपछि केरा किसान टेकेन्द्र धामीले टिस्यु कल्चर प्रविधिबाट विलियम हाइब्रिड र जी ९ जातको केराको बेर्ना उत्पादन गरिरहेका छन् । उनले भने, ‘यो ठाउँका लागि यही केराको बेर्ना माग बढी छ ।’

टिस्यु कल्चरबाट उत्पादित बेर्नाबाट लगाइएको केरामा रोग कम लाग्ने र ठूला परिमाणमा खेती गर्नका लागि ढुवानी पनि सजिलो हुने र प्रत्येक बोटले उत्पादन पनि सँगै दिने किसानहरू बताउँछन् । यो प्रविधिबाट उत्पादित केरा बेच्न पनि सजिलो हुने कोओर्डिनेटर कँडेलले बताए । ‘टिस्यु कल्चरबाट उत्पादित बेर्नाको माग बढदै गएको छ,’ उनले भने ।

अरू खेतीभन्दा सजिलो पनि भएको र फाइदा पनि बढी हुने भएकाले अन्नबालीभन्दा केरा खेतीमा लागेको केरा किसानहरू बताउँछन् । केरा फलका रूपमा मात्र नभई यसबाट विभिन्न खाले परिकार पनि बन्ने र यसबाट बनेका परिकारले आन्तरिक तथा बाह्य पर्यटक तान्दै गएपछि बजार समस्या नहुँदा किसानहरू यो खेतीमा आकर्षित हुँदै गएका हुन् । केरा खेतीबाट राम्रो आम्दानी हुने भएपछि अधिकांश व्यावसायिक किसानले जग्गा भाडामा लिएर केरा खेती गरेका छन् ।

यहाँको केरा छिमेकी जिल्लाहरू बर्दिया, बाँके, दाङ र बुटवललगायतका ठाउँमा जाने गरेको छ । नेपालमा करिब ५० प्रतिशत केरा भारतबाटै आउने भएकाले आयात रोकी केरामा आत्मनिर्भर बनाउन सहयोग होस् भनेर टीकापुरलाई केराको हबका रूपमा विकास गरिँदै छ ।

प्रकाशित : असार २६, २०७६ ०९:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्