१३ करोडको अकबरे खुर्सानी उत्पादन

चन्द्र कार्की

तेह्रथुम — व्यावसायिक अकबरे खुर्सानी खेतीमा लागेका जिल्लाका किसान यो वर्ष मूल्य नपाउँदा निराश बनेका छन् । खुर्सानी किसानले गत वर्षको जस्तो यो वर्ष मूल्य पाउन सकेका छैनन् । उत्पादन र क्षेत्रफल बढे पनि मूल्य भने गत वर्षको जति नपाएको किसानको गुनासो छ । 

कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष जिल्लाबाट १२ करोड ४८ लाख रुपैयाँभन्दा बढीको अकबरे खुर्सानी जिल्ला बाहिर पठााइएको थियो । यो वर्ष किसानले खुर्सानी खेती हुने क्षेत्रफल बढाएका कारण उत्पादन पनि बढेको छ । किसानले मूल्य भने कम पाएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ ।

यो वर्ष १३ करोड रुपैयाँ बराबरको खुर्सानी जिल्ला बाहिर पठाउने लक्ष्य भए पनि मूल्य कम भएकाले लक्ष्य पूरा हुनेमा शंका देखिएको ज्ञान केन्द्रका प्राविधिक रामजुगन यादवले बताए ।

खुर्सानी उत्पादन हुनेमध्ये सिजनमा मूल्य घटेको छथर गाउँपालिका सुदापकी खुर्सानी किसान यनादेवी खड्काले बताइन् । ‘खुर्सानी धेरै फल्यो,’ खड्काले भनिन्, ‘मूल्य भने पोहोरको जति पनि पाइएन ।’

अलैंची र अदुवापछि जिल्लाको प्रमुख नगदेबालीका रूपमा खेती हुने अकबरे खुर्सानीको बिरुवा, फल र बियाँ बिक्री गरेर किसानले प्रत्येक वर्ष आम्दानी बढाउँदै लगेका थिए । उत्पादित अर्गानिक अकबरे खुर्सानीको माग भारतीय बजारबाट समेत आउन थालेपछि किसान यसको व्यावसायिक खेतीतर्फ लागेका थिए ।

भारतबाट माग कम आएको र नेपालका आन्तरिक बजारमा खपत हुन नसक्दा मूल्य घटेको फेदाप गाउँपालिका ओयाक्जुङका खुर्सानी किसान मालती जोगीले बताइन् । गत वर्ष जिल्लामा ३२५ टन खुर्सानी उत्पादन भएको केन्द्रको तथ्यांक छ । उत्पादित खुर्सानी पूर्वी तराई हुँदै बिर्तामोड र जोगबनी नाका भएर भारतका सिलगुढी, दार्जिलिङ, सिक्किम, कालेङपोङ, मेघालयलगायतका भारतीय बजारमा निर्यात हुने गरेको छ । यो वर्ष त्यताबाट माग कम आएको किसानको भनाइ छ ।

पछिल्लो समय हङकङ, सिंगापुर लगायत मुलुकमा बस्ने नेपालीले पनि अकबरे खुर्सानीको खपत बढाएका छन् । स्थानीय बजारमा गत वर्ष प्रतिकेजी ४ सयदेखि ५ सय रुपैयाँसम्ममा बिक्री भएको खुर्सानी यो वर्ष मूल्य घटेर २ सय ५० देखि ३ सय रुपैयाँमा मात्र बिक्री भइरहेको छ ।

यहाँका दुई नगरपालिका र चारवटै गाउँपालिकामा अकबरे खुर्सानीको व्यावसायिक खेती हुने गरेको छ । कार्यालयका अनुसार उत्पादित खुर्सानीमध्ये करिब ४५ प्रतिशत पूर्वका विभिन्न बजार हुँदै भारतीय बजारतर्फ निर्यात हुने गरेको छ । पर्याप्त सिँचाइ सुविधा नभएको जमिनमा समेत खुर्सानी खेती गर्न सकिने र थोरै जमिनमा पनि राम्रो आम्दानी हुने भएकाले अकबरे खुर्सानी खेतीप्रति किसानको आकर्षण बढदै गएको केन्द्रले जनाएको छ ।

पिरो प्रजातिका ६ देखि ७ प्रकारका खुर्सानी यहाँ खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । ठुल्लो डल्ले, सानो डल्ले, गोलो लाम्चे, चिप्लो लाम्चेलगायतका आकारका अबकरे खुर्सानी किसानले खेती गर्दै आएका छन् । हावापानीको हिसाबले १ हजारदेखि १ हजार ९ सय मिटरको उचाइसम्म अकबरे खुर्सानी खेती गर्न सकिने प्राविधिकहरूको भनाइ छ । कम मिहिनेत, लगानी र क्षेत्रफलमा पनि धेरै उत्पादन गर्न सकिने भएकाले व्यावसायिक अकबरे खुर्सानी खेतीमा लागेको म्याङलुङ नगरपालिका आम्बुङका खुर्सानी किसान चन्द्रकुमार श्रेष्ठले बताए ।

प्रकाशित : असार २७, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्

विषादी जाँचेर मात्रै भन्सार पास

माधव ढुंगाना

भैरहवा — विषादी जाँच गरेर मात्रै भारतबाट आयातित तरकारी तथा फलफूल भन्सार जाँचपास गर्न थालिएको छ । भन्सार विन्दुहरूमा विषादी परीक्षण रोक्ने सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेश दिएपछि पुनः परीक्षण थालिएको हो ।

केही दिनअघि सरकारले पर्याप्त प्रयोगशाला नभएको जनाउँदै सोझै आउन दिने निर्णय गरेको थियो । त्यसपछि सुनौली–भैरहवा नाकाबाट परीक्षणबिनै तरकारी तथा फलफूल नेपाल भित्रिएका थिए ।

अदालतको अन्तरिम आदेशपछि सुनौली–भैरहवा नाकाबाट आयात गरिने तरकारी तथा फलफूलको बुटवल थोक हाटबजारस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईमा जाँच गर्न सुरु गरिएको छ । अदालतको आदेशपछि विषादी परीक्षण सुरु गरिएको बेलहियास्थित क्वारेन्टाइन कार्यालयका प्रमुख विष्णुप्रसाद काफ्लेले जानकारी दिए ।

‘सर्वोच्चको आदेशपछि हामीले व्यवसायीलाई बुटवलमा रहेको जाँच इकाईबाट परीक्षण गरेर रिपोर्ट ल्याउन भनेका छौं,’ उनले भने, ‘रिपोर्ट नआउँदासम्म तरकारी तथा फलफूलका गाडी यहीँ रोकिन्छन् ।’

व्यवसायीले परीक्षण रिपोर्ट ल्याएपछि त्यसैका आधारमा गाडी पास हुने उनले बताए । भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलले सर्वोच्चको आदेशअनुसारै जाँच गरेर विषादी नभएको रिपोर्ट ल्याएपछि मात्रै गाडी भन्सारबाट पठाउने बताए । ‘सर्वोच्चको आदेशलगत्तै विषादी परीक्षणका आधारमा मात्रै तरकारी तथा फलफूलका गाडी भन्सार पास गर्नु भनेर विभागबाट निर्देशन आएको छ,’ पौडेलले भने ।

बिहीबार साँझसम्म विषादी जाँच गरिएका करिब ५० वटा गाडी भन्सार पास भएको पौडेलले जानकारी दिए । बेलहिया नाकामा विषादी परीक्षण इकाई छैन । बुटवलको उक्त इकाईमा प्रदेश सरकारले एकजना प्राविधिक कर्मचारी खटाएपछि बुधबारदेखि परीक्षण सुरु भएको छ ।

बुटवलमै विषादी परीक्षण इकाई सञ्चालन भएपछि आयातकर्ता खुसी छन् । यसले जाँच गर्नुपरे पनि काठमाडौं धाउनुपर्ने बाध्यता हटेको व्यवसायीले बताए । काठमाडौं परीक्षण गर्न जाँदा लागतसमेत बढ्ने गरेको थियो ।

बुटवलमै जाँच सुरुपछि व्यवसायीलाई सहज भएको छ । उनीहरूले सीमा नाकामै परीक्षण इकाई स्थापना गर्नुपर्ने माग गरेका छन् । यस नाकाबाट आव ०७४/७५ मा ९ करोड ७१ लाख रुपैयाँको ताजा तरकारी, ७१ करोड ४ लाख रुपैयाँको फलफूल, १ अर्ब ८४ करोड ३९ लाख रुपैयाँको आलु र १ अर्ब ४८ करोड ८३ लाख रुपैयाँ मूल्यको प्याज आयात भएको थियो ।

प्रकाशित : असार २७, २०७६ ०९:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्