१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

सुन आयात रोकियो, बैंकमै थुप्रियो ६ सय किलो

यज्ञ बञ्जाडे

काठमाडौँ — स्टकमा रहेको सुन बिक्री हुन छोडेपछि विवाहको सिजन मानिने असार महिनामै वाणिज्य बैंकहरूले सुन आयात रोकेका छन् । बैंकहरूमा ६ सय किलोभन्दा बढी सुन थुप्रिन थालेपछि असार २० गतेदेखि कुनै पनि बैंकले सुन आयात नगरेको बैंकर्स संघले जनाएको छ । अनौपचारिक माध्यमबाट भित्रिएको सुन बजारमा छ्यापछ्यप्ती भएपछि बैंकको सुन बिक्री नभएको विज्ञहरू बताउँछन् ।

सुन आयात रोकियो, बैंकमै थुप्रियो ६ सय किलो

गत जेठ १५ देखि सुनको बिक्रीमा कमी आए पनि पछिल्ला दिनमा ठप्प भएको बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले बताए । ‘करिब एक महिनादेखि सुन बिक्री भएको छैन,’ उनले भने, ‘असार २० सम्म स्टकमा ६७२ किलो सुन थुप्रिएपछि आयात रोकिएको छ ।’ हाल स्टकमा रहेको सुन वर्षकै सबैभन्दा धेरै भएको उनले बताए । विवाहको सिजनमा सुनको माग बढ्नुपर्नेमा झन घटदै गएकाले शंका उत्पन्न भएको उनको भनाइ छ ।


‘जेठ १० गते स्टकमा ९० किलो सुन थियो, १७ मा ७५ किलो पुग्यो, असार १५ मा आउँदा ५९० किलो हुँदै २० सम्म ६७२ किलो पुगेको छ,’ उनले भने, ‘अब यो सुन बिक्री नहुँदासम्म आयात गरिँदैन ।’


बजारमा गैरकानुनी बाटो बाट सुन भित्रिने क्रम बढेपछि बैंकहरूको सुन बिक्न छोडेको बैंकरहरूको अनुमान छ । सुनचाँदी व्यवसायीले बजारमा सुनको माग नै घटेपछि बैंकको सुन बिक्री नभएको बताएका छन् । यसपालि सुनको मूल्य बढेर हालसम्मकै उच्च प्रतितोला ६५ हजार ५ सय रुपैयाँ पुगेपछि माग घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।


‘अहिले बजारमा अनौठो प्रवृत्ति देखियो,’ उनले भने, ‘विवाहको सिजनमा पनि विगतका वर्षभन्दा ७५ प्रतिशतले सुनको माग घटेको छ ।’ यसअघिका असारको तुलनामा अहिले २५ प्रतिशत मात्र सुन कारोबार भएको उनको दाबी छ । ‘नयाँ सुनको माग नै छैन, बरु पुराना गरगहनाको बिक्री बढेको छ,’ उनले भने, ‘अघिल्ला असार महिनामा दैनिक ४० देखि ४५ प्रतिशतसम्म सुनको माग हुँदै आएको थियो ।’ हाल दैनिक १० देखि १२ किलो मात्र सुन माग रहेको उनले दाबी गरे । बिहीबारका लागि प्रतितोला सुनको मूल्य ६४ हजार ७ सय तय भएको छ ।


व्यवसायीहरूले सुनको माग नभएको भनिरहँदा सुनचाँदी व्यवसायी महासंघले भने सुनको आयातको कोटा बढाउन र आफूहरूले पनि सुन आयात गर्न पाउने व्यवस्था गर्न माग गरेका छन् । आगामी मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई सुझाव दिने क्रममा महासंघले यस्तो माग गरेको हो ।


पछिल्लो समयमा चीन र अमेरिका, भारत र अमेरिकाबीच देखिएको व्यापार युद्धका कारण घरेलु बजारमा सुनको मूल्य घट्ने सम्भावना कम रहेको जानकारहरू बताउँछन् । सुनको मूल्य अकासिएको मौका पारेर गैरकानुनी बाटोबाट सुन भित्रिने क्रम बढेको स्रोतले बताएको छ । सोही सुन बजारमा आएपछि बैंकहरूको सुन बिक्री हुन छोडेको उनीहरूको भनाइ छ ।


हाल वाणिज्य बैंकले मात्र सुन आयात गर्न पाउने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार २२ वटा वाणिज्य बैंकहरूले आलोपालोअनुसार दैनिक २० किलोका दरले सुन आयात गर्दै आएका छन् । यसको व्यवस्थापन बैंकर्स संघले गर्छ ।


नेपालमा प्रभावकारी नियमन हुन नसकेकाले उपभोक्ता मर्कामा परेको जानकारहरू बताउँछन् । सुन आयातयोग्य वस्तु भएकाले त्यसको मूल्य अन्तर्राष्ट्रिय बजारअनुसार नै समायोजन हुने तर सो अनुसार तत्कालै नेपालमा मूल्य समायोजन हुन नसक्नु, ठूलो परिणाममा अनौपचारिक अर्थतन्त्र रहनुलगायत कारण सुन बजारमा समस्या देखिएको उनीहरूको भनाइ छ ।

प्रकाशित : असार २७, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?