कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विषादी प्रयोगशाला उद्‍घाटनमै सीमित

प्रतीक्षा काफ्ले

(स्याङ्जा) — गण्डकी सरकारले प्रदेश राजधानी भित्रिने नाकामा तरकारी परीक्षण गर्न विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला स्थापना गर्‍यो । गल्याङ नगरपालिका–१ राम्दीमा गत चैत १४ मा प्रयोगशाला स्थापना भए पनि परीक्षण उपकरण नै छैनन् ।

विषादी प्रयोगशाला उद्‍घाटनमै सीमित

प्राविधिक बिहान कार्यालय आउने र साँझ फर्किने गरेका छन् ।


गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता माधव लम्सालले त्यहाँ कार्यरत प्राविधिक कर्मचारी बिहान आउने र कार्यालय समय सकिएपछि घर जाने मात्र काम भएको बताए । खाद्य, पशु र कृषिको गुणस्तर परीक्षण गर्ने उद्देश्यले चेकपोस्टका रूपमा स्थापना गरिएको उल्लेख गर्दै उनले हालसम्म कार्यालय उद्घाटन गरेर मात्रै राखिएको बताए । यस्तो प्रयोगशाला तनहुँको खैरेनीटारमा पनि स्थापना गरिएको छ तर सञ्चालनमा छैन । कार्यालय उद्घाटन गरिए पनि उपकरण पठाउन नसकिएको लम्सालले बताए ।


‘विषादी जाँच्ने उपकरण टेन्डरमार्फत खरिद गरी ल्याइसकेका छौं । तनहुँको आँबुखैरेनीमा राखिएको छ,’ लम्सालले भने, ‘उपकरण छिट्टै राम्दी पठाउनेछौं ।’


प्रयोगशालाका कर्मचारीलाई पहिलो चरणमा तालिम दिने व्यवस्था मन्त्रालयले गरेको छ । कार्यालयमा अधिकृत, सहायकस्तर र कार्यालय सहयोगी गरी सात कर्मचारी रहने भए पनि अहिले प्राविधिक र कार्यालय सहयोगी मात्र छन् । उनीहरूलाई पहिलो चरणमा तालिम दिएपछि मात्र नमुना लिएर परीक्षण गर्न लगाउने योजना तय भएको लम्सालको भनाइ छ ।


विषादी परीक्षण क्रममा सही भेटिए भित्र्याउने र मापदण्डविपरीत भएमा सीमामै रोक लगाउने उनले बताए । हाल परीक्षण सुरु नगरिएकाले रोक भने लगाइएको छैन । मन्त्रालयका अनुसार आगामी साउन वा भदौबाट कार्यान्वयनमा जानेछ । ‘बाहिरबाट आएकालाई परीक्षण गर्ने र जिल्लाभित्र उत्पादन भएकालाई के गर्ने भन्ने प्रश्न उठिरहेको छ,’ लम्सालले दोहोर्‍याए, ‘जिल्लामा उत्पादन भएर मापदण्ड पूरा नभएकालाई पनि रोक लगाउने नीति मन्त्रालयको छ । पोखराको शान्तिवनस्थित होलसेल मार्केट वा मालुङगामा लैजान सकिन्छ ।’


विषादी प्रयोग न्यूनीकरणमा प्रचारप्रसार गर्न कृषक पाठशाला सञ्चालन गरिने, कृषक, व्यवसायी, उपभोक्तालगायतलाई तालिम वा सचेतना कार्यक्रम लागू गर्ने मन्त्रालयको योजना छ । मन्त्रालयले चालु आर्थिक वर्षमा १ करोड रकम विनियोजन गरेको छ । उक्त रकमले कार्यालय व्यवस्थापन, फर्निचर खरिद, मेसिनरी औजार खरिद तथा घर भाडालगायतमा खर्च गरेको मन्त्रालयले बताएको छ । प्रवक्ता लम्सालका अनुसार कृषि ज्ञान केन्द्र, बाली संरक्षण प्रयोगशालाबाट पनि सहयोग हुने भएकाले तत्काल बजेट विनियोजन नभएको हो ।


स्याङ्जाको गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेले राम्दीमा स्थापना गरिएको विषादी परीक्षण प्रयोगशालाबारे कसैलाई पनि जानकारी नभएको बताए । कार्यालय उद्घाटन गरेर छाडिएको र हालसम्म कुनै काम नभएकाले यस विषयमा स्थानीयसमेत अनभिज्ञ रहेको जनाउँदै उनले कार्यालय स्थापनाका लागि १९ रोपनी जग्गा खरिद गरिएको बताए ।


प्रकाशित : असार २८, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?