कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

देश फर्किएर उद्यम गर्नेलाई पुरस्कार 

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै उद्यम गर्ने ६ जनालाई आइतबार राष्ट्रिय उद्यमी पुरस्कार प्रदान गरेको छ ।

देश फर्किएर उद्यम गर्नेलाई पुरस्कार 

विदेशमा सिकेको सीप, पुँजीलाई सदुपयोग गरी उद्यम गर्नेहरूमध्येबाट छनोट गरी पुरस्कृत गरिएको हो । निजगढ, बाराका नवराज पौडेलले एक लाख रुपैयाँ राशिको उत्कृष्ट राष्ट्रिय उद्यमी पुरस्कार पाए ।

संयुक्त राष्ट्र इमिरेट्स (यूएई) को दुबईमा ११ वर्ष काम गरी फर्केका पौडेलले निजगढमा पोल्ट्री ब्रिडिङ फार्म चलाइरहेका छन् ।


निजगढ, बाराका नवराज पौडेलले उत्कृष्ट राष्ट्रिय उद्यमी पुरस्कार पाएका हुन् । संयुक्त राष्ट्र इमिरेट्स (युएई)को दुबईमा ११ वर्ष काम गरी फर्केका पौडेलले निजगढमा कान्तिपुर पोल्ट्रि ब्रिडिङ फर्म खोली कुखुराको चल्ला उत्पादन गर्दै आइरहेका छन् । ‘भारतबाट आउने गैरकानुनी चल्लालाई रोक्न हाम्रो फर्मले ठुलो योगदान गरेको छ । यसले हप्तामा ५० हजार स्वस्थ्य चल्ला उत्पादन गरी बजारमा पठाउने गरेको छ,’ पौडेलले भने, ‘वर्षमा १० करोड रुपैयाँ करोबार हुन्छ । जसमा ७० लाख रुपैयाँ नाफा कमाएको छ । फर्ममा ४८ जनाले रोजगारी पाएका छन् ।’


५० हजार रुपैयाँको राष्ट्रिय उद्यमी पुरस्कार पाउने उद्यमीमा फिट वेल गार्मेन्ट उद्योगका मनोजकुमार भारती, डायमण्ड स्टिल उद्योगका दिपक चापागाईं, मैत्री मंगल अर्गानिक कृषि फर्मका निरबहादुर राउत र एकबहादुर सिङतान, रामलक्ष्मण कृषि फर्मका सर्मिला अधिकारी र आलोक गार्मेन्ट उद्योगका त्रिलोक पनेरु रहेका छन् ।


निजगढका भारती ६ वर्ष दक्षिण कोरियामा काम गरी फर्केर तयारी गार्मेन्ट उद्योग खोलेका थिए । ‘मैले १२ वटा मेसिनबाट गार्मेन्ट खोलेको हो । हाल ७० वटा मेसिन छ । मासिक ४० हजार रुपैयाँ पाउने ९५ जना कामदार कार्यरत छन् । उत्पादन भएको ट्र्‍याकसुट नेपाली प्रहरीलाई दिँदै आइरहेको छु,’ उनले भने, ‘कोरियामा धेरै पटक रुनु परेको छ । हामीले केही वर्ष अरुको काम गरेपछि आफूले गर्नैपर्छ । कोरिया जस्तै दुख यहाँ गर्दा सफलता मिलेको छ ।’


धनगढी कैलालीका त्रिलोक पनेरु पनि कोरियाबाट फर्केका हुन् । उनीले धनगढीमै तयारी पोशाक र कोरियन भाषा प्रशिक्षण गर्न थालेका थिए । उनले १५ जनालाई रोजगारी उपलब्ध गरिएको छ ।


कन्काई–१, झापाका दिपक पनि दक्षिण कोरियाबाटै फर्केका हुन् । ‘झापामै फलामका काटी, नट वोल्ट रड स्टिल वनाउने उद्योगको साथै कवाडीबाट सामान उत्पदान र फोहोरबाट ग्यास उत्पादन कार्य शुरु भइसकेको छ,’ दीपकले भने,‘१७ जनालाई रोजगारी दिएको छु । हामीले स्थानीय स्तरमा फोहोर व्यवस्थापनको लागि नगरपालिकासँग मिलेर काम गरिरहेका छौं ।’

युएईको फाइमस्टार होटल छाडेर आएका भोजपुरका निरबहादुर राउत र मलेसियामा सामान्य कामदारको रुपमा गएका सिन्धुलीका एकबहादुरले संयुक्त रुपमा नागार्जुन–६ काठमाडौंमा एकसय २८ रोपनीमा अर्गानिक कृषि फर्म चलाएका छन् ।


‘हामीले एक थोपा विषादी प्रयोग गरेको छैनौं । शतप्रतिशत अर्गानिक खेती हो । दैनिक दुई सय क्रेट गोलभेडा, करेला लगायत तरकारी उत्पादन हुन्छ,’ निरबहादुरले भने, ‘हामी यसलाई एग्रो टुरिजम वनाउने योजनामा छौं ।’


उनले किसानले वास्तबिक मुल्य नपाउने र झोले किसानले मात्रै राज्यको सुबिधा लिइराख्ने प्रवृत्ति हुँदा आफूहरु जस्तो किसानहरु अन्यायमा परेको बताए ।


चार वर्ष आबुधावीमा ब्युटी पार्लर गरी फर्केकी शर्मिला अधिकारीले कीर्तिपुरमा १५ जना कामदार राखी पशुपालन र तरकारी फलफुलको उत्पादन गर्दै आएकी हुन् । ‘मेरो पेशा ब्युटिसियन भएपनि खेतीमा आर्कषित भए । १५ लाख रुपैयाँ लागतमा खेती शुरु गरेको हो । यसबाट सन्तुष्टी छु । आफ्नै देशमा पसिना बगाउन पाएकोमा गर्व लागेको छ,’ उनले भने, ‘सरकारले हामीजस्ता किसानले उत्पादन गरेको उत्पादन खरिद गरिदिने सुनिश्चित गरिदिए हामीलाई काम गर्न थप उर्जा मिल्थ्यो ।’


उद्यमीलाई पुरस्कृत गर्दे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले नेपालको जनशक्तिलाई नेपालमै प्रयोग गर्न सरकारले वाताबरण वनाइरहेको वताए । ‘विदेशमा कामदार नपठाउँदा देश वर्वादै भयो भन्ने गलत मानसिकता त्याग्न जरुरी छ । हामीले परनिर्भरता हुने मानिसिकताबाट मुक्त हुन जरुरी छ,’ उनले भने, ‘नेपालकै पुजी लगानी गरेर यहाँको श्रम यहाँ नै उपयोग गर्नुपर्छ । नेपालमै पर्याप्त अबसर र सम्भाबना छ । हामी शिर निहुरिएर श्रम गर्न गइराख्नु पर्दैन ।’


श्रम सचिव महेशप्रसाद दाहालले विदेशमा श्रम गरेर फर्किएका कामदारलाई राज्यले सहयोग गरिरहेको बताए । ‘विदेशबाट फर्केका झन्डै २० हजार युवाले सस्तो ब्याजदरमा पाउने १० लाख रुपैयाँ लिई उद्यम गर्न आवेदन दिएका थिए । अधिकांशका व्यावसायिक योजना कमजोर देखिए,’ उनले भने, ‘जसको बलियो व्यावसायिक योजना छ । उनीहरूले सहुलियत ऋण पाउनेछन् ।’


प्रकाशित : असार ३०, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?