२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

आधा खेत बाँझै

'बीउ बूढो भइसक्यो, बूढो बीउले धान कम फल्छ । यही पानीले साउनभरिमा पनि रोपाइँ सक्न मुस्किल छ’
दिप्ती सिलवाल

पर्वत — निरन्तरको वर्षाले देशभरका विभिन्न जिल्लामा बाढीपहिरो र डुबानको समस्या देखिएको छ । पर्वतमा भने असार सकिँदा पनि पानीको अभावमा धेरैजसो खेतमा धान रोपाइँ हुन पाएको छैन । जिल्लामा बढी धान फल्ने मुख्य फाँट बाँझै छन् । कटुवाचौपारी, मुडीकुवा, कमलेबजार, राहाले, खानीगाउँ, देवीस्थान, कुर्घालगायत फाँटका किसानले रोपाइँ गर्न नपाएका हुन् । 

आधा खेत बाँझै

मुख्य धान फल्ने फाँटमा असार सकिँदा पनि रोपाइँ हुन नसक्दा चालु वर्ष धान उत्पादन घट्ने संकेत देखिएको छ । गत वर्ष पहिरोले ज्ञादी सिँचाइ आयोजनाको नहर बगाएको थियो । मर्मत नहुँदा कुस्मा–९ कटुवाचौपारीको करिब ३ सय हेक्टरमा रोपाइँ सुरु नै भएको छैन । यस्तै फलेबास क्षेत्रको ४ सय, जलजला–८ को लस्ती, बिहादी गाउँपालिकाको बर्राचौरमा करिब सय हेक्टरमा रोपाइँ हुन सकेको छैन ।


‘शनिबारदेखि कुलो चलाउने कुरा थियो,’ कटुवाचौपारीका सुरेन्द्र पराजुलीले भने, ‘कुलो मर्मत हुन सकेन । पाइपमा चाहिनेजति पानी नै आएको छैन ।’ करिब ३० मिटर भत्किएको नहरमा पाइपमार्फत पानी ल्याउँदा एक चौथाइ पनि आएको छैन । आलोपालो गरेर रोपाइँ गर्दा समयमा रोपाइँ नसकिने अर्का किसान प्रकाश लामिछानेले बताए । ‘बीउ बूढो भइसक्यो,’ उनले भने, ‘बूढो बीउले धान कम फल्छ । यही पानीले साउनभरिमा पनि रोपाइँ सक्न मुस्किल छ ।’


जिल्लामा विशेषगरी असारको पहिलो सातादेखि साउनको दोस्रो सातासम्म रोपाइँ सकिनुपर्ने हो । स्थानीय जातका गुडुरा, जेठोबूढो, एक्ले, कनजिरा, बिरम्फुले, अनदी र उन्नत जातका रामपुर मन्सुली, खुमल–४, खुमल–१० लगायतका धान पछिल्लो समय लोकप्रिय छन् । सबै धान रोप्ने सिजन साउन १५ सम्म उपयुक्त हो ।


जिल्लाको करिब आधा रोपाइँ हुन बाँकी रहेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । जिल्लाको ९ हजार हेक्टरमा वर्षे धानखेती हुन्छ । त्यसमध्ये बढी फल्ने क्षेत्रकै खेत अझै बाँझो रहेको केन्द्रप्रमुख वासुदेव रेग्मीले बताए । ‘मनसुन ढिला सुरु भयो,’ रेग्मीले भने, ‘कतिपय ठाउँमा नहर भत्केर समस्या छ । गाउँमा मजदुर अभाव अर्को समस्या हो ।’


उनका अनुसार धानको बीउ छरेको २२ देखि ३५ दिनसम्ममा रोपिसक्नुपर्छ । कतिपय छिटो पाक्ने धानको बीउ कलिलै रोप्नुपर्छ । ३५ दिनभन्दा बढी उमेरको बीउ रोप्दा त्यसले दिने उत्पादनमा एक तिहाइदेखि ५० प्रतिशतसम्म कमी आउने प्राविधिक बताउँछन् ।

समयमा धान रोप्न नपाएपछि किसानहरू निराश छन् ।


‘नहरमा पानी नआउँदा सबै खेत बाँझै छ,’ फलेबास–५ का रमाकान्त शर्माले भने, ‘समयमै नहर मर्मत गर्न कसैले चासो दिएनन् । मानो रोपेर मुरी फलाउने बेला बस्नुपरेको छ ।’ धान रोपाइँ हुने खेतमध्ये शतप्रतिशत रोपाइँ कहिल्यै नभए पनि यो वर्ष गत वर्षकै बाढीपहिरोका कारण धेरै खेत बाँझिएको र यसले धान उत्पादनमा कमी आउने रेग्मीले बताए ।

प्रकाशित : असार ३१, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?