२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

२ सय मेगावाट विद्युत् भारत निर्यात

काठमाडौँ — उत्पादित विद्युत् बढी भएपछि सोमबार राति नेपालले २ सय मेगावाट विद्युत् भारत निर्यात गरेको छ । वर्षाका कारण सबै विद्युत् आयोजनाहरू पूर्ण क्षमतामा सञ्चालन भएकाले राति बढी भएको विद्युत् भारत पठाइएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिए ।

२ सय मेगावाट विद्युत् भारत निर्यात

मन्त्रालयका अनुसार शनिबार र आइतबार राति पनि करिब १५० मेगावाटका दरले भारतमा विद्युत् निर्यात गरिएको थियो ।


रक्सौल परवानीपुर र कटैया–कुशवाह अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् भारत पठाइएको छ । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भने नेपालले १५० मेगावाट विद्युत् आयात गरिरहेको छ । यो प्रसारण लाइनमार्फत निश्चित विद्युत् ल्याउने गरी नेपालले बुक गरेका कारण विद्युत् आयात गर्नुपरेको हो ।


वर्षाका कारण कुलेखानी भरिएपछि कुलेखानी पहिलो र दोस्रो पूर्ण क्षमतामा सञ्चालित छन् । दुई आयोजनाबाट कुल ९२ मेगावाट विद्युत् आयात हुन्छ । पछिल्लो पाँच वर्षमा कुलेखानीमा सबैभन्दा बढी पानी भरिएको छ । मंगलबार कुलेखानी जलाशयमा पानीको सतह १ हजार ५ सय २६ मिटर थियो ।


भारत निर्यात गरिएको विद्युत् प्राधिकरणमा तिर्ने मूल्यमा समायोजन हुने ऊर्जामन्त्री पुनले बताए । यी प्रसारण लाइनबाट आउने विद्युत्मा नेपालले तिर्ने मूल्यअनुसार नै विद्युत् पठाइएको उनले जानकारी दिए । यी आयोजनाबाट नेपालले प्रतियुनिट ८.८८ रुपैयाँमा विद्युत् खरिद गर्दै आएको छ ।


प्राधिकरणले यसअघि पनि रातको समयमा बढी भएको विद्युत् भारतको विहार राज्यतर्फ निर्यात गर्ने गरेको थियो । पछिल्लो एक वर्षमा नेपालले भारततर्फ विद्युत् निर्यात गरी करिब १ अर्ब मूल्य समायोजन गरेको मन्त्रालयले जनाएको छ ।


भारी वर्षाका कारण केही ठाउँमा विद्युत् अवरुद्ध भएपछि गत साता विद्युत् माग ६ सय मेगावाटभन्दा कममा झरेको थियो । अहिले सोमबार साँझ विद्युत् माग १ हजार २ सय २५ मेगावाट पुगेको ऊर्जा मन्त्रालयले जनाएको छ ।


प्रकाशित : श्रावण १, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?