तरकारी आयात पर्याप्त, मूल्य वृद्धि उच्च

राजु चौधरी

काठमाडौँ — उपत्यकामा पर्याप्त तरकारी भित्रिए पनि बजारमा उच्च मूल्य वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तरकारी बजारमा औसतमा ८ सय टन तरकारी भित्रिन्छ । मुलुकभर वर्षा र बाढी पहिरो गए पनि तीन दिनयता तरकारी बजारमा आयात सामान्य नै छ । 

तरकारी आयात पर्याप्त, मूल्य वृद्धि उच्च

बजारमा तरकारीको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको छ । ‘आइतबारदेखि तरकारीको आयात राम्रो छ । आयातित परिमाण अन्य दिनसरह नै हो,’ समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘तरकारी उल्लेख्य नै छ । सामान नआएको कारणले मूल्य बढ्नुपर्ने अवस्था छैन ।’ समितिको तथ्यांकअनुुसार असार २५ गते ५१५ टन, २६ गते ६७८ टन र असार २७ गते ४६० टन टन मात्रै भित्रिएको थियो ।


समितिका अनुसार २७ गते बढी पानी परेकाले कालीमाटीमा कम भित्रिएको थियो । २८ गते पुन: बढेर ५४१ टन भित्रिएको छ । असार २९ गते पुन: बढेर ८७६ टन, ३० गते ८७४ टन र ३१ गते ७ सय टन भित्रिएको श्रेष्ठले बताए । ‘तरकारी आयात भइरहेकै छ तैपनि बजारमा भाउ बढेको छ,’ उनले भने, ‘केही वास्तविकता भए पनि व्यापारीहरूलाई बाढीको हावा लागेछ ।’


तरकारी मागअनुसार भित्रिए पनि बजारमा अधिकांश तरकारीको मूल्य १ सय रुपैयाँ नाघेको छ । जानकारका अनुसार बाढी पहिरोको बहानामा बिचौलियाले मौका छोप्दा किसानसँगै उपभोक्तालाई पनि मर्का परेको छ । सरकारबाट कुनै अनुगमन हुन सकेको छैन ।


‘हरेक तरकारीको मूल्य १ सय रुपैयाँ माथि छ । व्यवसायीले मूल्य थप बढ्ने बताउँदै आएका छन्,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘सरकारबाट चासो छैन । न अनुगमन छ न त कारबाही ।’


जानकारका अनुसार पानीले क्षति भएको तरकारी छिट्टै बिग्रने सम्भावना पनि हुन्छ । त्यसले सामान्य बढ्नु स्वाभाविक हो । समितिको तथ्यांकले अधिकांशको मूल्य अस्वाभाविक रूपमा बढेको छ ।


धादिङ र पालुङका किसानले ३५ रुपैयाँमा बिक्री गरेको लौका कालीमाटीमा ६८ रुपैयाँँमा बिक्री भएको छ । खुद्रा बजारमा भने उपभोक्ता किलोमै १ सय रुपैयाँ तिर्न बाध्य छन् । किसानबाट ४५ रुपैयाँमा खरिद गरिएको भिन्डी कालीमाटी बजार ५८ रुपैयाँ तोकिएको छ ।


उपभोक्ता भने १३० रुपैयाँमा किन्न बाध्य छन् । किसानले ४० रुपैयाँमा बिक्री गरेको काउली उपभोक्ताले १५० रुपैयाँ, १३ रुपैयाँको बन्दा उपभोक्ता मूल्य ९० रुपैयाँ, किसानले २५ रुपैयाँमा बिक्री गरेको मुला उपभोक्ताले ९० रुपैयाँमा खरिद गरिरहेका छन् । ४० रुपैयाँको फर्सी उपभोक्ताले ९० रुपैयाँमा किनेका छन् । ७० रुपैयाँको घिउसिमी (लोकल) उपभोक्ता मूल्य १५० रुपैयाँ परेको छ । ‘३५ रुपैयाँमा बिक्री गरेको लौका, तुरुतै खरिद गर्दा संकलनकर्ताले ६० रुपैयाँमा बिक्री गर्छन्,’ मलेखुका किसान शिवप्रसाद आचार्यले भने, ‘बिचौलिया धेरै हुँदा किसानसँगै उपभोक्ता पनि मर्कामा परे ।


किसानले पाउने मूल्य सबै बिचौलियालाई भयो ।’ यता विभागका महानिर्देशक योगेन्द्र गौचनले बिचौलियाले मौका छापेको हुन सक्ने बताए । ‘वर्षाले गर्दा आयातमा केही कम हुँदा मूल्य बढ्छ । त्यसको मौकामा बिचौलियाले खेलेका छन्,’ उनले भने, ‘मुलुकभरि बाढीपीडित भएकाले अन्य समस्या छायाँमा पर्‍यो ।’ मूल्य अध्ययनको विषय भएको बताए । ‘मूल्य अस्वाभाविक नै देखिन्छ,’ उनले भने, ‘भोलिपर्सीबाटै अनुगमन खटाउँछौं ।’


नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका महासचिव भरत खतिवडाले मूल्य वृद्धि स्वाभाविक भएको बताए । ‘वर्षा छ । बाटो पनि अवरुद्ध भएका छन्,’ उनले भने, ‘अहिले मूल्य बढ्ने सिजन नै हो ।’ उनले कुलेखानी, पालुङक क्षेत्रमा वर्षाले अवरुद्ध बाटो खुलेकाले अब तरकारी भित्रिने बताए । समितिका अनुसार हाल पूर्वी तराईका जिल्लाबाट तरकारी आउँछ । सलार्हीदेखि मोरङ, सुनसरीबाट बोडी करेला, सिमी, घिरौंला, लौका भित्रिन्छ ।


तराईसँगै छिमेकी जिल्ला धादिङ, काभ्रे, मकवानपुर, चितवनबाट पर्याप्त आयात भएको छ ।


तराईका जिल्लासँगै भारतबाट पनि आयात भइरहेको छ । ‘बोडी, घिरौंला, लौका,आलु, प्याज आयात भइरहेको छ,’ सूचना अधिकारी श्रेष्ठले भने । कालीमाटी, बल्खु, टुकुचालगायत होलसेलबाट खरिद गरिएको तरकारीको भाउ ठाउँपिच्छे फरक मूल्यमा बिक्री भएको छ ।


कृषि उत्पादन र कृषि क्षेत्रको नियामक निकाय कृषि मन्त्रालय र मन्त्रालयअन्तर्गत रहेका विभाग हुन् । यी निकायले प्रभावकारी रूपमा अनुगमन र नियन्त्रण नगर्दा तरकारीमा उपभोक्ता ठगिँदै आएका छन् ।


मूल्यको विश्लेषण गर्ने काम उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हो । विभागले पनि प्रभावकारी रूपमा काम गरेको छैन । विभागले छिटफुट रूपमा कालीमाटी र बल्खु बजारमा अनुगमन गरे पनि व्यवसायीलाई कानुनी दायरामा ल्याउन सकेको छैन ।


खुद्रा तरकारी पसलमा अनुगमनको सुरुवात नै गरेको छैन । यसअघि तयार पारेको प्रतिवेदन दराजमै थन्किएको छ । किसान र उपभोक्ता ठगी गर्ने बिचौलियालाई कारबाहीको दायरामा ल्याउन सकेको छैन । जसले गर्दा बजार थप अराजक बन्दै गएको विभागकै कर्मचारीहरू बताउँछन् । अहिले यसको पुष्टि भएको छ ।

प्रकाशित : श्रावण १, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?