कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

देशभर ४० प्रतिशत मात्रै रोपाइँ

राजु चौधरी

काठमाडौँ — असार मसान्तसम्ममा धानको रोपाइँ ४० प्रतिशत मात्रै भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार ढिलो मनसुन र गत साताको बाढीले रोपाइँ कम भएको हो । मन्त्रालयको तथ्यांकअनुसार गत वर्ष यही अवधिमा ६३.८८ प्रतिशत रोपाइँ भएको थियो । 

देशभर ४० प्रतिशत मात्रै रोपाइँ

‘मनसुन १० दिन ढिलो सुरु भयो । दुई–तीन दिनको पानीले पुरै डुबायो । तराईको मुख्य धान उत्पादन हुने जिल्ला नै प्रभावित भए,’ मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले भने, ‘जसले गर्दा केही असर परेको देखिन्छ ।’ तराईमा साउनको मध्यमसम्म रोपाइँ हुने हुँदा रोपाइँको अवस्थाबारे अहिले नै विश्लेषण गर्न भने गाह्रो हुने उनले बताए ।

मन्त्रालयका अनुसार तराईमा ३५.१२ प्रतिशत रोपाइँ भएको छ । तराईमा ९ लाख ७७ हजार ४ सय १४ हेक्टरमा धान रोपाइँ हुन्छ । गत वर्ष असारसम्ममा ६२.६५ प्रतिशत रोपाइँ भएको थियो । तथ्यांकअनुसार तराईसँगै पहाडी क्षेत्रमा पनि रोपाइँ सन्तोषजनक छैन ।


उच्च पहाडमा ४८ हजार १ सय ९३ हेक्टरमा रोपाइँ हुन्छ । अहिलेसम्म ५१.८१ प्रतिशत मात्रै रोपाइँ भएको छ । अघिल्लो वर्ष यही अवधिमा ६६.२२ प्रतिशत रोपाइँ भएको थियो । मध्य पहाडमा ३ लाख ४६ हजार ९९ हेक्टरमा धान खेती हुन्छ । उक्त क्षेत्रमा ५३.९६ प्रतिशत मात्रै रोपाइँ भएको छ । अघिल्लो वर्ष ६७.४ प्रतिशत रोपाइँ भएको थियो ।


सुवेदीका अनुसार पहाडमा असार १५ देखि साउन पहिलो सातासम्म रोपाइँ हुन्छ । तराईमा असारदेखि साउनको मध्यसम्म रोपाइँ हुन्छ । तराईमा एक–दुई साता अझै समय भए पनि पहाडमा भने कमी भएको उनले बताए ।

‘विगतको तुलनामा पहाडमा केही कमी भएको देखिन्छ,’ उनले भने, ‘साउन १५ पछि सबै समीक्षा गर्छौं ।’


मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा कम प्रदेश २ मा रोपाइँ भएको छ । उक्त क्षेत्रमा १६.६३ प्रतिशत मात्रै रोपाइँ भएको छ । अघिल्लो वर्ष यही अवधिमा ७४.६१ प्रतिशत रोपाइँ भएको थियो । गत साता आएको बढी प्रदेश २ नै बढी प्रभावित भएको छ ।


यस क्षेत्रमा ८० प्रतिशत डुबानमा परेको छ । बढी खेती तथा उत्पादन हुने क्षेत्र नै डुबानमा पर्दा उत्पादनमा केही समस्या हुने विज्ञहरू बताउँछन् । धानविज्ञ भोलामानसिंह बस्नेतले पनि बाढीका कारण अधिकांश क्षेत्र डुबानमा रहेकाले रोपाइँमा केही असर परेको बताउँछन् । ‘अधिकांश ठाउँमा ढुवान छ । डुबेको ठाउँमा धान मर्न पनि सक्छ । त्यस्तो अवस्थामा सोझै छर्न सकिन्छ । तर, त्यसमा झारपात धेरै आउँछ,’ उनले भने ।


मन्त्रालयका अनुसार प्रदेश १ मा पनि जम्मा ३६.०७ प्रतिशत मात्रै रोपाइँ भएको छ । अघिल्लो वर्ष यस क्षेत्रमा रोपाइँ ५३.३९ प्रतिशत पुगेको थियो । बाढीले प्रदेश १ पनि प्रभावित भएको थियो । मन्त्रालयको तथ्यांकअनुसार प्रदेश १ मा ८१ करोडको कृषि क्षति भएको थियो । प्रदेश ३ मा ३१.०६ र प्रदेश ५ मा ४७.८४ प्रशितत रोपाइँ भएको छ ।


बस्नेतका अनुसार धान रोपाइँ ढिला हुँदा त्यसले हिउँदे बालीलाई समेत असर गर्छ । धानको चाँडै र ढिला पाक्ने जात हुन्छ । चाँडै पाक्ने जात १२० दिनमा पाक्छ । यसले धेरै असर गर्छ । मध्यम पाक्ने जात १३५ दिनको हुन्छ । ‘ढिला रोपाइँ हुँदा हिउँदमा असर गर्छ, मंसिरको पहिलो सातामा गहुँ लगाउनुपर्छ । तेस्रो हप्तापछि लगाउँदा एक दिन ढिलाइ हुँदा प्रतिदिन ४० देखि ५० किलोग्राम गहुँ प्रतिहेक्टर प्रतिदिनको दरले घटदै जान्छ,’ उनले भने ।


मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा पनि रोपाइँ कम छ । उक्त प्रदेशमा ६७.४ प्रतिशत मात्रै रोपाइँ भएको छ । अघिल्लो वर्ष यही अवधिमा ७५ प्रतिशत थियो । कर्णाली प्रदेशमा ६७ प्रतिशत भएको छ । अघिल्लो वर्ष ७० प्रतिशत रोपाइँ थियो । सुदूरपश्चिममा ७० प्रतिशतसम्म भएको उल्लेख छ ।

प्रकाशित : श्रावण २, २०७६ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?