१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रमुख भन्सारमा घट्यो, उत्तरी नाकामा बढ्यो

मुलुकका प्रमुख भन्सार कार्यालय वीरगन्ज र विराटनगरले वार्षिक राजस्व लक्ष्य भेट्टाउन नसके पनि उत्तरी नाका रसुवाको टिमुरे भन्सारले भने लक्ष्यभन्दा १ अर्ब रुपैयाँ बढी राजस्व संकलन गरेको छ

पर्सा — मुलुकको आर्थिक राजधानी मानिने वीरगन्जका २ वटा भन्सार कार्यालयले गत आर्थिक वर्ष ०७५/०७६ मा करिब १ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गरेका छन् । वीरगन्ज/आईसीपी र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले यति राजस्व संकलन गरे पनि वार्षिक राजस्व लक्ष्य भने भेट्टाउन सकेका छैनन् ।

प्रमुख भन्सारमा घट्यो, उत्तरी नाकामा बढ्यो

यो मुलुकका सम्पूर्ण भन्सारले संकलन गर्ने राजस्वको झन्डै आधा हिस्सा हो । वीरगन्ज भन्सार कार्यालय एक्लैले १ खर्ब ४७ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन गरेको छ । सुक्खा बन्दरगाह भन्सारले ३२ अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन गरेको हो । राजस्व संकलनका दृष्टिले वीरगन्ज भन्सार मुलुककै प्रमुख भन्सार विन्दु मानिन्छ । सुक्खा बन्दरगाह भन्सार पनि उत्कृष्ट पाँचभित्रै पर्छ ।


दुवै भन्सारले धेरै राजस्व संकलन गरे पनि वार्षिक राजस्व असुली लक्ष्य भेट्टाउन भने असफल भए । वीरगन्ज भन्सार कार्यालयले गत आवका लागि १ खर्ब ७१ अर्ब रुपैयाँ राजस्व असुली लक्ष्य पाएको थियो । बन्दरगाह भन्सारले ३६ अर्ब ९ करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएको थियो । वीरगन्जले लक्ष्यको ८५ दशमलव ५७ प्रतिशत र बन्दरगाह भन्सारले ८९ दशमलव ३६ प्रतिशत राजस्व असुली गरेको छ ।


राजस्वमा योगदान गर्ने केही वस्तुको आयात घटेकाले लक्ष्यअनुरूपको राजस्व असुली हुन नसकेको भन्सार कार्यालयका अधिकारी बताउँछन् । सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले गत आवमा लक्ष्य नै बढी रहेकाले हम्मेहम्मे भएको बताए । ‘अघिल्लो आवभन्दा गत आवमा लक्ष्य नै करिब ३२ प्रतिशत बढी थियो,’ उनले भने, ‘तैपनि अघिल्लोको तुलनामा गत आवमा बढी नै राजस्व संकलन भएको छ ।’


समग्रमै व्यापार घटेको छ । चिनी र केही व्यापारिक वस्तुको आयात पनि ओरालो लागेको छ । ईसीटीएस प्रणाली लागू भएपछि कोलकाता भन्सारका कस्टम हाउस एजेन्टको हडतालले पनि राजस्व असुली प्रभावित भएको भन्सारका अधिकारीको दाबी छ ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत मनीष महतो पनि समग्र आयात घटेकाले त्यसको असर राजस्व असुलीमा परेको बताउँछन् । ‘राजस्वमा योगदान गर्ने मुख्य वस्तु मोटरसाइकल र जिप, कार, भ्यानको आयात वैशाखदेखि नै घटेको हो,’ उनले भने, ‘यसबाहेक केही औद्योगिक कच्चा पदार्थको आयात पनि घट्न गएकाले त्यसको नकारात्मक असर राजस्व असुलीमा परेको छ ।’


विराटनगरमा ४ अर्ब कम

विराटनगर– प्रदेश १ को मुख्य नाका विराटनगर भन्सारले पनि गत आर्थिक वर्षमा लक्ष्यअनुसारको राजस्व असुली गर्न सकेन । ४२ अर्ब २५ करोड रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखे पनि ३८ अर्ब २८ करोड रुपैयाँ मात्र राजस्व असुली गरेको छ ।


लक्ष्यभन्दा झन्डै ४ अर्ब राजस्व असुली न्यून भएको छ । भन्सारका प्रवक्ता मणिराम पौडेलले भने, ‘आयात घटदा र असार महिनाभरि आयात–निर्यात असहज हुँदा राजस्व असुली घटेको हो ।’ यो भन्सारले गत वर्ष लक्ष्यभन्दा बढी राजस्व असुली गरेको थियो ।

भन्सार महसुल, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क तीनवटै असुली लक्ष्यअनुसारको रहेन । भारत र तेस्रो मुलुकबाट हुने आयात जोगबनी नाकाबाट निकै घट्यो । पौडेलका अनुसार तेस्रो मुलुकबाट हुने आयातले नाका परिवर्तन गरेकाले पनि राजस्व असुली प्रभावित भएको हो ।


बाढीले भारतको बथनहा नजिकको मिरगन्ज पुलमा क्षति पुर्‍याएपछि चार दिनदेखि जोगबनी नाकाबाट आयात–निर्यात ठप्प छ । असार दोस्रो सातादेखि सीमावर्ती भारतीको स्थानीय प्रशासनले निकासी पैठारीमा समय सीमा तोकेका कारण पनि असार महिनामा राजस्व असुली प्रभावित हुँदा लक्ष्यअनुसारको राजस्व असुली हुन नसकेको पौडेलको दाबी छ ।


टिमुरेमा लक्ष्यभन्दा १ अर्ब बढी

रसुवा– वीरगन्ज र विराटनगका भन्सार कार्यालयहरूले लक्ष्यअनुरूप राजस्व संकलन गर्न नसके पनि टिमुरेस्थित रसुवा भन्सार कार्यालयले भने गत आर्थिक वर्ष ०७५/७६ मा वार्षिक लक्ष्यभन्दा १ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।


गत आवमा १० अर्ब ६० करोड २४ लाख १९ हजार रुपैयाँ राजस्व संकलन गरेको रसुवागढी भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खडकाले बताए । उनले लक्ष्यभन्दा १ अर्ब बढी राजस्व संकलन भएको दाबी गरे । ‘रसुवागढी नाकाबाट बर्सेनि मालसामान पैठारी हुने क्रम बढदै गएको छ । पछिल्लो समय नाकाबाट अर्बौं रुपैयाँ मूल्य बराबरका सामान पैठारी भइरहेका छन् । पैठारीमा वृद्धि भएसँगै राजस्व संकलन पनि बढेको हो,’ उनले भने ।


यो नाकाबाट तयारी कपडा, स्याउ, लेडिज सेन्डल, रबर, प्लास्टिकका जुत्ताचप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, यूपीएस, चस्मा/चस्माको फ्रेम, प्लास्टिकका सामानलगायतका मुख्य वस्तुहरू पैठारी भइरहेको खड्काले बताए ।

प्रकाशित : श्रावण ३, २०७६ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?