१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मुलुकबाट ९१ अर्ब बढी बाहिरियो

कृष्ण आचार्य

काठमाडौँ — गत जेठसम्म मुलुक भित्रने भन्दा ९१ अर्ब रुपैयाँ बढी रकम बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको ११ महिने ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विवरण सार्वजनिक गर्दै मुलुकको शोधनान्तर स्थीति (मुलुकमा भित्रने र बाहिरिने रकमको अन्तर) ९० अर्ब ८३ करोड रुपैयाँले घाटामा रहेको उल्लेख गरेको छ ।

मुलुकबाट ९१ अर्ब बढी बाहिरियो

यो तथ्यांकअनुसार वस्तु तथा सेवा निर्यातबाट आउने रकम, प्रत्यक्ष वैदेशिक लगानी, विदेशी सहायता तथा ऋण, रेमिट्यान्यलगायत शीर्षक अन्य विभिन्न शीर्षकबाट मुलुक भित्रनेभन्दा यस्तै शीर्षकमा बाहिरिने रकम बढी भएको हो । खासगरी नेपालीले प्रयोग गर्ने वस्तु तथा सेवा विदेशबाटै अत्यधिक आयात गर्नुपर्दा शोधनान्तर घाटा झन्डै ९१ अर्ब पुगेको हो । यसले मुलुकको परिनिर्भरता झन् बढेको देखाउँछ ।


‘अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४ अर्ब ३४ करोड रुपैयाँले घाटामा रहेको थियो,’ राष्ट्र बैंकद्वारा जारी प्रतिवेदनमा भनिएको छ । ११ महिनामा चालु खाता घाटा २ खर्ब ४८ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । ‘अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २ खर्ब १० अर्ब २४ करोड थियो,’ प्रतिवेदनमा भनिएको छ । चालु खाता पनि वस्तु तथा सेवा निर्यात गरेभन्दा आयात बढी गरेकाले घाटा हुन गएको हो । यसको मतलव नेपालले वस्तु तथा सेवा निर्यातको तुलनामा अन्य देशहरूबाट आयात अत्यधिक गरिरहेको देखिन्छ ।


राष्ट्र बैंकको तथ्यांकअनुसार ११ महिनामा नेपालबाट ८७ अर्ब ८३ करोड रुपैयाँको निर्यात भएको छ । आयात भने १२ खर्ब ९९ अर्ब ८० करोड रुपैयाँ बराबरको भयो । ‘एघार महिनामा कुल वस्तु व्यापार घाटा १७.२ प्रतिशतले विस्तार भई १२ खर्ब ११ अर्ब ९६ करोड पुगेको छ,’ तथ्यांकमा भनिएको छ, ‘समीक्षा अवधिमा निर्यात–आयात अनुपाद ६.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ६.७ प्रतिशत रहेको थियो ।’


एघार महिनामा रेमिट्यान्स १७.५ प्रतिशतले वृद्धि भएको छ । तथ्यांकअनुसार ७ खर्ब ९९ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । ‘अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ७.३ प्रतिशतले बढेको थियो,’ प्रतिवेदनमा भनिएको छ । अमेरिकी डलरमा ८.१ प्रतिशतले रेमिट्यान्स बढी आएको राष्ट्र बैंकले जनाएको छ । डलरमा अघिल्लो वर्षको रेमिट्यान्स आप्रवाह ९.७ प्रतिशतले वृद्धि भएको थियो ।


विदेशी विनिमय सञ्चिति पनि घटेको छ । गत वर्षको असार मसान्तसम्म ११ खर्ब २ अर्ब रुपैयाँ विदेशी विनिमिय सञ्चिति रहेकामा गत जेठ मसान्तसम्म १० खर्ब ३० अर्ब ८८ करोड रुपैयाँमा झरेको छ । यो रकमले नेपालका लागि ७.७ महिनालाई चाहिने वस्तु तथा सेवा आयात गर्न मात्रै पुग्छ । ‘अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तमा १० अर्ब ८ करोड रहेकामा २०७६ जेठ मसान्तमा ९ अर्ब २५ करोड रहेको छ,’ तथ्यांकमा भनिएको छ ।

विदेशी विनिमय सञ्चितिमध्ये ८ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँ राष्ट्र बैंकसँग छ । बाँकी १ खर्ब ४५ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा रहेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये २४.२ प्रतिशत भारतीय मुद्रा रहेको राष्ट्र बैंकले जनाएको छ । ‘एघार महिनाको औसत मुद्रास्फीति ४.५ प्रतिशत रहेको छ,’ तथ्यांकमा भनिएको छ ।

प्रकाशित : श्रावण ३, २०७६ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?