कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

महाकाली पुलमा ३० प्रतिशत काम

भवानी भट्ट

कञ्चनपुर — महाकाली नदीमा निर्माणाधीन पक्की पुलको ३० प्रतिशत काम सकिएको छ । महाकालीपारिको दोधारा चाँदनीलाई सदरमुकाम महेन्द्रनगरसँग जोड्न दुई वर्षअघि निर्माण सुरु भएको ४ लेनको पुलको पाइलिङसँगै पिलर निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

बर्खामा नदीको सतह बढेर अहिले पुल निर्माणको मुख्य काम रोकिए पनि आयोजनाअन्तर्गतका अन्य संरचना धमाधम बनिरहेका छन् ।


‘मुख्य पुलका ३४ मध्ये १७ पिलर निर्माण भइसकेका छन्,’ कुमार सीएफईसी जेभीका इन्जिनियर किशोर पाण्डेयले भने, ‘पाइलिङमा पनि ४८ मध्ये २९० को काम पूरा भएको छ ।’ उनले पुस मसान्तभित्र पाइलिङको काम सक्ने र चैत मसान्तसम्म सबै पिलर निर्माण गरिसक्ने लक्ष्य राखिएको बताए ।


‘पुलमा स्ल्याब हाल्ने काम पनि सँगसँगै चल्छ,’ इन्जिनियर पाण्डेयले भने, ‘पुलका दुवैतर्फ निर्माण हुने पहुँचमार्गको काम पनि ७५ प्रतिशत सकिएको छ ।’ उनले करिब ८ किलोमिटरमा भरानको काम चलिरहेको बताए ।


अहिले पुल र सडक निर्माणको काम रोकिएको छ । सडक किनारमा नाली निर्माण भने भइरहेको छ । सडक किनारमा १२ किलोमिटर नाली निर्माण गर्नुपर्नेछ । पूर्व–पश्चिम राजमार्गको अन्तिम बिन्दु गड्डाचौकीदेखि पुल निर्माण स्थलसम्म पहुँच मार्गमा पर्ने भुजेला नदी र महाकाली सिँचाइ आयोजनाको नहरमा ४ वटा पक्की पुलको काम पनि सम्पन्न भइसकेको छ ।


भीमदत्त नगरपालिका १३ ओदाली र महाकाली नगरपालिका १ चाँदनीलाई जोड्ने गरी निर्माणाधीन पक्की पुल ८ सय मिटर लम्बाइ र २४ मिटर चौडाइको हुनेछ । ३ वर्षभित्र सक्ने गरी कुमार सीएफईसी जेभीसँग ३ अर्व २७ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।


पुलका दुवैतर्फ बाँध बाँधेर आँखा आकारको पोखरी निर्माण गरी पर्यटकीय स्थलका रूपमा समेत विकसित गरिने योजना छ । ‘तीन वर्षभित्रै काम सकिन असम्भव भएकाले २ सय ७० दिन म्याद थप भइसकेको छ,’ इन्जिनियर पाण्डेयले भने, ‘यो अवधिभित्र काम सक्ने गरी हामी लागिरहेका छौं ।’ नदीमा जेठदेखि नै काम रोकिए पनि सडक भरान तथा नाली निर्माणको काम वर्षातमा पनि चलिरहेको उनले बताए । गत वर्ष कात्तिकसम्म नदीमा पानी नघटेका कारण मुख्य पुलको काम ढिलो मात्रै सुरु भएको थियो ।


हिउँदमा पनि अलि माथि रहेको शारदा ब्यारेज (वनबसा पुल) बाट बेलाबेलामा जानकारीबिना नै पानी छाड्ने गरेका कारण काम प्रभावित हुने गरेको छ । यसबाहेक विगतमा मुआब्जा विवादका कारण पनि काममा अवरोध भएको थियो । ‘अब मुआब्जा विवाद टुंगिएको छ, निर्माण कार्यमा कुनै रोकावट छैन,’ महाकाली पुल आयोजनाका प्रमुख खडकलाल श्रेष्ठले भने, ‘विगतमा देखिएका सबै विवाद समाधान भएका छन् ।’ ऐलानी र पर्ती जग्गामा बसोबास गर्नेहरूलाई मन्त्रिपरिषदको निर्णयअनुसार भोगचलनका आधारमा मुआब्जा वितरण गरिएको छ ।

प्रकाशित : श्रावण ४, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?