कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

'पूर्वाधार र प्रशिक्षणपछि मात्रै भीसीटीएस’

सरकारले बुधबारदेखि लागू गरेको नयाँ व्यवस्थाको विरोधमा व्यवसायीले ढुवानी ठप्प पार्दा वीरगन्ज र भैरहवालगायत औद्योगिक तथा व्यापारिक नाका प्रभावित भएका छन् 
माधव ढुंगाना

भैरहवा — आवश्यक पूर्वाधार र ढुवानी व्यवसायमा संलग्न मजदुरलाई प्रशिक्षित तुल्याएर मात्र मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) लागू गर्न व्यवसायीले माग गरेका छन् । इन्टरनेट पूर्वाधार तयार नगरी र मजदुरलाई प्रशिक्षणबिना सरकारले ढुवानी व्यवसायमा लागू गरेको ट्र्याकिङ सिस्टम अव्यावहारिक भएको उनीहरूले बताए ।

‘भन्सार, यातायात, आन्तरिक राजस्व कार्यालयका सर्भर बारम्बार बन्द हुँदा कार्य सम्पादन प्रभावित हुने गरेको छ,’ भैरहवास्थित उद्योग व्यापार संगठनका अध्यक्ष नारायण भण्डारीले भने, ‘विकट गाउँमा ढुवानी गर्ने व्यवसायी र कारोबार गर्नेका लागि सरकारले पूर्वाधार पुर्‍याउनुपर्छ ।’


ट्र्याकिङ सिस्टमलाई तीन भागमा वर्गीकरण गरेर तत्काल ठूला व्यवसायीलाई लागू गर्नुपर्ने बताए । मध्यमलाई ६ महिना र साना व्यवसायीलाई एक वर्ष समय दिनुपर्ने भण्डारीको भनाइ छ । ढुवानीमा संलग्न मजदुर कम पढेलेखेका हुने भएकाले पर्याप्त प्रशिक्षण दिनुपर्ने व्यवसायीको माग छ ।


सरकारले बुधबारदेखि लागू गरेको नयाँ व्यवस्थाको विरोधमा ढुवानी ठप्प पारिएको छ । त्यसले औद्योगिक तथा व्यापारिक नाका प्रभावित भएको छ । भैरहवामा भन्सारबाट औद्योगिक कच्चा पदार्थ र व्यापारिक सामान आएका छैनन् । भैरहवाबाट अन्य जिल्लाका लागि हुने औद्योगिक उत्पादन, खाद्य तथा अन्य व्यापारिक सामानको ढुवानी ठप्प छ ।


मुख्य खाद्य बजार गल्लामन्डी लगभग बन्द छ । उत्पादित सामान बजारमा पुर्‍याउन नसकिएपछि र कच्चा पदार्थ नआएपछि उद्योग बन्द हुने अवस्थामा छन् । उद्योग वाणिज्य महासंघका सदस्य तथा स्थानीय सिमेन्ट उद्योगी राजेश अग्रवालले ढुवानी बन्द भएपछि उत्पादन गर्नुको कुनै अर्थ नहुने भएकाले उद्योग नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको बताए । ढुवानी बन्द हुँदा उत्पादित सामान स्टक गरेर राख्न नमिल्ने हुँदा सिमेन्ट उद्योग बढी प्रभावित हुन पुगेको उनको भनाइ छ ।


अग्रवालका अनुसार भैरहवा क्षेत्रमा मात्र ११ वटा सिमेन्ट उद्योग छन् । प्रतिदिन सरदर १ लाख बोरा सिमेन्ट उत्पादन हुन्छ । सरदर दैनिक ८ करोड रुपैयाँ मूल्यको उत्पादन हुने गरेको छ । भ्याट, अन्तःशुल्क, विद्युत् महसुल गरेर यी उद्योगले दैनिक करिब २ करोड रुपैयाँ सरकारलाई राजस्व दिने गरेका छन् । ‘सरकारले चरणबद्ध रूपमा ढुवानी व्यवसायमा कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम लगाएको भए हुन्थ्यो,’ अग्रवालले भने ।


भैरहवा क्षेत्रबाट दैनिक ४ सय देखि ६ सयसम्म ट्रकबाट विभिन्न सामान ढुवानी हुने गरेकामा बुधवारदेखि ढुवानी ठप्प छ । भन्सार, उद्योग, साल्टट्रेडिङलगायतबाट ढुवानी हुन सकेको छैन । ढुवानी बन्दपछि भैरहवा भन्सार कार्यालय परिसर बुधबार सुनसान जस्तै छ ।


ढुवानीका लागि सीमावर्ती भारतको ट्रान्सपोर्ट गोदामहरूमा नेपाली ट्रकहरू गएका छैनन् । भारतबाट औद्योगिक र व्यापारिक सामान बोकेका मालवाहक गाडी पनि कम आएका छन् । भन्सारका सूचना अधिकृत कलिराम पौडेलले फलफूल र तरकारीहरू साना गाडीबाट ढुवानी भए पनि अन्य सामानको ढुवानी हुन नसकेको बताए ।


प्रधानमन्त्रीलाई ज्ञापन

बिनातयारी सरकारले लागू गरेको भीसीटीएस,अनिवार्य पान, अनिवार्य सामाजिक सुरक्षा कोषमा सूचीकरण हुनुपर्ने, सबै श्रमिकको अनिवार्य पानमा दर्ता हुनुपर्नेलगायता व्यवस्थाबाट उद्योगी व्यवसायीलाई प्रत्यक्ष असर पार्ने भन्दै सिद्धार्थ उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।


ज्ञापनपत्रमा सरकारले लागू गरेको नियममा संशोधन गर्न माग गरिएको छ । ‘सरकारले लागू गर्न खोजेको नियम राम्रो भए पनि बिनातयारी एक्कासि लागू गर्दा कार्यान्वयनमा निकै कठिनाइ छ,’ सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानले भने, ‘यसको प्रत्यक्ष मार साना व्यवसायीहरूले भोग्नुपर्छ ।’


भन्सारमै थुप्रियो सामान

पर्सा– ढुवानी व्यवसायीको हडतालले वीरगन्जबाट मुलुकका विभिन्न जिल्लामा हुने ढुवानी सेवा ठप्प भएको छ । वीरगन्ज भन्सार र सिर्सिया सुक्खा बन्दरगाह भन्सार यार्डमा कन्टेनर तथा बल्क कार्गोको थुप्रो छ । ढुवानी ठप्प हुँदा दुवै भन्सारको राजस्व असुलीसमेत स्वाट्टै घटेको छ ।


सुक्खा बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मिनल्सका सीईओ विष्णुकान्त चौधरीले शुक्रबार बन्दरगाहको यार्डमा खाली र मालवाहक गरी करिब २ हजार कन्टेनर अड्किएको बताए । कन्टेनरबाहेक २८ हजार टन फलाम, ५ हजार टन अन्य बल्क कार्गो थन्किएको उनको भनाइ छ । ‘स्थिति नाजुक हुँदै छ,’ उनले भने, ‘यार्ड मालवस्तुले भरिँदै छ, भारत फर्किने रेल कन्टेनर नबोकी खाली जाँदै छन्, बुधबारयता ९ र्‍याक खाली गइसकेका छन्, यसले ठूलो घाटा भएको छ ।’


यस्तै वीरगन्ज भन्सार कार्यालय प्रमुख गोपाल खत्रीले पनि बुधबारदेखि भन्सारबाट माल सामान ढुवानी ठप्प भएको जानकारी दिए । यसको नकारात्मक असर भन्सारको राजस्व असुलीमा परेको छ । ‘ढुवानी व्यवसायीको हडताल, ट्र्याकिङ सिस्टमको समस्या वा कुन कारणले हो समस्या भने बढेको छ,’ खत्रीले भने ।

प्रकाशित : श्रावण ४, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?