१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

पाइपबाट आयो हजार किलोलिटर डिजेल

पवन यादव, शंकर आचार्य

सिमरा / पर्सा — मोतीहारी–अमलेखगन्ज पाइप लाइनबाट शुक्रबार परीक्षणका क्रममा १ हजार किलोलिटर डिजेल भित्रिएको छ । परीक्षणका क्रममा भारतको पटनाबाट पाइपमा बुधबार पानी र डिजेल सँगसँगै जसो छाडिएको थियो । पानी शुक्रबार बिहान अढाइ बजे र डिजेल ६ बजे अमलेखगन्ज डिपोमा आइपुगेको हो । 

पाइपबाट आयो हजार किलोलिटर डिजेल

मोतीहारी–अमलेखगन्ज पाइप लाइन परियोजनाका प्रमुख प्रदीपकुमार यादवका अनुसार पाइपमा पटनाबाट छाडिएको तेल हेर्न नेपाल र भारतका प्राविधिकसहितको टोली खटेको थियो । ‘तेल र पानीको पर्खाइमा रातभरि सुतेनौं,’ उनले भने । परीक्षण सफल भएको र १ हजार किलोलिटर तेल स्टक गरिएको यादवले जानकारी दिए ।

अमलेखगन्ज डिपोमा शुक्रबार पहिलोपटक सफल रूपमा डिजेल आयात गरिएसँगै निर्धारित समयभन्दा करिब ८ महिनाअघि नै मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन परियोजना सम्पन्न भएको छ । सन् २०१८ डिसेम्बरदेखि यो परियोजनामा काम सुरु भएको थियो ।

२०२० सम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने गरी समयसीमा तोकिएको थियो । भारतस्थित पाइपलाइन्स प्रभा पटना–मोतीहारी–बैतालपुर पाइप लाइन परियोजनाका प्रबन्ध निर्देशक एनके पान्डाले ७० किलोको प्रेसरले पटनाबाट अमलेखगन्जसम्म पाइप लाइनबाट तेल भित्रिरहेको जानकारी दिए । पटनाको जमिनको सतहभन्दा झन्डै ३ सय ३ मिटर उचाइमा अमलेखगन्ज डिपो छ ।

‘पटनाभन्दा अमलेखगन्ज अग्लो ठाउँमा भएकाले पाइप लाइनमा तेलको प्रेसर बढी दिनुपरेको हो,’ पान्डाले भने, ‘रक्सौल सीमा क्षेत्रसम्मको लेबल बराबर रहे पनि त्यहाँबाट अमलेखगन्जसम्मको जमिनको लेभल उँचो छ ।’

रुख कटान, रेलको लिक, सडकमुनि, सहरमुनि पाइप गाड्न भारत र नेपाल सरकारको अनुमति लिनमै धेरै समय लागेकाले तेल भित्र्याउने काम ढिलो भएको पाइप लाइन्स प्रभाग पटना–मोतीहारी–बैतालपुर पाइप लाइन परियोजनाका मुख्य निर्माण प्रबन्धक राजेशकुमार सोनकरले जानकारी दिए । ‘परियोजनाका क्रममा भन्सार प्रक्रिया पुर्‍याउन र रुख कटान गर्नमै धेरै समय लाग्यो,’ उनले भने, ‘तर पनि तोकिएको समयभन्दा अगाडि नै तेल भित्र्याएका छौं ।’

निर्धारित समयसीमाभन्दा ८ महिना अगाडि नै परियोजना सम्पन्न गरी तेलको सफल परीक्षण गरिएको सोनकरले बताए । पटनामा रहेको तेलको गुणस्तर जति नै अमलेगन्जमा झरेको तेलको गुणस्तर पनि रहेको उनले दाबी गरे । ‘तेलको क्वालिटीमा कुनै फरक देखिएन,’ उनले भने ।

भारतको मोतीहारीमा पम्पिङ हाउस निर्माण नहुँदासम्म पटना–सिवान–मोतीहारी हुँदै अमलेखगन्जमा सिधै तेल भित्र्याउने काम अगाडि बढाइएको नेपाल आयल निगमका अधिकारीले बताए । अमलेखगन्जमा पाइप लाइनको तेल भण्डारण गर्न यसअघि नै ४१ सय किलोलिटरका दुईवटा ट्यांकी र ३९ सय किलोलिटरको २ वटा गरी ४ वटा ट्यांकीमा पाइप लाइनको भल्भ जडान गरिएको थियो ।

पाइप लाइनबाट भित्रिने तेलको प्रेसर अत्यधिक हुने भएकाले त्यसलाई कम गर्न स्वचालित थुप्रै घुमाउरो भल्भसमेत राखिसकिएको मोतीहारी–अमलेखगन्ज पाइप लाइन परियोजना कार्यालय सिमराका इन्जिनियर शरद पौडेलले जानकारी दिए ।

प्रकाशित : श्रावण ४, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?