१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

कपुरकोटबाट एक महिनामै ७ करोडको तरकारी निकासी 

विप्लव महर्जन

सल्यान — कपुरकोट हाटबजारबाट एक महिनाको अवधिमा सात करोड ५० लाखको ताजा तरकारी र फलफूल निकासी भएको छ । किसानहरुले सबै भन्दा बढी कपुरकोट हाटबजारबाट टमाटर निकासी गरेका छन् । जिल्लाकै सबैभन्दा ठूलो कृषि उपज केन्द्र कपुरकोटबाट नेपालगन्ज, बुटवल, नारायणघाट, काठमाडौं, घोराही, तुलसीपुरमा तरकारी जाने गरेको छ । 

कपुरकोटबाट एक महिनामै ७ करोडको तरकारी निकासी 

कृषि उपज केन्द्र कपुरकोटका अनुसार गत जेठ २८ देखि असार २८ सम्म ८ हजार १३४ क्विन्टल ताजा तरकारी बाहिर जिल्लामा निकासी भएको छ । एक महिनाको अवधिमा ३ हजार दुई ६९ क्विन्टल टमाटर निकासी हुँदा पाँच करोड १ लाख सात सय ७६, दुई हजार ६ सय ९७ क्विन्टल बन्दाकोभी बिक्री गरेर ५४ लाख ३४ हजार, एक हजार चार सय २८ क्विन्टल फूलकोभी बिक्री गरेर एक करोड ६० लाख ४७ हजार,एक सय १२ क्विन्टल सिमी बिक्री गरेर ९ लाख ६४ हजार, चार सय २५ क्विन्टले खुर्सानी बिक्री गरेर ३० लाख २९ हजार किसानले आम्दानी गरेका छन् ।


केन्द्रका सचिव तीलकराज शर्माले हप्तामा मंगलबार र शुक्रबार गरी दुई दिन हाटबजार सञ्चालन हुने र एक सातामै एक करोड बढीको तरकारी निकासी हुँदै आएको बताए । कपुरकोट हाटबजारबाट वार्षिक ४० करोड भन्दा बढीको तरकारी निकासी हुने गरेको उनले बताए ।


किसानले व्यावसायिक तरकारी खेतीलाई विस्तार गर्दै आएपछि रिम, गर्पा, सिनबांगका विभिन्न स्थानमा तरकारी संकलन केन्द्र सञ्चालन गरेर तरकारी बिक्री गर्दै आएका छन् । यस्तै खरिदकर्ताहरु गाडी लगेर किसानका खेतबारीमै पुग्ने गरेका छन् । कपुरकोट गाउँपालिका लगायत आसपासका किसानहरु तरकारी खेतीमा लागेपछि उनीहरुको जीवनस्तरमा परिवर्तन आएको शर्माको भनाइ छ ।


खरिदकर्ताले किनेको टमाटर एकै ठाँउमा खन्याइदै । तस्बिर : विप्लव महर्जन/कान्तिपुर


किसानहरुले व्यावसायिक तरकारी खेती गर्दै आएपछि कपुरकोट गाउँपालिकाले आधुनिक औजार तथा सामग्रीमा किसानलाई सहयोग गर्नुका साथै बजार व्यवस्थापनमा सहज गराउँदै आएको गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले बताए ।


मालबाहक गाडीको आन्दोलनले गर्दा शुक्रबार किसानले हाटबजारमा बिक्री गर्न ल्याएका तरकारी त्यत्तिकै थन्किएको थियो । लाखौ रुपैयाँको तरकारी एक दिन बिक्री नभएर कुहिएर जाने भएकाले निकासीको लागि विभिन्न निकायसँग समन्वय गरेर बाहिर पठाएको उनको भनाई छ ।


कपुरकोट गाउँपालिकाको धनबाङ, रिम, सिनबाङ, गर्पा, त्रिवेणीको लुहाम, सल्लेखोला, टुनीबोट, फलाबाङ र रोल्पाको जिनाबाङका २ हजार बढी किसानले कपुरकोट हाटबजारमा तरकारी ल्याएर बिक्री गर्दै आएका छन् । दुई दशक अघिदेखि व्यावसायिक तरकारी खेतीमा लागेका किसानहरुको जीवनस्तरमा परिवर्तन आएको छ ।

प्रकाशित : श्रावण ४, २०७६ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?