कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

तरकारी किसानको गुनासो– 'उपभोक्तालाई अभाव देखाएर व्यापारीले मूल्य बढाए’

बाहिरबाट तरकारी थोरै भित्रिए पनि स्थानीय बजारमा पर्याप्त छ । किसानले पाएको भन्दा उपभोक्ताले दोब्बर मूल्य तिरिरहेका छन् । 

बुटवल / पाल्पा — रुपन्देहीका गाउँघरमा किसानले चालु साता गोलभेंडा प्रतिकिलो ७० रुपैयाँमा बिक्री गरिरहेका छन् । बुटवलस्थित थोक बजारमा भने रुपन्देहीसहित कपुरकोट, काठमाडौं र भारतीय गोलभेंडा बिक्रीमा छन् । यहाँ ८० देखि ९० रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको छ । उपभोक्ताले भने प्रतिकिलो १५० देखि १८० रुपैयाँमा गोलभेडा किन्नुपरेको छ । 

तरकारी किसानको गुनासो– 'उपभोक्तालाई अभाव देखाएर व्यापारीले मूल्य बढाए’

बारीमा भिन्डी ३० रुपैयाँ प्रतिकिलो छ । थोक बजारमा ४० रुपैयाँ छ । उपभोक्ताले प्रतिकिलो १ सय रुपैयाँमा किन्नुपरेको छ । किसानले सय रुपैयाँ किलोमा बेचेको सिमी उपभोक्ताले १५० रुपैयाँमा किनिरहेका छन् । किसानले १५ रुपैयाँ मुठोमा बेचेको साग उपभोक्तासित पुग्दा ४० रुपैयाँ पर्छ ।


पूर्वी तराई बाढीको चपेटामा छ । सिमानामा विषादीको परीक्षण नगरेमा तरकारी र फलफूल भित्र्याउन पाइँदैन । त्यसैले भारतबाट थोरै तरकारी भित्रिरहेको छ । स्थानीय बजारमा भने यस्ता समस्याले प्रभाव पारेको छैन । गाउँबाट पर्याप्त तरकारी भित्रिएको छ । विभिन्न समस्या देखाएर तरकारीको मूल्य वृद्धि गरिएको छ । किसानले बेच्ने र उपभोक्ताले किन्ने मूल्यमा दोब्बर फरक छ ।


यसले तरकारी उत्पादन गर्ने किसान मर्कामा परेका छन् । उपभोक्ता ठगिएका छन् । बिचौलियाले फाइदा लिइरहेका छन् । ‘किसानले बेच्ने भाउ उही छ । बजारमा हरेक तरकारीको मूल्य १ सय रुपैयाँभन्दा माथि छ,’ उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष तेजप्रसाद पाठकले भने, ‘सरकारी निकायबाट अनुगमन र कारबाही नहुँदा यस्तो भएको हो ।’


बुटवलमा कृषि उपज थोक बजार केन्द्र छ । त्यसमा भित्र र बाहिर गरी करिब १ सय फलफूल र तरकारीका थोक व्यापारी छन् । दैनिक करिब २ करोड रुपैयाँको तरकारी कारोबार हुन्छ । थोक बजारमा मूल्य खासै बढेको छैन । ‘थोक बजारमा बढीमा १० प्रतिशत मात्रै नाफा राखेर किनबेच हुन्छ,’ लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष केशव कुँवरले भने, ‘खुद्रा पसलमा पुग्दा दोब्बर बढाएका छन् । हामी अचम्म परेका छौं ।’


सरकारले तरकारीको न्यूनतम लागत मूल्य तोकेको छैन । यसले बिचौलिया बढ्दै जाने तर किसान र उपभोक्ता ठगिने घटना बढेका छन् । गाउँगाउँसम्म बिचौलियाको बिगबिगी बढेको छ । ‘हामीले साविक रूपमै तरकारी बेचेका छौं । मूल्य पनि बढाएका छैनौं,’ तिलोत्तमाको छपियाका किसान राजेन्द्र यादवले दुखेसो पोखे, ‘बिचौलियाहरूले हाम्रो उत्पादनको दाम सकेसम्म घटाएर किनिरहेका छन् । उपभोक्तालाई भने अभाव देखाएर बढाएका छन् ।’


हरियो तरकारीमा आत्मनिर्भर जिल्लाको ४ हजार १ सय ४७ हेक्टर क्षेत्रफलमा व्यावसायिक तरकारी खेती भइरहेको छ । यहाँ हिउँदे, वसन्ते र बर्खे गरी ३ सिजन तरकारी खेती गरिन्छ । करिब ५ सय व्यावसायिक किसानले वार्षिक ९० हजार ९ सय ९१ टन तरकारी उत्पादन गर्ने कृषि ज्ञान केन्द्रको तथ्यांक छ । भैरहवामा माया देवी फलफूल तथा तरकारी बजार छ ।


पहाडमा खुसी

अघिल्लो वर्ष भाउ नपाएर खेर फाल्नुपरेपछि पाल्पाका किसानले यस वर्ष गोलभेंडा कम लगाए । अन्य तरकारी उत्पादनमा पनि धेरै जोड दिएनन् । वर्षायाममा भारतीय तरकारीसँग प्रतिस्पर्धा धेरै गर्नुपर्ने भएकाले पर्याप्त तरकारी नलगाएका हुन् । उनीहरूलाई यतिबेला भने दुर्भाग्य भयो, यस वर्ष गोलभेंडालगायत तरकारीको भाउ ह्वात्तै बढ्यो । थोरै लगाउनेहरूले अहिले पछुताउनु सिवाय केही छैन ।


गतको वर्ष १५/२० रुपैयाँ प्रतिकिलो थोक मूल्यमा गोलभेंडा बजार पठाएका थिए । यस वर्ष भाउ बढेर ९० देखि सय रुपैयाँ प्रतिकिलो पुगेको छ । तानसेन नगरपालिका–७ प्रवास नजिकै सामूहिक खेती गरेका ध्रुव भण्डारीले यस वर्ष भाउ अकासिएको देख्दा सबैले पछुतो मानिरहेको बताए । ‘भारतबाट तरकारी कम आयात हुनु र पहाडी भेगमा कम लगाएपछि भाउ ह्वात्तै बढ्यो,’ उनले भने, ‘यस्तो होला भन्ने जानेको भए धेरैले गोलभेंडा र तरकारी लगाउने थिए ।’


यस वर्ष भारतीय बजार र तराईमा पनि उत्पादन कम भएको छ । पहाडको उत्पादनले बजार थेग्न सकेको छैन । जिल्लामा पनि अघिल्लो वर्षमा दैनिक २५ टन बढी गोलभेंडा उत्पादन हुन्थ्यो । यस वर्ष दैनिक १० टन पनि उत्पादन छैन । सिमी, भान्टा, करेला, बोडी, भिन्डीलगायतका तरकारीको पनि यस वर्ष उत्पादन कम छ । जसले गर्दा बजारलाई थेग्न गाह्रो भएको छ ।


‘यस वर्ष अचम्मसँग तरकारीको भाउ आएको छ,’ उनले भने, ‘जसले गर्दा किसानलाई निकै फाइदा पुगेको छ ।’ अर्का कृषक इन्द्र पौडेलका अनुसार अघिल्लो वर्ष भाउ पाइएन । त्यसअघि असिनाले सत्यानाश पार्‍यो । यस वर्ष लगाउन डराउँदा भाउ निकै राम्रो पायो । बजारमा भाउ पाएर किसान खुसी छन् । उपभोक्ता भने किनेर खानै नसकिने भएको गुनासो गर्छन् ।


उपभोक्ता लक्ष्मी कार्कीका अनुसार बजारमा तरकारीको भाउ अकासिएको छ । भारतबाट कम तरकारी आयात हुनु र तराईमा उत्पादित तरकारी उतै खपत हुँदा पनि यस्तो समस्या भएको उनले बताइन् । पहाडमा यस सिजनमा तरकारी उत्पादन कम छ । हरियो तरकारी खपत बढेको छ ।


मूल्य अस्वाभाविक रूपमा बढेको उपभोक्ताको गुनासो छ । जिल्लाको ड्म्रुे, नयाँपाटी, २४ माइल, चर्चरेजस्ता थोक बजारमै तरकारी महँगोमा खरिद गरेर बुटवल लगेका छन् । किसानको बारीमै पुगेर तरकारी खरिद गर्ने गरेका छन् ।

प्रकाशित : श्रावण ५, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?