२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

पकेट क्षेत्रमै फलेन कागती

चन्द्र कार्की

तेह्रथुम — पाँचथरको कुम्मायक गाउँपालिका ५ स्याबरुम्बाका किसान लीलाराज थापाले गत वर्ष कागती बेचेर २ लाख ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गरे । अन्न फल्ने खेत मासेर कागती लगाएका थापा यो आम्दानीले खुसी थिए ।

३२ बोटबाट ७५ हजार दाना फलाएर बेचेपछि उनको एक वर्षको घरखर्च मज्जाले चलेको थियो । यो वर्ष भने उत्साहजनक अवस्था छैन । कागतीका बोटमा फल नलागेपछि उनी निराश छन् ।


गत वर्ष बोटले नथाम्ने गरी फलेको कागतीमा यो वर्ष दानै लागेन । ‘फूल त राम्रै फुलेको थियो,’ थापाले भने, ‘खै के कारणले हो फल भने अडिनै सकेन ।’ कागतीको बोटमा फल नलाग्नुको कारण उनलाई थाहा छैन । बोटमा दाना नै नभएपछि यो वर्ष औषधि, पानी र मिहिनेतको खर्च पनि नउठ्ने अवस्था आएको उनको दुखेसो छ ।


स्याबरुम्बाकै अर्का किसान टेकबहादुर चेम्जोङको अवस्था पनि थापाकै जस्तो छ । अन्न फल्ने खेतबारी मासेर रोपेका कागती बगानमा दाना लागेका छैनन् । गत वर्ष १ लाख ३० हजार रुपैयाँको कागती फलाएका चेम्जोङ यसपटक निराश छन् । आम्दानीको एक मात्र स्रोत कागती खेतीले यो वर्ष नोक्सान पुर्‍याएको उनले बताए । ‘फल लाग्नुपर्ने बोटमा ऐंजेरु पलाएको छ । फलचाहिँ लागेको छैन,’ उनले भने ।


बेमौसममा समेत कागती बेचेर खर्च जुटाउँदै आएका कुम्मायक गाउँपालिकाका किसान यो वर्ष परिवार चलाउनका लागि कसरी खर्च जुटाउने भन्ने चिन्तामा छन् । कागतीमा दाना नलाग्नुको असर आगामी दसैंतिहारजस्ता पर्वमा पर्ने उनीहरूको भनाइ छ । अघिल्ला वर्षमा दसैंअगावै कागती बेचेर खर्च जुटाउने किसान यो वर्ष चाडपर्वका लागि कसरी खर्च जुटाउने भन्ने तनावमा अहिले नै देखिन्छन् । कागतीका बोटमा फूल खेलेदेखि नै पर्याप्त मल, पानी, कीटनाशक विषादी र औषधिसमेत निरन्तर प्रयोग गर्दा पनि बोटमा फल नअडिएको चेम्जोङले बताए । ‘बोटमा फल नलाग्नुको कारण जान्नै सकिएन,’ उनले भने ।


सुक्खा क्षेत्र भएको कुम्मायक गाउँपालिकाका अधिकांश किसानले अन्नबाली मासेर कागती खेती गरेका थिए । अन्नबालीभन्दा आम्दानी राम्रो हुने भएकाले धेरै किसान कागती खेतीप्रति पछिल्लो समय आकर्षित भएको कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।


पर्याप्त कागती फल्दा पनि बजारको कुनै समस्या थिएन । यहाँ उत्पादन भएको कागती घरमै आएर व्यापारी लैजाने गर्थे । किसान आफैंले पनि तेह्रथुमको सदरमुकाम म्याङलुङ बजार, पाँचथरको यासोक, रानीगाउँ, फिदिम, राँके, इलाम, झापा हुँदै भारतीय बजारसम्म पुर्‍याउँथे ।


फूल फुल्ने र फल लाग्ने समयमा कृषकले कीटनाशक औषधीको प्रयोग राम्रोसँग गर्न नसक्दा अहिलेको अवस्था आएको कृषि प्राविधिक बताउँछन् । कृषि ज्ञान केन्द्रले कागती खेतीका लागि पकेट क्षेत्र घोषणा गरी किसानलाई प्रोत्साहित गरिरहेको भए पनि किसान भने यो वर्ष ठूलो नोक्सानी व्यहोर्न बाध्य छन् । स्याबरुम्बासँगै फिदिम नगरपालिकाको चोकमागु र सिवा, मिक्लाजुङ गाउँपालिकाको सराङडाँडा, लिम्बालगायत गाउँमा व्यावसायिक रूपमा कागती खेती हुँदै आएको छ । यी स्थानहरूमा पनि फल नलाग्ने समया देखिएको छ ।


यहाँका किसानले पछिल्लो समय मद्रासी, बनारसी र धनकुटे जातका कागती लगाएका थिए । लाम्चो र गोलो दुवै आकारका कागती लगाएका किसान लगानीसमेत नउठ्ने अवस्था आएको भन्दै पीडामा छन् ।

प्रकाशित : श्रावण ५, २०७६ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?