१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

अदुवाले मूल्य पाएपछि किसान दंग

प्रदीप मेन्याङ्बो

सुनसरी — विष्णुपादुकाका अदुवा कृषक पदम राईले २८ क्विन्टल बीउ अदुवा ५ लाख ४ हजार रुपैयाँमा बिक्री गरे । गत वर्ष यही सिजनमा करिब डेढ लाख रुपैयाँका बिक्री गरेका थिए । गत वर्षको साउनपछिको तुलनामा यहाँका कृषकले औसत चार गुणा बढी मूल्य पाएका छन् । 

अदुवाले मूल्य पाएपछि किसान दंग

गत वर्ष साउनअघिको मूल्य दाँज्ने हो भने २० गुणा बढी हो । अदुवा बजारमा यसपालि कृषकले सबैभन्दा बढी मूल्य पाएको राईले बताए । ‘यो सिजनमा बीउ अदुवा कृषि बजारमा प्रतिकिलो १८० रुपैयाँका दरले थोक व्यापारीलाई बिक्री गरे । गत वर्षको साउनमा भारतले अदुवा खुला गरेपछि पनि औसत न्यूनतम ५० देखि ८५ रुपैयाँमा बिक्री गरेको थिए,’ उनले भने । अदुवाको मूल्य अकासिँदै गएमा असोजदेखि तयार हुने नयाँ अदुवाबाट कृषक लाभान्वित हुने राईको भनाइ छ ।


कृषकहरूले थोक व्यापारीलाई बिक्री गर्छन् । उनीहरूले भारतीय व्यापारीलाई बेच्ने गरेका छन् । गत वर्षको साउन अगाडि कृषकहरू निकै खिन्न थिए । अदुवा खेतीको विकल्पका बारेमा सोचिरहेका थिए । तिनै अदुवा कृषक यसपटक प्रतिक्विन्टल २१ हजार रुपैयाँका दरले धमाधम अदुवा बिक्री गर्न पाउँदा दंग छन् । शनिबारको मूल्य प्रतिकिलोमा २ सय रुपैयाँदेखि २ सय १५ रुपैयाँसम्म पुगेको छ । अहिले अदुवाको बीउ निकाल्ने सिजन भएकाले राम्रो अदुवाको माग उच्च रहेको छ । मागअनुसार पूर्ति गर्न भने नसकिएको कृषकले बताए ।


आर्थिक वर्ष ०७३/७४ को यही सिजनमा प्रतिकिलो १० देखि २० रुपैयाँसम्म थियो । ०७०/७१ मा मूल्य प्रतिकिलो १ सय ६० रुपैयाँसम्म पुगेको थियो । त्यसपछिका वर्षमा अदुवा बिक्री नै नहुँदा कृषक निराश थिए ।


तेह्रथुम, भोजपुर, संखुवासभा, धनकुटा, पाँचथरका कृषकले उत्पादन गरेको अदुवा धरानमा संकलन गरिन्छ । धनकुटाको सहिदभूमि गाउँपालिका ६ मा अदुवा खेती गर्दै आएका नारायण श्रेष्ठले भने, ‘यसपालि अदुवाले उच्च मूल्य पाएको छ । गत वर्षहरूमा यस्तो मूल्य पाइएको थिएन ।’


धनकुटाको दक्षिणी भेगमा पर्ने छिन्ताङ आसपास करिब ३ सय परिवारले अदुवा खेती गर्दै आएका छन् । यो सिजनमा छिन्ताङका अरू कृषकहरूबाट पनि अदुवा खरिद गरी करिब ५ टन धरानको कृषि उपज बजारमा बिक्री गरिसकेको श्रेष्ठले बताए । ‘मूल्य अझै बढ्ने आशा गरेका छौं,’ उनले भने ।


कृषि उपज बजारको व्यवस्थापन सदस्यसमेत रहेका व्यापारी विनोद कुलुङ राई अदुवा उत्पादन गत वर्षभन्दा ५० प्रतिशत कम भएपछि भारतमा नेपाली अदुवाको माग उच्च भएको बताउँछन् । उनले भने, ‘कृषकले अदुवाको बजार मूल्य उच्च पाउँदा व्यापारीलाई भने लगानी जुटाउन गाह्रो भएको छ ।’


राम्रो अदुवाको उच्च माग रहे पनि पूर्ति गर्न भने नसकिएको अर्का व्यापारी सन्तोष ढकालले बताए । नेपाली अदुवा १० प्रतिशत स्वदेशमा खपत हुन्छ ।

प्रकाशित : श्रावण ५, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?