२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

तनहुँ मासु र दूधमा आत्मनिर्भर

सम्झना रसाइली

तनहुँ — पशुपालनतर्फ किसानको आकर्षण बढेसँगै तनहुँ मासु र दूधमा आत्मनिर्भर बनेको छ । जिल्लाबासीको बढ्दो आवश्यकतालाई मध्यनजर गरी किसानले मासु र दूधजन्य पदार्थको उत्पादन बढाएका छन् ।

जिल्लालाई मासुमा आत्मनिर्भर बनाउन विगतदेखि नै कृषकलाई विभिन्न कार्यक्रममार्फत प्रेरित गरिरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख डा. बालकुमार श्रेष्ठले बताए । जिल्लामा वार्षिक ४ हजार ५ सय २६ टन मासुको माग भएपनि ४ हजार ५ सय ५८ टन उत्पादन भैरहेको छ । यस्तै आर्थिक वर्ष ०७४/७५ मा ४ हजार ४ सय १७ टन मासु उत्पादन भएको थियो ।


जिल्लामा राँगा र भैंसीबाट २ हजार ९ सय ४९, खसी–बोकाबाट ९ सय ९६, भेडाबाट ४.५८, सुंगुर र बंगुरबाट ३ सय ३७, कुखुराबाट २ सय ६८ र हाँसबाट १.०८ टन मासु उत्पादन भएको छ ।


जिल्ला दुग्धजन्य पदार्थमा पनि आत्मनिर्भर बनेको छ । वार्षिक २९ हजार ४ सय १० टन दूधको माग रहेकामा ४९ हजार ५ सय ४३ टन उत्पादन भइरहेको छ । ‘जिल्लामा दैनिक रुपमा २० हजार २४ टन बढी दूध उत्पादन भइरहेको छ । जिल्लामा खपतभन्दा बढी उत्पादित दूधजन्य पदार्थ बाहिर पनि पठाइएको श्रेष्ठले बताए ।


वार्षिक रूपमा एक व्यक्तिलाई ९१ लिटर दूध आवश्यक पर्ने भए पनि १ सय ५२ लिटर दूध उपलब्ध भइरहेकाले बढी भएको दूधजन्य पदार्थ अन्य जिल्लामा पठाइएको हो । उत्पादित दूधमा भैंसीको योगदान बढी रहेको कार्यालयले जनाएको छ । जिल्लामा १ लाख ४० हजार २ सय ६ भैंसी, ९६ हजार ४ सय ४१ गाइ पालिएका छन । गाईभन्दा भैँसीपालन बढी भएकाले दूध उत्पादनमा भैँसीको योगदान बढिरहेको श्रेष्ठले बताए ।


आर्थिक वर्ष ०७४/७५ मा भन्दा ०७५/७६ मा दूध उत्पादनमा वृद्धि भएको कार्यालयको तथ्यांकमा देखाइएको छ । आर्थिक वर्ष ०७४/७५ मा जिल्लामा ४८ हजार ३ सय ३५ टन दूध उत्पादन भएको थियो । तनहुँमा १ सय ७२ गाई, ४९ भैंसी, २ सय ८६ बाख्रा, ९६ बंगुर र २ सय ३६ कुखुराको फार्म दर्ता भएर सञ्चालमा रहेका छन् ।

प्रकाशित : श्रावण ५, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?