कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

टुक्रे बजेटले योजना अलपत्र

प्रकाश बराल

बागलुङ — क्रमागत योजनामा बजेट नआएपछि म्याग्दीको ज्यामरुक अर्जम खानेपानी योजनाका अध्यक्ष जितबहादुर थापा बागलुङ धाउन थालेको दुई वर्ष भयो । पटकपटक डिभिजन खानेपानी आयोजनामा आएर फर्कने काम मात्र भएको उनले गुनासो गरे ।

‘ठूलो आयोजना छ, बजेट कुनै वर्ष थोरै पर्छ, कुनै वर्ष कत्ति पनि पर्दैन,’ थापाले भने, ‘थोरै बजेटले काम गर्दा पुराना संरचना भत्कने र अलपत्र पर्ने खतरा भयो ।’


२०७१ देखि सुरु ३ करोडको योजनामा यसअघिका वर्ष २० लाखदेखि ३३ लाख रुपैयाँसम्म विनियोजन हुने गरेको थियो । चालु वर्ष एक रुपैयाँ पनि बजेट नपरेको उनले बताए । सानो र अनियमित रूपमा आउने बजेटले निर्माणाधीन संरचना अलपत्र परिरहेको छ । अहिलेसम्म ५० हजार घनमिटरको ट्यांकी बनाएकामा १३ लाख, २० हजार घनमिटरको ट्यांकीको ६ लाख र १० हजार घनमिटरको २ लाख ५३ हजार रुपैयाँ पाएको उनले बताए । बजेट पर्याप्त छैन । त्यसबाहेक पाइपलाइन बिच्छ्याएको र अन्य संरचना बनाएको भुक्तानी पनि पाएका छैनन् ।


पर्याप्त बजेट नआएपछि बागलुङका २ ठूला अयोजना २० वर्षदेखि अलपत्र छन् । अरू ६३ खानेपानी आयोजना दशकदेखि निर्माणाधीनको रूपमा छन् । रायडाँडा र बुर्तीबाङ खानेपानी आयोजना २० वर्षदेखि अलपत्र परेका हुन् । राष्ट्रिय योजना आयोगबाट स्वीकृत भएर आएका योजनामै बजेट अपुग भएपछि स्थानीयले सास्ती खेपेका छन् ।


खानेपानीकै समस्याले यहाँका धेरै उपभोक्ता बसाइँ सरिसकेका छन् । ‘पछिल्लो २ वर्ष रामतोलाका १५ घर बसाइँ सरेको तथ्यांक छ,’ बागलुङ नगरपालिका–११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले भने, ‘भौगोलिक कठिनाइ र खानेपानी अभाव बसाइँसराइको मुख्य कारण हो ।’


आयोजना निर्माणको थालनी हुँदा १ करोड ८० लाख रुपैयाँ लागतको रायडाँडा खानेपानी आयोजनाको लागत ३ करोड पुगिसकेको छ । ‘उतिबेला बजेट आएर बनाउन पाएको भए धेरैले राहत पाउने थिए, अहिलेसम्म पूरा भएर हस्तान्तरण गर्न पाइएको छैन,’ डिभिजन खानेपानी कार्यालयका प्रमुख प्रेमप्रसाद डोटेलले भने, ‘कनिका छरेजस्तो बजेटले आयोजना अलपत्र परेका छन् ।’ म्याग्दीदेखि आएका उपभोक्तालाई आश्वासन दिएर फर्काएको उनले बताए ।


बुर्तीबाङ बजारका लागि खानेपानी पुर्‍याउन २०५६ सालमा निर्माण सुरु आयोजना पनि अलपत्रै छ । लामो दूरी र ठूलो आयोजनामा बर्सेनि २त्त्४ लाख मात्र आउने गरेकाले काम अलपत्र परेको स्थानीयले बताए । खानेपानीको अभाव भएपछि रिजर्भ ट्यांकी बनाएर खानेपानीको जोहो गराएको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बताए ।

प्रकाशित : श्रावण ५, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?