कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसै वर्ष १२ सय मेगावाट

माथिल्लो तामाकोसी, माथिल्लो त्रिशूलीको दोस्रो युनिट र कुलेखानी तेस्रो प्राधिकरणको लगानीका आयोजना पूरा हुने अपेक्षा

काठमाडौँ — यो आर्थिक वर्षमा करिब १२ सय मेगावाट विद्युत् उत्पादन हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता गरेको निजी क्षेत्रका तीन दर्जन आयोजनाले यही आर्थिक वर्षभित्र विद्युत् उत्पादन गर्नुपर्ने हुन्छ । प्राधिकरणले विद्युत् खरिद सम्झौता गरेको कुल ६६० मेगावाट जडित क्षमता भएका ३७ वटा निजी आयोजनाले यो वर्ष विद्युत् उत्पादन गर्नुपर्ने हुन्छ ।

यसै वर्ष १२ सय मेगावाट

साथै यो आर्थिक वर्ष माथिल्लो तामाकोसी, माथिल्लो त्रिशूलीको दोस्रो युनिट र कुलेखानी तेस्रोजस्ता प्राधिकरणको लगानीमा निर्मित आयोजना पनि पूरा हुने अपेक्षा छ । प्राधिकरणसँग भएको खरिद बिक्री सम्झौताअनुसार निजी आयोजनाले उत्पादन थाले र प्राधिकरणले निर्माण गरेको माथिल्लो तामाकोसीजस्ता आयोजनाको काम पूरा भए यो आर्थिक वर्षमा करिब १२ सय मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिन सक्छ ।


सरकारले यो गत आर्थिक वर्ष दुई सय मेगावाटभन्दा बढी विद्युत् उत्पादनको लक्ष्य लिए पनि ७८ मेगावाट विद्युत् मात्रै राष्ट्रिय प्रणालीमा जोडियो । गत आर्थिक वर्षमा उत्पादन पूरा गर्ने भनिएका एक दर्जन आयोजनाले उत्पादन सुरु गर्न सकेनन् ।

गत आर्थिक वर्ष २२ मेगावाटको वागमती खोला साना आयोजना, ८.८ मेगावाटको रुदीखोला ‘ए’, ७.८ मेगावाटको सुपर माई आयोजना, पिखुवाखोलाले ५ मेगावाटजस्ता ८ वटा निजी आयोजनाबाट उत्पादित विद्युत् गत आर्थिक वर्षमा राष्ट्रिय ग्रिडमा जोडिएका हुन् । विष्णुप्रिया सोलार आयोजनाबाट ०.९६ मेगावाट विद्युत् पनि राष्ट्रिय प्रणालीमा जोडिएको थियो ।


यो आर्थिक वर्षमा ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित ४० मेगावाटको खानीखोला–१, ४२ मेगावाटको मिस्ट्री खोला, ८२ मेगावाटको तल्लो सोलु, ३८ मेगावाटको अपर बलेफी ‘ए’ जस्ता ठूला आयोजनाको निर्माण पूरा हुने लक्ष्य छ ।


६० मेगावाटको माथिल्लो त्रिशूली ‘थ्री ए’ विद्युत् आयोजनाको पहिलो युनिटबाट ३० मेगावाट विद्युत् उत्पादन भए पनि समयमै काम सुरु हुन नसक्दा अर्को युनिट पूरा हुन सकेको छैन । गत आर्थिक वर्षमै उत्पादन थाल्ने अपेक्षा गरिएको १४ मेगावाटको अर्को आयोजना कुलेखानी तेस्रो पनि पूरा हुन सकेन ।


गत आर्थिक वर्षमै विद्युत् उत्पादन गर्ने भनिएको २० मेगावाटको तल्लो मोदी खोला, २२ मेगावाटको माथिल्लो चाकु ‘ए’, २५ मेगावाटको काबेली ‘बी–१’, तल्लो हेवा खोलाजस्ता आयोजनाले पनि विद्युत् उत्पादन गर्न सकेनन् ।


यी आयोजना पनि यही वर्ष पूरा हुने अपेक्षा छ । चैत पहिलो साता आफ्नो एकवर्षे कार्यकालको समीक्षा गर्न आयोजित पत्रकार सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०७५/७६ मा २० वटा आयोजना पूरा भई २८७ मेगावाट विद्युत् उत्पादन हुने बताएका थिए ।


ऊर्जा मन्त्रालयले आर्थिक वर्ष २०६६/७७ मा २३ वटा आयोजना पूरा भई ९८२ मेगावाट विद्युत् थपिने अनुमान गरेको थियो । मन्त्रालयले प्रक्षेपण गरेको तथ्यांकमा माथिल्लो माथिल्लो त्रिशूली ‘थ्री ए’, कुलेखानी तेस्रोजस्ता आयोजना गत आर्थिक वर्षमै पूरा हुने भनिएकाले यो आर्थिक वर्ष उत्पादन अनुमानमा समेटिएका छैनन् ।


नेपाल विद्युत् प्राधिकरणले हाल ८० बढी आयोजनासँग ५६० मेगावाट विद्युत् खरिद गरिरहेको छ । प्राधिकरणको आफ्नै आयोजनाबाट ५ सय मेगावाट बढी विद्युत् उत्पादन हुन्छ ।


विद्युत् विकास विभागको तथ्यांकअनुसार एक मेगावाटभन्दा माथिका कुल १ हजार ७७ मेगावाट जडित क्षमता भएका ७७ वटा आयोजनाले अहिले सञ्चालनमा छन् । यस्तै ११ मेगावाटभन्दा बढी जडित क्षमता भएका १५ आयोजना सञ्चालनमा छन् ।


ऊर्जा मन्त्रालयले गत वर्ष आगामी १० वर्षलाई ऊर्जा दशक घोषणा गर्दै १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । ऊर्जा मन्त्रालयले गत वैशाख २५ गते जारी गरेको श्वेतपत्रमा ३ वर्षमा ३ हजार मेगावाट, ५ वर्षमा ५ हजार मेगावाट र १० वर्षमा १५ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य राखिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूले भने उत्पादित ऊर्जाको बजार सुनिश्चित नभई ठूला आयोजनाले उत्पादन गर्न नसक्ने बताउँदै आएका छन् ।

प्रकाशित : श्रावण ५, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?