नामलाङ जलविद्युत् आयोजना : प्राथमिकतामा पर्‍यो, बजेट पाएन

राजबहादुर शाही

मुगु — मुगुमकार्मारोङ गाउँपालिकास्थित डोल्फू क्षेत्रमा पर्ने नामलाङखोला जलविद्युत् आयोजना सरकारी प्राथमिकतामा परे पनि बजेट विनियोजन नहुँदा लामो समयदेखि ओझेलमा छ । गत वर्ष माघ महिनामा संघीय सरकारको मन्त्रिपरिषद् बैठकले २ सय ६० मेगावाट क्षमताको नामलाङखोला जलविद्युत् आयोजनालाई प्राथमिकीकरण गरेको थियो । 

आयोजनामा लगानी गर्न सरकारले गत वर्षको लगानी सम्मेलनमा दाताहरूलाई प्रस्ताव गरेको थियो । कसैले पनि आयोजनामा लगानी गर्ने इच्छा देखाएनन् । बजेट अभावमा अझैसम्म आयोजनाको डीपीआर बन्न सकेको छैन । डोल्फू गाउँदेखि १० किलोमिटर टाढाको खोलामा विद्युत् आयोजना निर्माण गर्ने निर्णय सरकारले गरेको थियो ।


सरकारले प्राथमिकता दिए पनि बजेट नदिँदा जलविद्युत् आयोजनाको कुनै पनि काम सुरु हुन नसकेको मुगुमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । ‘सरकारको निर्णयबाट सुरुमा खुसी बनेका स्थानीय अहिले निराश छन्,’ उनले भने, ‘यस वर्षको बजेटमा पनि आयोजनाबारे सम्बोधन भएन, अब आयोजनाको काम सुरु हुँदैन कि भन्ने शंका लाग्यो ।’ उनले डीपीआरको काम मात्र भए पनि छिटो गर्न जरुरी रहेको जनाए ।


डीपीआरको काम गरेर दातृ निकायसँग आग्रह गरे आयोजनामा काम गर्न दाताहरू इच्छुक हुने उनको दाबी छ । वडा नं. १ का अध्यक्ष सोनामआङी लामाले सरकारले लगानी सम्मेलनमा समेत प्राथमिकता दिएको आयोजनामा बजेटको व्यवस्था नगर्नु दुर्भाग्यपूर्ण भएको बताए ।


कर्णाली प्रदेशको विकासका लागि पनि नामलाङ जलविद्युत् आयोजना महत्त्वपूर्ण रहेको उनी बताउँछन् । उनका अनुसार जलस्रोतको धनी मानिएको मुगुमकार्मारोङ गाउँपालिका अहिलेसम्म विद्युत् सुविधाबाट वञ्चित छ ।


सरकारले बाह्य लगानी खोजेर भए पनि जलविद्युत् आयोजनाको कार्य अघि बढाउन जरुरी रहेको जिल्ला समन्वय समिति प्रमुख पूर्णबहादुर रोकायाले बताए । आर्थिक वर्ष ०६७/६८ मा भारतको लान्को इनर्जी कम्पनीले २ वर्षसम्म नामलाङखोलामा ३ सय ३ मेघावाट विद्युत् उत्पादनको सम्भाव्यतासहित अध्ययन गरेको थियो । कम्पनीले त्यसका लागि माटो र ढुंगा परीक्षण गरे पनि बीचैमा छाडेको स्थानीयको भनाइ छ । मुगुमकार्मारोङ गाउँपालिकामा ठूला र साना गरी करिब ६० खोलामा विद्युत् उत्पादनको पर्याप्त सम्भावना रहेको जिसस प्रमुख रोकायाले बताए ।


अहिलेसम्म मुगु गाउँको च्याछहराबाट १५ किलोवाट क्षमताको विद्युत् मात्र उत्पादन गरिएको छ । उक्त योजनाबाट करिब डेढ सय परिवारमा विद्युत् सेवा पुगेको छ ।


महगाउँको च्याम्नेगार्ड खोलाबाट ३५ किलोवाट विद्युत् उत्पादन गर्ने गरी पावरहाउसको काम भए पनि विद्युत्लाइन विस्तार हुन सकेको छैन । उक्त योजनाको पावर हाउसमा मात्र बत्ती बाल्ने काम भएको स्थानीयले जनाएका छन् । मुगमार्मारोङ गाउँपालिकाका १ हजार २ सय घरधुरी अझै अध्याँरोमा छन् ।

प्रकाशित : श्रावण ६, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?