किसानको पीडा – 'बालीको लागत उठ्दैन’

अवधेशकुमार झा

राजविराज — धान उत्पादनको लागतभन्दा अनाजको बजार भाउ कम हुँदा सप्तरीका किसान पिरोलिएका छन् । एक कठ्ठा जग्गामा जोताइदेखि बाली पाकेर घर भित्र्याउँदासम्मको कुल खर्च झन्डै ५ हजार २ सय ५० रुपैयाँसम्म पुग्छ ।

आकाशे–पानीले समयमै खेत सिञ्चित गर्न सकिएमा एक कठ्ठामा चार मन धान उब्जनी हुने गरेको छ । धानको मूल्य ३ हजार २ सय तथा परालको ५ सय गरी आम्दानी भने ३ हजार ७ सय रुपैयाँसम्म हुने गरेको छ ।


एक कठ्ठा खेतमा रोपाइँदेखि बाली घर भित्र्याउँदासम्म लगानीको अनुपातमा १ हजार ५ सय ५० रुपैयाँ घाटा हुने स्थिति सिर्जना भएको कृषकको गुनासो छ । ‘यो अवस्थामा कसरी गर्न सक्नु खेती ?’ तिलाठी कोइलाडी–८ तोपाका कृषक सत्यनारायण यादवले भने, ‘सीधा हिसाब गर्दा त साढे १५ सय घाटा छ, त्यसमाथि समयमा पानी नपरे घाटा थप बढ्न सक्छ ।’ पछिल्लो समय धानखेती महँगो हुँदै गएकाले कृषक निराश छन् ।


तोपाकै अर्का कृषक शम्भुलाल यादवले भने, ‘खेत बाँझै छोड्न पनि मिलेन, धान रोपाइँ गर्दा घाटाको सौदाजस्तै भएको छ ।’ धान खेती महँगो हुन थालेपछि अहिले कृषकहरू मजदुरलाई खेत बटाईमा दिन थालेका छन् । ‘कहाँबाट खेती गर्न सक्नु,’ अर्का कृषक फलेन्द्रकुमार झाले भने, ‘वर्षभरि खेतको आलीमा जानैपर्‍यो, आम्दानीभन्दा बढी लगानी हुन्छ, दैवी प्रकोपका घटना भएमा एक छिनमै खेती स्वाहा भएर जान्छ ।’


मजदुर र मलखादको सधैं अभाव

धान रोपाइँको सिजनमा सधैंजसो मजदुरको अभाव हुने गरेको छ । ग्रामीण क्षेत्रमा मजदुरी गर्ने पुरुषहरू वैदेशिक रोजगारीमा गएपछि अभाव बढेको छ । राजविराज नगरपालिका–११ झलहीका कृषक देवजी यादवले पछिल्ला दुई दिनदेखि स्कारपियो गाडी भाडामा लिएर १२ किलोमिटर टाढा हनुमाननगरबाट रोपाइँ मजदुर ल्याउनुपरेको बताए । ‘के गर्ने ? गाउँमा मजदुर छैनन्, थप सुविधा दिएर अन्यत्रबाट ल्याउनुपर्ने पीडा छ,’ उनले भने ।


महिला मजदुरकै भरमा अहिले रोपाइँ भइरहेको कृषक सत्यनारायण यादवले बताए । ‘रोपाइँ गर्ने मजदुर सीमित छन्, बिस्तारै घट्दै गएका छन् । पानी परेका बेला सबैलाई रोपाइँको चटारो हुन्छ,’ उनले भने, ‘रोपाइँका लागि खेत तयार गरिसक्दा पनि मजदुरकै अभावमा काम प्रभावित हुँदै आएको छ ।’


रोपाइँ चलिरहेका बेला सप्तरी जिल्लामा डीएपी मलको समेत अभाव छ । बजारमा सरकारी सुविधाको मलखाद अभाव भएपछि कृषकहरू भारतीय बजारबाट चोरी तस्करी गरिएको मल प्रयोग गर्न बाध्य भएको बताउँछन् । कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख भागीरथ यादवले सप्तरीमा अहिले डीएपी मलको अभाव रहेको स्विकारे ।


घट्दै खेतीयोग्य जमिन

धानखेतीका लागि वातावरणसमेत प्रतिकूल बन्दै गएको कृषकहरूले बताए । ‘कुनै बेला हप्ता दिनसम्म पानी परेर बाढी आउँछ । खेत नष्ट हुन्छ । कुनै बेला पानी नपरेर चर्को खडेरी पर्छ धान खेतमा धाँजा फाट्छन्,’ कृषक सत्यनारायणले भने, ‘धान रोपाइँका लागि वातावरण पनि प्रतिकूल बन्दै गएको छ ।’ अहिले भने चर्को घामले रोपाइँ प्रभावित भएको छ ।


साताअघि निरन्तरको वर्षा र बाढीका कारण सप्तरी जिल्लामा ३ हजार २ सय हेक्टर जग्गामा लगाइएको धानबाली नष्ट भएको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख यादवले बताए । जिल्लामा अहिलेसम्म ३५ प्रतिशत मात्र रोपाइँ भएको छ । कुल ७० हजार हेक्टर जग्गा धानखेती हुन्छ । केही वर्षअघिसम्म जिल्लाको ८२ हजार हेक्टर जग्गामा धान खेती हुँदै आएको थियो ।

प्रकाशित : श्रावण ७, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?