कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

खेताला पाउन हम्मे

मधु शाही

बाँके — दिनभर किसान खेतमा व्यस्त देखिन्छन् । कोही बीउ काढिरहेका । कोही जोत्न र रोप्नमा । यसरी काम गर्नेमा युवा पुस्ता भने विरलै भेटिन्छन् । खेतला नपाउँदा किसानलाई काम निम्ट्याउनै हम्मेहम्मे भएको छ । चलनचल्तीको भन्दा बढी पारिश्रमिक दिँदासमेत खेतला नपाएको किसानको गुनासो छ ।

खेताला पाउन हम्मे

युवा वैदेशिक रोजगारमा जाने क्रम बढेको छ । घरमा काम गर्ने बूढाबूढी मात्र छन् । यहाँ भएका युवाको खेतीमा रुचि छैन । खेत बाँझै छाड्नुभन्दा खेताला लगाएर रोप्ने चाहना धेरैको छ । खेती गर्ने मजदुर पाउन भने मुस्किल छ । नेपालगन्ज उपमहानगरपालिका–२० की कौसा यादवले शनिबार धान रोप्न मुस्किलले सातजना खेतला फेला पारिन् । यसका लागि उनले कोहलपुरसम्म पुगेको बताइन् ।

घरमा बुहारी छ । मधेसी समुदायमा बुहारीले खेतमा काम गर्नु राम्रो मानिँदैन । पुरुषहरू भारतमा मजुदरी गर्न जान्छन् । ‘काम गर्ने मान्छे पाउनै गाह्रो छ,’ उनले भनिन्, ‘बारी बाँझै छाड्न भएन ।’ जानकी गाउँपालिका–७ कि आरती बर्माको एक बिघा खेत छ । उमेरले ६५ टेकेकी उनी आफैं खेतमा धाउँछिन् । बिहान ६ बजे धानको बीउ काढ्न सुरु गरेकी उनी साँझसम्म त्यहीँ थिइन् । ‘एक्लै आधा काम सक्नुपर्छ’, उनले भनिन्, ‘पैसा दिन्छु भन्दा पनि काममा आउने मान्छे छैनन् ।’


उनका घरमा तीन जना बुहारी छन् । छोराहरू विदेशमा । खेतमा खासै काम गर्ने चासो नदेखाएपछि उनी बाध्य भएर एक्लै कस्सिएकी हुन् । बुहारीले घरमा खाना पकाएर दिनुपर्छ, बाहिर आउनु हुँदैन भन्ने संस्कारका कारण आरती चाहेर पनि खेतको काममा लगाउन सक्दिनन् । अलि उमेर पुगेका पाका महिलाले भने खेतमा काम गर्छन् । ‘तरुनी बुहारी खेतमा जाँदैनन्,’ उनले भनिन्, ‘छोराहरूले पनि मन पराउँदैनन् । त्यसैले खेतमा काम गर्ने बूढाबूढी नै हो ।’


जानकी गाउँपालिका–५ का विश्वराज बर्माका ७ भाइ–छोरा छन् । उनीहरू घरमा सँगै हुँदा ८ कठ्ठा खेतमा धान रोप्न बाहिरको मान्छे बोलाउनै पर्थेन । ७० वर्षीय बर्मा अहिले एक्लै छन् । दुई छोरीको बिहे भइसक्यो । छोरा भारतमा व्यापार गर्छन् । खेताला लगाउनू भनेर पैसा पठाउँछन् । ‘गाउँमा काम गर्ने मान्छे भने पाइँदैन,’ उनले भने, ‘दिनको ५ सय रुपैयाँ ज्यालामा १ सय बढी थपेर दिन्छु भनेपछि मुस्किलले ५ जना पाएँ ।’


धेरै मिहिनेत गरेर फेला पारेका कामदारलाई उनले देवतासरह भएको बताए । उनका अनुसार अहिलेको समय खेतमा काम गर्ने मान्छे पाउनु भगवान्जस्तै हो । पहाडबाट तराई झरेका महिलाले धान रोप्ने गरेको बर्माले बताए । सल्यान घर भएकी पूर्ण रोकायाका अनुसार उनी साउनभरि कोहलपुर भएका आफन्तको घरमा बस्छिन् ।


आफन्तको खेतमा रोपाइँ गर्न आएकी उनले त्यही मौकामा खेताला जाने बताइन् । दुई महिनामा उनले खेत रोपेरै २० हजार रुपैयाँ कमाइ गरेको सुनाइन् । सहरमा काम गर्ने मान्छे छैनन् । त्यसैले उनी तराईमा मजदुरी गर्न आउने गरेको बताउँछिन् । यस्तै नेपालगन्ज नयाँ बजारकी अनिता खड्कालाई दैनिक ५ देखि ७ जनाले धान रोप्न बोलाउँछन् । एक दिनमा दुई ठाउँसम्म खेताला जान भ्याउने उनले बताइन् । ‘घरमा यत्तिकै बस्नुभन्दा रोपाइँ गरेर रमाइलो गर्दै आम्दानी हुन्छ,’ उनले सुनाइन् ।


प्रदेश सरकारले कृषि यान्त्रीकरण गर्नका लागि ठूलै रकम बजेट छुट्याए पनि त्यसको अभ्यास व्यापक हुन नसकेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए । प्रारम्भिक चरण भएकाले किसानले यान्त्रिक खेतीबारे बुझ्न समय लाग्ने उनले सुनाए । उनका अनुसार खेतमा काम गर्ने जनशक्तिकै अभावका कारण खेत बाँझो देखिने गरेका छन् ।


यसै वर्ष मेसिनले रोप्ने यान्त्रिक प्रविधि दुई ठाउँमा दिएको उनले बताए । त्यसको प्रयोगबारे कृषकलाई बुझाउन अझै समय लाग्छ । ‘हामीले यान्त्रिक प्रविधिमा जोड दिएका छौं, अर्को वर्ष पक्कै किसानलाई मेसिनबाट खेती गर्ने बानी बस्छ,’ उनले भने, ‘यसले छिटोछरितो र सस्तो खेती हुन्छ ।’

प्रकाशित : श्रावण ७, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?