कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

हुलाक बैंकको ६० लाख निक्षेप हिनामिना

भीमबहादुर सिंह

जाजरकोट — जिल्ला हुलाक कार्यालयले सञ्चालन गरेको हुलाक बचत बैंक १ करोड ३० लाख रुपैयाँ घाटामा रहेको खुलेको छ । हुलाक बैंकका कर्मचारीले करिव ८ वर्षअघि हिनामिना गरेको ६० लाख रुपैयाँ असुली नभएपछि बैंक निष्क्रिय बनेको छ । निक्षेप घोटाला, निष्क्रिय निक्षेपलगायत कारण बैंक घाटामा गएको हो । 

विगतमा निक्षेपकर्ताको ६ करोड दायित्व बोकेको बैंक अहिले ५ करोड रुपैयाँमा झरेको छ । त्यो पनि ३ करोड रुपैयाँ निष्क्रिय निक्षेपका रुपमा रहेको छ । ६० लाख रुपैयाँ तत्कालीन कर्मचारीका नाममा बक्यौता छ । आनन्द बोहरा, राजेन्द्र अर्याल, सर्मिला थापा, कालिका नेपालीलगायत आधा दर्जन कर्मचारीले रकम हिनामिना गरेको हुलाक स्रोतले जनाएको छ ।


बोहराले ५७ लाख २३ हजार, थापाले २ लाख, नेपालीले १ लाख २० हजार र अर्यालले ७० हजार निक्षेप हिनामिना गरेको आरोप लागेको छ । सबैभन्दा बढी निक्षेप घोटाला गर्ने बोहराको ६/७ वर्षअघि मृत्यु भइसकेको छ । घरका ब्यक्तिका नाममा निजी सम्पत्ती नहुँदा रकम अशुल गर्न समस्या भएको निमित्त कार्यालय प्रमुख शेरबहादुर भण्डारीले बताए ।


कर्मचारीले हिनामिना गरेको केही रकम भने अशुल भएको निमित्त प्रमुख भण्डारीले जनाए । निक्षेप रकम हीनामिना गर्ने कर्मचारी हुलाक विभागबाट सरुवा भएर अन्य कार्यालयमा गइसकेको उनको भनाइ छ ।


बैंकको डेढ करोड बढी रकम निक्षेपकर्ताको ब्याजमा मात्र खर्च भएको छ । बैंकले निक्षेपकर्ता दैनिक भुक्तानी कारोबारीका लागि २ करोड रुपैयाँ सिटिजन्स बैंक र १ करोड केन्द्रीय धनादेश कार्यालयमा राखेको कार्यालयले जनाएको छ ।


यस्तै जाजरकोट हुलाक कार्यालयमा कार्यरत कर्मचारीलाई १८ लाख ऋण लगानी गरिएको छ । ६ वर्षअघिसम्म ३ हजार निक्षेपकर्ता भएको उक्त बैंकमा अहिले २ हजार मात्र छन् । बैंक लथालिंग अवस्थामा पुगेपछि निक्षेपकर्ता घटेका हुन् । बैंकको आम्दानी शून्य हुँदा निक्षेपकर्तालाई वार्षिक २० लाख बढी ब्याज तिर्न समस्या भइरहेको छ ।


विगतमा निक्षेपकर्तालाई ५ प्रतिशत ब्याज दिने बैंकले पछिल्लो समय ७ प्रतिशत दिने गरेको छ । बैंकले लगानीका क्षेत्र फराकिलो पार्न नसक्दा घाटा भएको निमित्त प्रमुख भण्डारीले जनाए । ‘बैंकले आफ्नै कार्यालयका स्थायी कर्मचारी र ‘क’ बर्गका बैकलाई लगानी क्षेत्र तोक्दा समस्या भएको हो । कर्मचारीले १० प्रतिशत र बैंकले साढे सात प्रतिशत बार्षिक ब्याज तिर्ने गरी ऋण लिन पाउँछन् । हुलाक सेवा विभाग केन्द्रिय कार्यालयको निर्णय विना अन्य क्षेत्रमा लगानी गर्न मिल्दैन ।


स्थायी कर्मचारीले पाँच वर्षका लागि १ लाख ऋण लिन पाउने ब्यबस्था छ । बैंक १६ वर्षअघि स्थापना भएको थियो । बैंकमा ब्यक्तिगत, संयुक्त र नाबालक खाता खोल्ने ब्यवस्था छ । न्यून जनशक्ति, दक्ष तथा तालिम प्राप्त कर्मचारी नहुनु, छिटो सरुवा, अतिरिक्त सुविधा नहुनु, कमजोर भौतिक ब्यबस्थापनलगायत कारण बैकको कारोबार सञ्चालन गर्न समस्या भएको छ । १० वर्षअघिसम्म निक्षेप बचत बढी हुनेमा जाजरकोट मध्यपश्चिम क्षेत्रकै दोस्रो थियो ।


हुलाकले हरायो अदालतको मिसिल

हुलाकका कर्मचारीको लापरवाहीले जिल्ला अदालत जाजरकोटको सक्कल मिसिल हराएको छ । अदालतले ६ महिनाअघि जिल्ला हुलाक कार्यालय जाजरकोटमार्फत पठाएको मिसिल हालसम्म उच्च अदालत सुर्खेत नपुगेको हो ।


मिसिल समयमा नपुग्दा मुद्धाका पक्षलाई मर्का परेको अदालतका स्रेस्तेदार अधिकृत देवीराम भण्डारीले बताए । गत माघ १७ गते पठाएको जबरजस्तीकरणी उद्योग मुद्दाका २ मिसिल र गत फागुन १५ गते पठाएको निषेधाज्ञाको मिसिल हुलाक कार्यालयको लापरवाहीले समयमै सम्बन्धित निकायमा नपुगेको उनले बताए । यातायातको सुविधा भएको अवस्थामा पनि ६/७ महिनासम्म चिठीपत्र सम्बन्धित निकायमा नपुग्नु हुलाक कर्मचारीको गैरजिम्मेवारी भएको उनको भनाइ छ ।

प्रकाशित : श्रावण ८, २०७६ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?