कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

बजार खोज्दै ओखलढुंगाको गोलभेंडा 

भारतबाट आयातित तरकारीमा विषादी हुने गरेको समाचारले पनि सहरबाट गाउँघरमा उत्पादित तरकारीको माग बढ्यो
कुम्भराज राई

ओखलढुंगा — सिद्धिचरण नगरपालिका १० रुप्सेकी जिरकुमारी मगर सातामा सय किलो गोलभेंडा उत्पादन गर्छिन् । दुई साताअघिसम्म ओखलढुंगा बजारमा प्रतिकिलो १५ रुपैयाँमा पनि गोलभेंडा बिक्री भएन ।

बजार खोज्दै ओखलढुंगाको गोलभेंडा 

उनले घर लगेर वस्तुभाउलाई कुँडो दिनुपर्‍यो । अहिले भने उनको आशा पलाएको छ । बजारमा प्रतिकिलो ३५ रुपैयाँमा गोलभेंडा बिक्री हुन थाल्यो । सोलुखुम्बु र उदयपुरको कटारी हुँदै इटहरी र विराटनगरबाट गोलभेडाको माग आएको छ ।


‘हप्तामा रुप्से गाउँबाट १ हजार ५ सय किलो गोलभेंडा बिक्री गरिरहेका छौं,’ जिरकुमारीले भनिन्, ‘अलिकति बजार भाउ उकालो लागेको छ । नत्र हाम्रो परिश्रम पनि नउठ्ने अवस्था थियो ।’ किसानले आफैं बजारसम्म ढुवानी गरेर बिक्री गर्न ल्याएको गोलभेंडा बिचौलियाले किनेर अरू व्यापारीलाई बेच्ने गर्छन् ।


बिचौलियाका कारण उपभोक्ता महँगो मूल्य तिरेर व्यापारीबाट गोलभेंडा किन्न बाध्य छन् । बिचौलियाकै कारण किसान र उपभोक्ता दुवै मारमा छन् । त्यस्ता बिचौलियाबिना गोलभेंडा बेच्न गाह्रो हुने भएकाले किसान बाध्य भएर उनीहरूमार्फत गोलभेंडा बेच्ने गर्छन् ।

यसलाई नियमन र व्यवस्थित गर्न सरकारी निकायले हालसम्म पहल गरेको छैन ।


प्लास्टिक टनेलमा गोलभेंडा उत्पादनका लागि सिद्धिचरण नगरपालिकाको बिगुटार, रुप्से, ज्यामिरे, कुन्तादेवीलगायत स्थानहरू प्रख्यात छन् । रुप्सेको कालिका कृषक समूहले मात्र अहिले तरकारी र गोलभेंडाका लागि भनेर ८३ वटा टनेल बनाएको छ । परम्परागत कृषि प्रणालीलाई विस्थापित गर्दै किसानहरू तरकारी खेतीमा लागेका हुन् ।


‘रुप्सेका मगरहरूले यसअघि भारी बोकेरै दुई–चार पैसा जोहो गर्नुपर्ने बाध्यता थियो,’ स्थानीय अगुवा कुम्भबहादुर मगरले भने, ‘अहिले गाउँमै व्यापारी तरकारी लिन आइपुग्छन् । मकै कोदोसँग दाँज्ने हो भने कैयौं गुना नाफा छ ।’ सबैभन्दा थोरै तरकारी बेच्ने कृषकको वार्षिक आम्दानी १ लाख रुपैयाँ हाराहारी भएको उनले बताए ।


‘पहिले हामी एक मुठा साग किन्न पनि त्यही ओखलढुंगा बजारमै पुग्नुपर्थ्यो,’ कालिका कृषक समूहकी अध्यक्ष जिरकुमारीले भनिन्, ‘अहिले हप्तामा दुईपटक त हाम्रै गाउँबाट गाडीमा तरकारी लगेर सदरमुकाममा बेच्ने गर्छौं ।’ रुप्सेमा गोलभेंडासँगै काँक्रा, अकबरे खुर्सानी, काउली, बन्दाजस्ता तरकारी उत्पादन भइरहेको छ ।


भारतबाट आयातित तरकारीमा विषादी हुने गरेको समाचारले पनि सहरबाट गाउँघरमा उत्पादित तरकारीको माग बढेको हो । यहाँ उत्पादित गोलभेंडा र तरकारीमा विषादी हुन्न, अर्गानिक भएकै कारण एक्कासि कटारी, इटहरीदेखि विराटनगरसम्म माग आएको किसानहरूको भनाइ छ ।

प्रकाशित : श्रावण ११, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?