कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

६ करोडमा फार्म

घनश्याम खड्का

म्याग्दी — हरियाली समूह प्रालिले ६ करोडभन्दा बढीको लगानीमा व्यावसायिक कृषि फार्म सुरु गरेको छ । बेनी नगरपालिका–४ सिँगामा १६० रोपनी जग्गा भाडामा लिएर समूहले तरकारी, कुखुरा, माछा र मौरीपालन व्यवसाय सुरु गरेको हो । उक्त समूहले पुष्पखेतीको तयारी पनि थालेको छ । 

उन्नत बोयर जातका बाख्रा र वन्यपन्छी कालिज पाल्नका लागि खोर निर्माणमा लागेको उक्त समूहले मृग पाल्न कानुनी प्रक्रियामा लागेको जनाएको छ ।


‘जिल्लामा कृषि क्षेत्रमा गरिएको यो ठूलो व्यावसायिक लगानी हो । पूर्वाधार थप्दै र विस्तार गर्दै लैजाने योजनामा छौं । अर्गानिक कृषि व्यवसायबाट रिसोर्टदेखि कृषिमै लगानी बढाउनेछौं,’ समूहका निर्देशक शेरबहादुर केसीले भने, ‘समूहमा आबद्ध नभएका कृषकलाई अर्गानिक तरकारी, मासुजन्य उत्पादन तथा फलफूल खेतीमा उत्प्रेरित गर्न अनुदान दिने र उत्पादित वस्तु खरिद गर्ने योजना पनि छ ।’ १९ जना मिलेर स्थापना गरेको हरियाली समूहमा अहिले १ लाखदेखि १० लाख रुपैयाँसम्म लगानी गर्ने ५० सेयर सदस्य छन् ।


हरियाली अर्गानिक कृषि फार्मले पछिल्लो एक महिनादेखि उत्पादन बजार पुर्‍याउन थालेको छ । एक महिनामा १० लाख मूल्यका टमाटर, घिरौंला, लौका, भिन्डी, खुर्सानी, करेला, काँक्रासमेतका तरकारी, २२ लाखको मासु, २ क्विन्टल माछा, २ लाख मूल्यको खर्बुजा निकासी गरेको छ ।


मासु फ्रिजजडित गाडीबाट मुस्ताङका होटलमा पठाइएको छ । फार्ममा ४० जनाले न्यूनतम १५ देखि ४० हजारसम्म पारिश्रमिक पाउने गरी प्रत्यक्ष रोजगारी पाएका छन् । ‘कृषि उत्पादनबाट उत्साही छौं । कार्यरत सबै ४० जना स्थानीय छौं,’ प्रबन्धक इन्चार्ज भगवान् खड्काले भने, ‘माछा थप्ने र आगामी तीन महिनापछि दैनिक १५ हजार अण्डा टिप्न छुट्टै घण्टा सिस्टममा कामदार थप्ने योजनामा छौं ।’


समूहले अहिले एउटा हाइटेकसहित १२ ठूला टनेलमा गोलभेंडा र तरकारी खेती गरेको छ । तीन सय क्विन्टल तरुलका बेर्ना रोपिएका छन् । १५ हजार लेयर्स, २५ हजार बोइलर कुखुरा छन् । थप १५ हजार कुखुराको चल्ला थप्ने तयारी छ । २७ हजार माछा छन् । डेढ लाख माछाका भुरा नर्सरी पोखरीमा हुर्कदैछन ।

प्रकाशित : श्रावण १२, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?